काठमाडौं । गृह मन्त्रालयले ताप्लेजुङमा अवस्थित पवित्र धार्मिकस्थल पाथिभरामा केबलकार निर्माणको विषयमा भइरहेको विवादबारे असन्तुष्ट पक्षलाई वार्तामा बोलाएको छ ।
पाथीभरामा केबलकार निर्माणको विषयमा केही स्थानीय र समूहको विरोधपछि निरन्तर आन्दोलन भइरहेको छ । केही दिन अघि केबलकार निर्माणमा असन्तुष्ट पक्षले आन्दोलन गर्दा झडप समेत भएको थियो ।
त्यस्तै आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक एवं स्थानीय समुदायका समस्याको वार्ताबाटै समाधान गर्ने भन्दै हाललाई निर्माणको काम रोकेको समेत गृहले जनाएको छ ।
‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थागित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउनुहुन हार्दिक अपिल गर्दछु,’ गृहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसो त पाथीभरामा केवलकार बनाउने विषयमा विवाद हुँदा वार्ताका लागि सरकारले गृहमन्त्रालयका सहसचिव प्रेमबहादुर भट्टराईको संयोजकत्वमा वार्ता टोली समेत बनाएको छ । वार्ताटोलीले माघ २२ गतेबाट निरन्तर रुपमा वार्ता र संवाद गरिरहेको छ । तर केवलकार बनाउन नहुनेमा पहिचानवादीहरु समेत मिसिएपछि अहिले त्यहाँको अवस्था झन तनावपूर्ण हुँदै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया