कोभिडकालमा बुद्ध एयर : पहिले कर्मचारीको चुलो बल्यो, त्यसपछि अरु चल्यो

लोकपथ
602
Shares

काठमाडौं । कोरोना महामारी (कोभिड–१९) मानव इतिहासका लागि बिर्सन नसक्ने क्षणका रुपमा विश्व इतिहासमा दर्ज भएको छ ।

कोरोना महामारीले विश्व अर्थतन्त्रलाई डामाडोल पार्‍यो नै, मानव जीवनलाई समेत नराम्ररी धक्का दियो । विश्व अर्थतन्त्र डामाडोल बन्दा नेपाल झन मारमा पर्यो । विस्तारै उठ्न थालेका व्यवसायीक क्षेत्र झनझन धरासायी बने । कोरोनाले मुख्य असर गरेको क्षेत्र बन्यो हवाई क्षेत्र ।

कोरोनाले असर नपरेको क्षेत्र कुनै बाँकी रहेनन् । हरेक क्षेत्रले समस्या भोग्दा त्यससँग सम्बन्धितहरुको आ–आफ्नो दुःख र आ–आफ्नै उल्झनहरु हुने नै भए । साथै त्यसले सिकाएको पाठ हरेकको फरकफरक छ ।

‘…त्यो ६ महिनाको अवधिमा हामीले जे सिक्यौँ र जसरी आफ्नो अस्तित्व जोगायौँ, व्यवसायका लागि त्यो सधैँ काम लाग्न सक्छ । सुरुमा केही दिनमै खुल्ला भनेर हामी खासै तयारी अवस्थामा थिएनौँ । तर बिरामी र मृतकको संख्या बढ्दै गएपछि अनि लकडाउन लम्बिँदै जाँदा कम्पनी सुरु गरेदेखि कहिल्यै नबेहोरेको संकट सामना गर्नुपर्यो ।’ (पृष्ठ १४०)

बुद्ध एयरका कार्यकारी अध्यक्ष बीरेन्द्र बहादुर बस्नेतले कोभिड, लकडाउन र त्यसले व्यवसायमा पारेको असरको पोयो यसरी फुकाएका छन् ।

आफ्नो पहिलो पुस्तक ‘बुद्ध एयर : बाई द बुक’ को एक कुनामा बस्नेतले यतिमात्रै भनेका छैनन्, त्यसले सिकाएको पाठलाई समेत सविस्तार बयान गरेका छन् ।

यात्रुहरुलाई गन्तव्यमा लिएर उडिरहेका प्रत्येक जहाजको उडानमा बीरेन्द्रका सपना जोडिएका छन् । कठिन अवस्थाबाट उठाएको व्यवसाय, पारिवारिक मनमुटाव र बजारको प्रतिष्पर्धा समेतबाट उठेको व्यवसाय कोरोनाले उठ्न नदिने अवस्थामा पुर्याउँदा लिएका निर्णयले आज पुनः बुद्ध एयर तङ्ग्रिएको बीरेन्द्रको दाबी छ ।

लकडाउनपछि एकातिर व्यवसाय अडाउने चिन्ता, त अर्कोतिर दिनरात संस्था अडाउन मेरुदण्डको काम गरेका कर्मचारीहरुको चुलो बाल्नुपर्ने दुवै चुनौती थपियो । १५ सय कर्मचारीलाई दैनिक तलब सुविधा मात्र नभइ व्यवसायिक किस्ता समेत समेतले उकुसमुकुस बनाएको बस्नेत सम्झिन्छन् ।

लकडाउन सुरु भएको केही दिनपछि बस्नेतले आफ्नै घरमा कम्पनीको विभिन्न विभागीय प्रमुखहरुलाई बोलाएर छलफल गरे । धेरैले संस्था बाच्नुपर्छ भन्दै कर्मचारीको तलबै रोकेर भए पनि संस्थालाई बचाउनुपर्ने सुझाव दिए ।

…कतिपय विभागीय प्रमुखले संस्था बच्नुपर्छ त्यसैले तलबै नलिएर भए पनि आफूहरु काम गर्न तयार रहेको ढाडस दिए । केहीले शून्य आम्दानी भएकाले कर्मचारीको तलबै रोकौँ भन्ने सुझाव दिए । तर मैले उनीहरुलाई स्पष्ट भनेँ, “हाम्रा सबै कर्मचारीको ज्यान जोगिनुपर्‍यो, सबैको घरमा चुलो बल्नुपर्‍यो । त्यसका लागि के गर्न सकिन्छ गरौँ ।’’ हामीले व्यापक छलफल गर्‍यौँ र कम्तीमा कर्मचारीहरुलाई जीविका चलाउन पुग्ने तलबको हिस्सा दिने निर्णय गर्‍यौँ । कर्मचारीलाई आवश्यक सहयोग उपलब्ध गराउने र अर्थ व्यवस्थापन गर्ने तयारी गर्‍यौँ । त्यसले कम्तीमा कम्पनीले विपदका बेला हामीलाई हेर्छ भन्ने कर्मचारीलाई पर्न गयो,’ बस्नेतले आफ्नो पुस्तकमा भनेका छन् । (पृष्ठ १४०)

कोरोना कालमा कर्मचारी पहिलो प्राथमिकतामा पर्नुको कारण भूकम्पले सिकाएको पाठ थियो । जतिबेला कर्मचारीहरुको आधारभुत आवश्यक्तामा कम्पनीले चासो नदिँदा समस्या उत्पन्न भएको थियो । तर आपतका बेला कम्पनीले देखाएको सदासयताले आफूहरुलाई अहिलेसम्म कर्मचारीबाट सहयोग भइरहेको बस्नेतको दाबी छ ।

हरेक विपत्तिले आपत त निम्त्याउँछ नै, साथसाथै त्यसले हरेकलाई असहजतासँग जुध्नका लागि समेत बाटो देखाइदिन्छ । बुद्धले पनि भूकम्पपछि आपतविपद पर्दा आफ्ना कर्मचारीको सहज उद्धारका लागि खाद्यन्न र आवश्यक वस्तुको जोहो गर्ने गरेको छ ।

बस्नेतले कम्पनीको सफलता र असफलतामा समेत कर्मचारीहरुले देखाएको आफ्नोपनको भने धेरै ठाउँमा मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले बुद्ध एयरमा मात्र नभएर आफूले इटहरीको डाँडीहाटमा कृषिफार्ममा सञ्चालन गर्दा होस् कर्मचारीहरुको तलब र सेवासुविधामा आफू उदार रहेको उल्लेख गरेका छन् ।

त्यसैबेलाबाट ह्याङ्गरमा कुल १५ सय कर्मचारीको परिवारलाई कम्तीमा ३ महिना पुग्नेगरी खाद्यन्नको व्यवस्थापन गरिएको छ ।

कोभिड लकडाउन सुरु हुँदा हामीसँग तीन महिनाका लागि खाद्यन्न मौज्दात थियो । त्यसले कुनै कर्मचारीलाई आपत परिहाल्यो भने खाद्यान्नको चिन्ता लिनुपर्दैन भनेर ढाडस दिन मद्दत गर्‍यो । कर्मचारीलाई नै पहिलो प्राथमिकतामा राखेर हामीले काम गर्‍यौँ । मलाई सधैँ लाग्छ, कर्मचारी भनेका कम्पनीका मेरुदण्ड हुन् । कर्मचारी बिना कम्पनी माथि उठ्न सक्दैनन् । थेगिन र दौडिन सक्ने त कुरै भएन,’ उनले आफ्नो पुस्तकमा भनेका छन्, ‘हामीले कोभिड भैहाल्यो भने कर्मचारीलाई सहज होस् भनेर बिमा गरायौँ । कोभिड महामारीमा हाम्रा एक सय ८० जना कर्मचारीलाई संक्रमण भयो । तर समयमै बिमा गराएकाले धेरै सहज बनायो ।’ (पृष्ठ १४१)

ऋण खोजेर कर्मचारीलाई ४२ करोड तलब

हवाई उडान बन्द हुँदा सबै कर्मचारी बिदामा नै थिए । तर खर्च भने कायमै थियो । कम्पनी शून्य आम्दानीमा चलिरहेका बेला भएका बेला लकडाउनले प्रभावित बनाउने नै भयो । व्यवसाय ठप्प भयो र बाहिरबाट पैसा नआएपछि बैंकको किस्ता र व्याज मात्र होइन कर्मचारी तलब र अन्य दैनिक मर्मतका कामहरु गर्नुपर्ने थियो नै ।

किस्ता र व्याज तिर्ने बेला आएकाले पैसाको बीरेन्द्रमाथि पैसाको संकट देखियो । त्यसको जोहो कसरी गर्ने भन्ने दुविधाकैबिच रिफाइनान्सिङ गरेर ऋण लिने आइडिया फुरेर त्यसैबाट कर्मचारीको तलब र किस्ता तिर्न सहज भएको बीरेन्द्रले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

रिफाइनान्सिङमा हामीले ५४ करोड रुपैयाँ ऋण लियौँ । त्यसले गर्दा हामीलाई किस्ता तिर्न पैसा छैन भन्ने डर पनि भएन । कर्मचारीलाई पनि निश्चित प्रतिशत तलब दिने निर्णयअनुसार तलब खुवाउँदै गयौँ । कोभिडको कुल ६ महिना सेवा बन्द हुँदा त्यस अवधिमा हामीले आम्दानी शून्य गर्‍यौँ गर्‍यौँ, ५४ करोड रुपैयाँ कर्जा पनि थप्यौँ । तर त्यसै अवधिमा हामीले करिब ४२ करोड रुपैयाँ कर्मचारीको तलबमै खर्च गरेछौँ । त्यो भनेको पैसा भन्दा पनि हाम्रो कम्प्यासनको विषय हो,’ बस्नेतले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । (पृष्ठ १४२ र १४३)

बस्नेतले कम्पनीको सफलता र असफलतामा समेत कर्मचारीहरुले देखाएको आफ्नोपनको भने धेरै ठाउँमा मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले बुद्ध एयरमा मात्र नभएर आफूले इटहरीको डाँडीहाटमा कृषिफार्ममा सञ्चालन गर्दा होस् कर्मचारीहरुको तलब र सेवासुविधामा आफू उदार रहेको उल्लेख गरेका छन् । डाँगीहाटमा दैनिक पुरुषका लागि ८ र महिलाका लागि ६ रुपैयाँ ज्याला रहेको अवस्थामा आफूले २–२ रुपैयाँ ज्याला बढाइदिएर श्रमको सम्मान गरेको उल्लेख गरेका छन् ।

त्यो डाँगीहाटको कृषिफार्मदेखि बुद्ध एयरको कमाण्ड सम्हाल्दा सम्मका अनेक प्रशंगमा उनले कर्मचारीहरुसँगको सम्बन्ध सविस्तार बयान गरेका छन् ।

कोभिडकालमा आफूले कर्मचारीहरुलाई दिएको सुविधाबारे स्मरण गर्दै उनले लेखेका छन्, ‘कर्मचारीले पनि साहुको कम्पनी त हो नि, हामीलाई के फरक पर्छ भन्ने कहिल्यै सोचेका छैनन् । उनीहरुले यस कम्पनीप्रति देखाएको अपनत्वले गर्दा नै हामी यहाँ उभिन सकेका हौँ । जब कुनै कम्पनीका कारिन्दाले कम्पनीलाई बिरानो ठान्दैनन् भने कम्पनी सञ्चालकले झन् कर्मचारीलाई बिरानो ठान्नु पनि भएन । कोभिडका बेला पनि कम्पनी र कर्मचारीबिचको सम्बन्ध कायम रह्यो । मेरो बिचारमा बुद्ध एयर र कर्मचारीबिचको बण्डिङ कोभिडकालमा थप बलियो भयो । कर्मचारीले कम्पनीप्रति र कम्पनीले कर्मचारीप्रति देखाएको कम्प्यासनकै कारण त्यो सम्भव भएको हो । त्यसैले कोभिडले सिकाएको एउटा सबैभन्दा ठूलो व्यवसायिक कला भनेको कम्प्यासन हो ।’ (पृष्ठ १४३ )

नेपालको मात्र नभएर विश्वकै हवाइ सेवामा कोभिडको असर नकारात्मक रुपमा पछिसम्म रह्यो । कोभिडले व्यवसाय चौपट बन्दा धेरैको रोजगारी समेत गुम्दा थप संकट सिर्जना भएको थियो । तर बुद्ध एयरले भने कोभिडपछि कुनै एक कर्मचारीलाई पनि कामवीहिन नबनाएको दाबी गरेको छ । सुरुमा नै कर्मचारीहरुलाई चुलो बाल्न गरिएको निर्णयले पछिसम्म काम गरेको बीरेन्द्रको दाबी छ ।

…व्यवसाय लयमा फर्कँदै गर्दा पनि कोभिडको असर निकै लामो समयसम्म कायम रह्यो । त्यसले सबै खालका व्यवसायलाई एकाध वर्ष नराम्ररी हिर्कायो । विश्वभरी नै कोभिडका कारण देखापरेको मन्दीले अर्थतन्त्रमा निकै शिथिलता आएको थियो । कैयौँ कम्पनीमा कर्मचारी कटौती गर्नुपर्ने खबर पनि आएका थिए,’ बीरेन्द्रले पुस्तकमा स्मरण गरेका छन्, ‘हामीले कोभिडको ठूलो संकट भोग्दा एक जना पनि कर्मचारीलाई हटाउनुपर्ने अवस्था आएन । त्यसका लागि हामीले सुरुमै गरेको निर्णयले भूमिका खेलेका थिए ।’ (पृष्ठ १४६)

त्यति मात्र नभएर सो समयमा कर्मचारीका लागि स्टक राखिएको खाद्यन्नदेखि ह्याङ्गरमा राखिएको प्रशस्त पार्टपुर्जाका कारण परिस्थित सहज बन्दा जहाजहरुलाई मर्मत गरेर काम गर्न सहज भएको थियो । जुन, भूकम्पले सिकाएको पाठलाई कोरोनामा प्रयोग गर्दा सहज भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?