सरकार र प्रतिपक्षबिच न्युनतम बुझाइको जरुरी : कानूनमन्त्री चौरसिया

लोकपथ
77
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार र प्रतिपक्षबीच न्युनतम बुझाइको जरुरी रहेको बताएका छन् । 

शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अनावश्यक भ्रम फैल्याउनुले राजावादीहरूका लागि सहयोगी बनेको आरोप लगाए।  

उनले सरकारले व्यापार प्रवर्द्धन, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि अध्यादेश ल्याउँदा विरोध भएको बताए । राम्रा कुराहरूको विरोध गरेर अहिलेको प्रणाली अघि बढाउन नसकिने उनको भनाइ छ ।  

मन्त्री चौरसियाले भने, ‘अहिले व्यापार प्रवर्द्धनका लागि, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि, सात दिनभित्र कुनै पनि फाइल कुनै पनि सरकारी जुनसुकै पदाधिकारीको टेबुलमा सात दिन बढी नरहोस् भन्ने र राजश्वको मुद्दा लागेका कतिपय व्यक्तिहरू शतप्रतिशत धरौटी राख्नुपर्ने व्यवस्थाको कारण अपिल गर्न पाइरहेका थिएनन्, थुनामा थिए । भाग्न बाध्य थिए । त्यस्ता राम्रा राम्रा कानुनहरू संशोधन अध्यादेशमार्फत गर्दा कति विरोध भयो ? यो सिस्टम हामी यस्तै काम गर्दै गयौँ भने बलियो हुन्छ ? हामी सबैको दायित्व होइन, सिस्टम बचाउने ?, सिस्टम बलियो गर्ने ? एउटा मिनिमम अण्डरस्ट्याडिङ त सरकार र प्रतिपक्षको बिचमा हुनुपर्छ नि । बोल्ने बेलामा जथाभाबी बोल्ने, अनि राजावादीहरूले यो सब खत्तम भयो । केही पनि विकास निर्माण भएन, आज गाउँ गाउँमा पुल बनेको छ । प्राकृतिक प्रकोपका कारणले जति क्षति हाम्रो देशभित्र भइरहेको छ, सायद दुनियाँको कुनै देशमा भएको छैन । हाम्रो भौगोलिक बनावट नै यस्तो छ । त्यस कारण हामी सबै सचेत भएर बोल्नुपर्छ ।’

मन्त्री चौरसियाले लोकतन्त्रको विरुद्धमा उठ्ने आवाजलाई सबै मिलेर आफ्नो तहबाट जवाफ दिनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?