इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा र उद्धारबारे परराष्ट्रमन्त्रीले गरिन् छलफल

लोकपथ
126
Shares

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले द्वन्द्वग्रस्त इरान र इजरायलमा रहेका नेपाली नागरिकमध्ये एक जना पनि स्वदेश फर्किन चाहे सरकारले उद्धार गरेर नेपाल ल्याउने बताएकी छन् ।

शुक्रबार सिंहदरबारमा बसेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र, गृह तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयबिचको छलफलपछि मन्त्री राणाले यस्तो जानकारी दिइन् ।

‘हामीले इजरायल–इरानको युद्ध सुरु भएको दिनदेखि नै परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ,’ मन्त्री राणाले भनिन्, ‘फर्किन चाहने नेपालीलाई सरकारले सुरक्षित रूपमा ल्याउने तयारी गरिरहेको छ ।’

उनका अनुसार सरकारले इरान र इजरायलमा रहेका नेपालीको विवरण संकलन गर्न पोर्टल सञ्चालनमा ल्याएको छ, जसमा अहिलेसम्म ६०३ जना नेपालीले विवरण भरेका छन् । तीमध्ये २० जनाले फर्किन चाहेको उल्लेख गरेका छन् ।

‘इजरायलमा २ हजारभन्दा बढी नेपाली रहेको पाइएको छ । जो अवैधानिक रूपमा जानुभएका छन्, उनीहरूलाई पनि आइतबारबाट सञ्चालनमा आउने एपमार्फत रजिस्ट्रेशन गर्न आग्रह गर्छौँ,’ मन्त्री राणाले भनिन्, ‘सरकारसँग हरेक नागरिकलाई उद्धार गरेर ल्याउने क्षमता छ ।’

छलफलमा उद्धार कार्यका लागि चार्टर फ्लाइटको समेत सम्भावना र तयारीबारे समेत छलफल भएको जानकारी दिँदै उनले भनिन्, ‘जोर्डनको काउन्सिलर विभागसँग पनि समन्वयमा छौँ, त्यहाँबाट निस्कने अनुमति पाएपछि फ्लाइटको व्यवस्था मिलाउन सकिन्छ ।’

सरकारले भारतको परराष्ट्र मन्त्रालयलाई समेत पत्र लेखेर भारतीय उद्धार फ्लाइटमार्फत नेपाली नागरिक ल्याउन सहयोग गरिदिन अनुरोध गर्ने तयारी गरेको छ ।

इजरायल र इरानबाहेक साइप्रस र जोर्डनबाट फर्किन चाहने नेपालीका लागि पनि समन्वय भइरहेको मन्त्री राणाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?