वाणिज्यदुतहरुलाई नेपाल र विश्व अर्थतन्त्रबिचको पुलको रूपमा उपयोग गर्नुपर्छ : चन्द्र ढकाल

लोकपथ
63
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कुटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कुृटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौंको चन्द्रागिरीमा भएको नेपालको ‘निर्यात व्यापारः अवस्था, चुनौति र सम्भावना’ विषयक अन्तरक्रिया कार्यशालामा बोल्दै महासंघ अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले नेपालले आफ्नो आर्थिक कुटनीतिलाई बढाउँदै विकास र सम्मृद्धिमा फड्को मार्न विश्वका महत्वपूर्ण ६४ देशका अवैतनिक वाणिज्यदुतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष ढकाल अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) का डिन समेत रहेका छन् ।

ढकालकाअनुसार वाणिज्यदूतहरु व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिल्यै सक्रिय रहेका छन् र उनीहरूले सरकारको खर्च बिना आफ्नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवर्द्धन गरिरहेका छन् । उनले वाणिज्यदुतहरुलाई नेपाल र विश्व अर्थतन्त्रबिचको पुलको रूपमा उपयोग गर्न सकिने उल्लेख गरे ।

परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कुटनीति विभागको स्वागत गर्दै ढकालले यसले सरकार, अनररी कन्सुलर कप्र्स नेपाल, निजी क्षेत्र र कुटनीतिक निकायबिच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । निजी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनको ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग चाहिएको नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?