सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान सडक विस्तारको क्रममा उत्पन्न विवादले झडपको रूप लिँदा प्रहरीसहित १० जना घाइते भएका छन् ।
सडक विस्तारका विषयमा दुई पक्षबिच विवाद भएपछि ढुंगा हानाहान सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै एक राउन्ड गोलीसमेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए ।
घटनामा प्रहरी निरीक्षक दिवाकर गणेशको दाहिने हात र प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी, स्थानीय ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ३५ वर्षीय सञ्जय कुशवाह, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीय इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाह र ३५ वर्षीय उमेश महतो घाइते भएका छन् ।
घाइतेमध्ये टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने अन्यको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।
झडपमा संलग्न रहेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया