बजेटबारे सत्तापक्षकै सांसदको गुनासो : ‘शीर्ष नेता र मन्त्रीहरुले आफ्नै क्षेत्रमा बजेट खन्याए’

लोकपथ
231
Shares
फाइल तस्बिर

काठमाडौं । जेठ १५ गते यता प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ ।

विनियोजन शीर्षकमाथि मन्त्रालयगत रुपमा संसदमा छलफल भइरहँदा अधिकांश सांसदहरुले आफ्नो क्षेत्रमा बजेट नपरेको गुनासो गरेका छन् । त्यसमा सत्तापक्षकै सांसदहरुको बढी असन्तुष्टि देखिएको छ । सांसदहरुले आगामी आर्थिक वर्षको बजेट आफ्नो निर्वाचन क्षेत्रमा नपरेको भन्दै आपत्ति जनाएका छन् । साथै सत्तारुढ दलका शीर्ष नेता र मन्त्रीहरुको जिल्ला र क्षेत्रमा बढी बजेट गएको उनीहरुको गुनासो छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भाग लिँदै सत्ताढ दल नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थलको निर्माणका लागि एक करोड बजेट विनियोनजन गरिएकामा असहमति जनाए । उनले सरकारले तीन करोडभन्दा कमको बजेट विनियोजन नगर्ने भन्ने व्यवस्था गर्ने भनेर प्रचार गरिएको भएपनि विमानस्थलको जग्गा अधिग्रहणका लागि आवश्यकभन्दा कम बजेट विनियोजन गरेर सांसदहरुको भावनालाई सम्बोधन गर्न नसकेको बताए ।

त्यस्तै सत्तारुढ दल नेकपा एमालेकी सांसद मेनकाकुमारी पोखरेलले टरिगाउँ विमानस्थल निर्माणका सम्बन्धमा प्रधानमन्त्रीले नै प्रतिबद्धता र विश्वास दिलाएको भएपनि न्यून बजेट विनियोजन भएको भन्दै असन्तुष्टि जनाइन् ।

लोसपाका सांसद रामप्रकाश चौधरीले मधेस प्रदेशप्रति संघीय सरकारले यथार्थमा आधारित भएर बजेट विनियोजन गर्न नसकेको बताए । सर्लाहीको भौतिक पूर्वाधारका लागि चालु आवको बजेटमा समेत काम नभएको र आगामी आवमा समेत बजेट विनियोजन हुन नसकेको गुनासो गरे ।

यता सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले समेत प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको गृहजिल्ला रहेको झापामा धेरै बजेट खन्याइएको भन्दै आपत्ति जनाए ।

उनले झापाको एकै निर्वाचन क्षेत्रमा १२ वटा आयोजनाहरु पारिएको भन्दै कटाक्ष गरे । सबै ३–३ करोडका योजनाहरुका लागि बजेट छुट्टयाइएको भन्दै उनले भने, ‘झापाको क्षेत्र नं ५ मा १२ वटा योजना ३–३ करोडका राखिएका रहेछन् । कस्तो दानी मन्त्रीज्यू क्षेत्र पनि छान्न जान्ने ! अब चुनाव चिह्न कतातिर खोजेको हो मैले थाहा पाइन । यस्तो दानी, दान गर्ने उदार मन्त्री धेरै कम होलान मैले उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

उनले आफ्नो गृहजिल्ला ओखलढुंगामा विमानस्थल रहेको र पर्यटनमन्त्रीलाई त्यसबारे बजेट व्यवस्थापनका लागि खबर गरेको तर बजेटमा कतै योजना नपरेको भन्दै कटाक्ष गरे ।

‘मैले ओखलढुंगा पनि हेरेँ, मलाई फोन आएको थियो, कहाँ राखिदिउँ योजना छन् भने तपाईँको शुभचिन्तक नै हो भनेँ, उहाँले फोन राख्नुभयो हुन्छ भनेँ । बजेट पुस्तिका पल्टाइपल्टाइ यता हेर्छु, उता हेर्छु कहीँ देख्दिन,’ उनले भने ।

त्यस्तै स्वतन्त्र सांसद सांसद प्रभु साहले सरकारले सञ्चालन गरेको उद्योग व्यवसाय र घाटामा रहँदा निजी व्यवसायी र उद्योेगीसँग कर लिन मिल्छ कि मिल्दैन भनेर प्रश्न गरे । सङ्घीय राजधानी जोड्ने राजमार्गहरु बन्दप्राय रहेको र नागरिक समस्यामा रहेको उल्लेख गर्दै उनले सत्ताधारी दलका नेताहरुको जिल्लामा मात्रै विनियोजन गरिएको र सडक निर्माण गरिएको बताए ।

त्यस्तै कांग्रेस सांसद रामकृष्ण यादवले मन्त्री र ठूला नेताहरुको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेर भेदभाव गरिएकामा सहमति जनाए । सांसद ईश्वरबहादुर रिजालले पर्यटन क्षेत्रको अपार सम्भावना रहेको दोलखामा आशातित बजेट विनियोजन हुन नसकेको बताए ।

यता विपक्षी दल माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले विनियोजन जनपक्षीय र यर्थाथपरक नभएको टिप्पणी गरे । उनले सहकारी नियमनका लागि स्थानीय सरकारको सहभागितामा प्रभावकारी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।

यता विपक्षी दल एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बजेट जनपक्षीय र मुलुकको बृहत्तर हितका लागि नभएको धारणा राखे ।

विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिएको अधिकांश सांसदहरुले बजेटबारे असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?