प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, अस्कलका स्ववियु सचिव समेत समातिए

लोकपथ
462
Shares

काठमाडौं । नेपाल प्रहरीको जवान पदको परीक्षामा समेत नक्कली परिक्षार्थी खडा गरेको पाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालद्वारा प्रकाशित विज्ञापन अनुसार जवान पदको लागि शनिबारका लागि परीक्षा तोकिएको थियो ।

पुरानो बानेश्वरमा रहेको रत्नराज्य माविबाट ६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीपराज बोहराले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा दोलखाका मोहन सुनुवार, कालीकोटका गोपाल शाही, सुर्खेतका मनोज शर्मा, दैलेखका उमेश शर्मा र जुम्लाका मीन रावल रहेका छन् । उनीहरुको साथबाट सक्कल प्रवेश पत्र र नागरिकताको प्रतिलिपी समेत बरामद गरिएको छ ।

पक्राउ परेकामध्ये कालिकोटको शुभकालिका गाउँपालिका–७ घर भइ हाल काठमाडौंको लैनचौरमा बस्दै आएका २४ वर्षीय गोपाल शाही विद्यार्थी नेता समेत हुन् । उनी ठमेलमा रहेको अमृत साइन्स क्याम्पसका स्ववियु सचिव समेत हुन् । गत चैत १० गते स्ववियु निर्वाचनमा अस्कलमा एमाले निकट अनेरास्ववियुको प्यानल नै जितेको थियो । जसमध्ये शाही अनेरास्ववियुबाट सचिव पदमा निर्वाचित भएका थिए ।

पक्राउ परेका ६ जनामाथि आइतबार थप ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?