काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला थपलिया) ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई देश बिर्सिएर कसको शासन बन्न लागेको भन्दै प्रश्न गरेकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता सुनाउँदै उक्त प्रश्न उठाएकी हुन् ।
प्रधानमन्त्रीले देश, माटो र जनताप्रतिको जिम्मेवारी बिर्सिएको उनको भनाई छ ।
यस्तो छ, सांसद थपलियाको कविता :
‘देश बिर्सिएको दिन’
तिमीले देश बनाउँछु भन्यौँ, म ढुक्क थिएँ
तर एकाएक तिम्रो बोलीको प्रतिध्वनी पनि नमेटिँदै
आफ्नै आमाको अस्मिता माथि औँला उठायौ
माटो छोएर कसम खायौ
तर त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ
अनि आमाको महिमा गाइरह्यौ
तर सन्तान हुनुको कर्तव्य भुल्यौ
काख र कोखको माया बिर्सियौ
त्यसैले आज म ढुक्क होइन,
मेरो मन देशको चिन्ताले ढुकढुक भैरहेको छ
स्वार्थले प्रेरित भएपछि सायद धेरै कुरा बिर्सन सकौला
तर नबिर्स तिमीमाथि असिम भरोसा बोकेर
मतको भारी बिसाउने जनतालाई नबिर्स
जनता उभिएको माटोलाई नबिर्स
तिमीलाई आशिष दिने ती बा–आमालाई नबिर्स
यसरी बिर्सने सिलसिला बढ्दै गयो भने
एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौँ
तर जुन दिन देश बिर्सन्छौँ, त्यो दिन तिमी कसको शासक बन्नेछौँ ?
भन तिमी त्यो दिन कसको शासक बन्नेछौँ ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया