तनहुँ । तनहुँको देवघाटमा युवक हत्या गरी फरार रहेका लोक बहादुर महत (जोगी) पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले चितवनको देवघाटस्थित वृद्धाश्रमबाट पक्राउ गरेको हो।
गत असार ५ गते बिहान करिब ५ बजे तनहुँको देवघाट गाउँपालिका–५, बद्रिमुक्ती टोलमा ३२ वर्षीय प्रकाश पौडेलको मादक पदार्थ सेवन गरेका समूहले कुटपिट गरी हत्या गरेका थिए। घटनापछि अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न बुद्ध सारु मगर (२८), पाल्पाको तानसेन नगरपालिका–८ नयाँपाटी निवासी, र राम लामा (४२), मकवानपुर हेटौडा उपमहानगरपालिका–३ हटिया निवासीलाई घटनाको दिन नै पक्राउ गरेको थियो।
तर घटनामा संलग्न महोत्तरी बर्दिवास नगरपालिका–१ निवासी ४६ वर्षीय लोक बहादुर महत भने वारदातपछि फरार थिए।
प्रहरी चौकी देवघाटबाट प्रहरी निरीक्षक उदयराज पौडेलको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले चितवन भरतपुर महानगरपालिका–१ मा रहेको रोटरी क्लब चितवनद्वारा सञ्चालित वृद्धाश्रममा लुकेर बसेको अवस्थामा उनलाई असार ७ गते बिहान पक्राउ गरेको हो।
हाल उनलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीमार्फत थप अनुसन्धान अघि बढाइएको छ। साथै, तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया