काठमाडौं । बाँकेको नेपालगन्जमा शुक्रबार देवी विसर्जनको क्रममा भएको हिन्दु र मुस्लिमबिचको झडप शान्त बनेको छ । देवी विसर्जनका क्रममा शुक्रबार समेत दुई समूहबिच सामान्य झडप भएको थियो ।
असोज १७ गते शुक्रबार हिन्दुहरूको महान् पर्व बडा दसैँको अन्तिम दिन देवी विसर्जनको समय चलिरहेको बेला नेपालगन्जका २ स्थानमा हिन्दु र मुस्लिम समुदायका केही युवाहरूबिच झडप भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार केही उपद्रव मानसिकताका व्यक्तिहरूले गर्दा उक्त झडप भएको थियो । सम्भावित झडपलाई मध्यनजर गर्दै यस पटक व्यापक मात्रामा प्रहरी परिचालन गरिएको भए पनि त्यहाँका दुई स्थानमा सामान्य झडप हुँदा केही प्रहरी र आम नागरिक पनि सामान्य घाइते भएका थिए ।
देवी विसर्जनको क्रममा बाँकेको नेपालगन्ज क्षेत्रमा प्रत्येक वर्ष दुई समुदायबिच झडप हुने गरेको छ । सोही सम्भावित झडपलाई मध्यनजर गर्दै यस पटक व्यापक प्रहरी परिचालन गरी सुरक्षा सतर्कता अपनाइएकाले कुनै पनि गम्भीर प्रकृतिको क्षति नभएको एसपी जिसीले लोकपथलाई बताए ।
एसपी जिसीका अनुसार उपद्रवी मानसिकताका व्यक्तिहरूले यही समयमा दंगा एवं ठुलो भौतिक क्षति पुर्याउने अवसरका रूपमा समेत परिणत गर्न चाहने गरेको सूचना पाएपछि प्रहरी सचेत बनेको थियो । तर यस वर्ष विगतका वर्षहरूमा भन्दा बढी प्रहरी परिचालन गरी तत्कालै प्रहरीले रेस्पोन्स गरेको हुँदा कुनै पनि गम्भीर दुर्घटना हुन नपाएको जिसीले बताए ।
एसपी जिसीले यही बेलामा सामाजिक सञ्जालहरूसहित विभिन्न माध्यमबाट दुई समुदायबिचको विवादका सम्बन्धमा भ्रम सिर्जना गर्न सक्ने भन्दै त्यस्ता भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।
देवी विसर्जनका क्रममा सामान्य झडप भए पनि जिल्लामा कुनै पनि किसिमको भौतिक एवं मानवीय क्षति नभएको र जिल्लाको अवस्था सामान्य रहेको जिसीले बताए । साथै यदि कुनै उपद्रव गर्न सक्ने जानकारी आएको भए तत्कालै आफ्नो सम्पर्क नम्बर ९८५८०५५५५५ मा वा कुनै पनि प्रहरी कर्मचारी वा कार्यालयमा समयमै जानकारी गराइदिन समेत अनुरोध गरेका छन् ।
यसैबिच शनिबार बिहानैदेखि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सर्वपक्षीय छलफलमा सामाजिक सद्भाव कायम राख्ने सम्बन्धमा सहमति जुटेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार बिहानैदेखि भएको छलफलमा सबै राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, प्रहरी प्रशासन र हिन्दु तथा मुस्लिम धर्मका अगुवाहरूको सहभागिता थियो ।
छलफलमा शुक्रबार उपद्रव निम्त्याउने व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई कानुनी कारबाही गर्ने र त्यसका लागि दुवै धर्मका अगुवाहरूले सहयोग गर्नेसमेत सहमति भएको प्रमुख जिल्ला अधिकारी जोशीले लोकपथलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया