थकाली लगायतका चर्चित ब्रान्डमा लोकल चामलको रि-प्याकिङ गरी विक्री, तीन गोदाम सिलबन्दी

लोकपथ
2.4k
Shares

काठमाडौं । भारत तथा तराईका जिल्लाबाट लोकल चामल ल्याएर प्रतिष्ठित ब्रान्डका नाममा विक्री वितरण गर्ने गरेको आरोपमा तीन गोदामको सिलबन्दी गरिएको छ । काठमाडौंको तारकेश्वर ९ तथा नागार्जुन ७ र नागार्जुन ४ मा रहेका गोदामहरूमा अनुगमन समितिले सिलबन्दी गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले अवैधरुपमा खाद्यान्नको उत्पादन तथा विक्री वितरण गरेको आरोपमा तीन स्थानमा छापा मारी जिल्ला अनुगमन समितिको संयोजनमा सिलबन्दी गरिएको हो ।

भारतबाट खुला चामल (लुज राइस) ल्याएर काठमाडौं उपत्यकामा चलेका ब्रान्डका नाममा प्याकिङ गरी विक्री वितरण गरेको आरोपमा प्रहरीले तीन स्थानमा निगरानी गरेको थियो ।

निगरानीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग तथा तारकेश्वर र नागार्जुन नगरपालिकाको संयुक्त टोलीले फागुन २८ गते अनुगमन गरी तीन स्थानको गोदाम सिलबन्दी गरेको हो ।

अनुगमनका क्रममा तारकेश्वर नगरपालिका–९ मा कल्पना बुढाथोकीले सञ्चालन गरेको देवकोटा चिउरा तथा चामल मिल, नागार्जुन नगरपालिका वडा नम्बर ७ मा खगेन्द्र खत्रीले सञ्चालन गरेको हलेसी फुड खाद्य उद्योग र नागार्जुन नगरपालिका वडा नम्बर ४ मा मुकेश सिंहले सञ्चालन गरेको श्री गढीमाई प्याकेजिङ उद्योगमा अनुगमनपछि सिलबन्दी गरिएको हो । उनीहरूले अनुमति नै नलिई दाल, चामल, चिउरा लगायतको प्याकेजिङ गर्ने गरेको पाइएको हो ।

अनुगमनका क्रममा यी उद्योग तथा गोदामले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट आवश्यक अनुमति नलिएको अन्य फर्म तथा कम्पनीहरूको ब्रान्ड र ट्रेडमार्क समेत प्रयोग गरी खाद्यान्नका बोराहरू प्याकेजिङ गर्नुका साथै खाद्य सामग्रीहरू उचित तरिकाले भण्डारण नगरेको र प्रारम्भिक अवस्थामा गुणस्तर समेत कायम नभएको पाइएपछि सिलबन्दी गरिएको हो ।

नागार्जुन ४ मा मुकेश सिंहले सञ्चालन गरेको गोदाममा चर्चित चामलका ब्रान्डहरू थकाली, नेवारी लगायतका बोरामा खला चामल भरेर विक्री गरेको समेत पाइएको छ । कवाडी वा बजारबाट ती ब्रान्डका बोरा ल्याएर खुला चामल भरेर प्याकेजिङ गरी बजारमा विक्री वितरण गरेको समेत पाइएको हो ।

मुकेश सिंहले सञ्चालन गरेको प्याकेजिङ सेन्टरबाट विक्री वितरण भएको चर्चित ब्रान्डका चामलको विषयमा पाँच तारे होटेलबाट समेत गुनासो आएको, चामल पखाल्दा कालो फोहोर निस्किएको, चामलको बास्ना नै नरहेको लगायतका गुनासा आएपछि प्रहरीले वितरकको खोजी गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले खोजीका क्रममा ती चामलहरू मुकेश सिंह लगायतका व्यक्तिहरूले रि प्याकेजिङ गरी विक्री वितरण गर्ने गरेको पाएपछि संयुक्तरुपमा अनुगमन गरी गोदाममा सिलबन्दी गरेको हो ।
अनुगमनका क्रममा मुकेशको गोदाममा अन्य चर्चित ब्रान्डका चामलका बोरासमेत फेला परेको थियो भने ती ब्रान्डहरूका खुला चामल रि प्याकेजिङ गर्दै गरेको पाइएको थियो ।

प्रहरीले त्यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?