काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकयता पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।
आइतबार आयोजित ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पूर्वन्यायाधीशको संयोजकत्वमा निष्पक्ष आयोग गठन गरी २०४६ सालपछिका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् । उनले यस्तो प्रस्ताव पार्टीको औपचारिक बैठकबाट पारित गराउनुपर्ने धारणा राखे ।
‘२०४६ सालको आन्दोलनपछि कांग्रेस सत्तामा आएको हो । त्यसयता वडादेखि केन्द्रसम्म जिम्मेवारी सम्हालेका हाम्रा नेताहरुको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाऔं,’ थापाले भने, ‘जसले जे गुमाए पनि हामी आँट गर्नुपर्छ । जेन–जी पुस्ताले हाम्रो कुरा तभ मात्र सुन्छ ।’
भ्रष्टाचार र अनियमितताविरुद्ध स्पष्ट मापदण्ड नबनाएसम्म नयाँ पुस्ताको भरोसा जित्न नसकिने उनको भनाइ थियो । उनले निष्पक्ष र कुनै दलप्रति पूर्वाग्रही नभएका व्यक्तिलाई आयोगको नेतृत्व दिनुपर्ने बताए ।
‘जोकोहीको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट गरौँ,’ उनले भने, ‘नयाँ पुस्ताले भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति आशा राखेको छ ।’
थापाले विगतमा देशका लागि लडेकै आधारमा अहिले नेताहरुले परिवारका लागि कमाउने प्रवृत्तिप्रति असहमति जनाए । नयाँ पुस्ताले यस्ता अभ्यासलाई अस्वीकार गरिरहेको पनि उनको टिप्पणी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया