उमेर पुगेका युवायुवतीबिच होटेलमा भएको सम्बन्ध बलात्कार ठहर, नाबालिगमाथिको बलात्कारमा सफाइ !

न्यायाधीश आचार्यले निसुको मिति राखेर पेसीसमेत सारेका थिए

काठमाडौं । अपराधका सम्बन्धमा व्याख्या गर्ने कानुन अर्थात् मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ मा बलात्कार के हो भन्नेबारे उल्लेख गरिएको छ । सोही दफाको उपदफा ३ मा बलात्कार गरेमा हुने सजायबारे उल्लेख गरिएको छ । दफा २१९ को उपदफा २ मा कुनै महिलाको मञ्जुरी नलिई करणी गरेमा वा १८ वर्षभन्दा मुनिका बालिकालाई मञ्जुरी लिएरै करणी गरेको भए पनि बलात्कार मानिने कानुनी व्यवस्था उल्लेख गरिएको छ ।

यदि कसैले जबरजस्ती करणी गरेमा हुने सजायका सम्बन्धमा दफा २१९ को उपदफा ३ मा यदि कसैले जबरजस्ती करणी गरेमा पीडितको उमेरअनुसार प्रतिवादीलाई हुने सजायबारे उल्लेख गरिएको छ ।

सामान्यतः नाबालिग पीडित भएको मुद्दामा अन्य तथ्य र प्रमाणले अभियोग पुष्टि हुने अवस्था रहेमा अदालतले दोषी ठहर गरी सजाय सुनाउने गरेको छ । अन्य अवस्था यथावत् रहेमा उमेर पुगेका युवा र युवतीबिच पहिले आपसी सहमतिमा भएको यौन सम्बन्धमा पछि सम्बन्धमा दरार आउँदैमा बलात्कार भन्न नमिल्ने भन्ने सर्वोच्च अदालतकै फैसलासमेत रहेको अवस्थामा युवा र युवतीबिच भएको आपसी सहमतिको शारीरिक सम्बन्धलाई बलात्कार ठहर गरिएको त्यति धेरै सङ्ख्या छैन । अझ उमेर पुगेका युवा र युवतीबिच मध्य सहरको होटेलमा भएको यौन सम्बन्धलाई बलात्कार भन्ने आधार त अझै कम नै हुन्छ ।

तर ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले गरेका दुई फैसला यस्ता छन्, जहाँ नाबालिग पीडित रहेको र पीडक वयस्क रहेको बलात्कारको मुद्दामा अभियुक्तलाई सफाइ दिएका छन् भने उमेर पुगेका युवा र युवतीबिच होटेलमा भएको यौन सम्बन्धलाई भने बलात्कार भन्दै एमबीएस पढ्दै गरेका प्रेमीलाई भने जेल पुराइएको छ ।

पहिले न्यायाधीश आचार्यले नाबालिग पीडित रहेको बलात्कारको मुद्दामा अभियुक्तलाई सफाइ दिन के के गरे भन्ने तथ्य बुझौँ ।

के हो जावालाखेल बलात्कार प्रकरण ?

२०८१ मंसिर २७ गते आफ्नी कान्छी छोरीलाई आफ्नो जेठी छोरीको बुढा अर्थात् ज्वाइँले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी पर्‍यो । उक्त जाहेरीमा नातामा ज्वाइँ पर्ने व्यक्तिले नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको उल्लेख थियो र जाहेरवाला थिए पीडित बालिकाका बुवा ।

जाहेरीमा उल्लेख भएअनुसार घटना २०८० पुस १३ गतेको हो । ललितपुरको सानेपामा रहेको एक अपार्टमेन्टमा ज्वाइँ नाता पर्ने जलान थरका व्यक्तिले आफ्नी १३ वर्षीय छोरीमाथि जबरजस्ती करणी गरेकाले कारबाही गरिपाऊँ भनी जाहेरी परेको थियो । घटनाअनुसार २०८० पुस १३ गते बेलुकाको समयमा सौतेनी दिदीका श्रीमान् अर्थात् नातामा भिनाजु पर्ने व्यक्तिले ललितपुरकै एक स्कुलमा अध्ययन गर्ने १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेका थिए । खुमलटारमा आमा र अर्की सौतेनी दिदीसँग बस्दै आएकी ती बालिकाको आमा र सौतेनी दिदी चितवन जानुपर्ने भएकाले उनलाई दिदी भिनाजुसँग छाडिएको थियो । दिदी–भिनाजुकै फ्ल्याटमा बसिरहेको समयमा २०८० पुस १३ गते राति करिब ११ बजे मदिरामा लट्ठ भएका भिनाजुले बालिकामाथि जबरजस्ती करणी गरेका थिए । सो घटना कसैलाई भने मारिदिने सम्मको धम्की दिएको बालिकाको बयानमा उल्लेख छ ।

यद्यपि उक्त घटनाबारे बालिकाले आफ्नी आमा र सौतेनी दिदीलाई समेत बताएकोमा उनीहरूले घटना गुपचुप राख्दै कसैलाई भने ज्यान जानेसम्मको चेतावनी दिएकी थिइन् । यद्यपि उक्त घटनाबाट पीडित ती बालिकाले आफू अध्ययन गर्ने विद्यालयकी संयोजक र साथीलाई पनि घटनाबारे बताइन् । तर बेलायतमा रहेका बुवालाई भने घटनाबारे बताउन सकिनन् ।

घटनाबाट पीडित बनेकी ती बालिका आफ्नै आमा र दिदीबाट पनि सहयोग नपाएपछि विरक्त बनिन् र बेलायतमा रहेका बुवालाई फोन गरी आफू नेपालमा नबस्ने अडान लिइन् । त्यसबाहेक आमाको गतिविधि अस्वाभाविक रहेको र अपाच्य देखिएको भन्दै बुवालाई फोन गरी लिन आउन भनिन् ।

उनका बुवा बेलायतमै बस्ने र काम गर्ने गर्दथे । प्रारम्भमै उल्लेख भएअनुसार दिदी र भिनाजु सौतेनी दिदी भिनाजु थिए भने आमाको व्यवहार पनि सौतेनी जस्तै भएको गुनासो गर्थिन्, यद्यपि आमा उनकी आफ्नै आमा थिइन् ।

खासमा उनकी आमा र बुवाको भेट बेलायतमा भएको थियो । आमा नेपालबाट रोजगारीका लागि बेलायत पुग्दा पीडित बालिकाकी आमा र बुवाको भेट भएको थियो । स्टाफ नर्स रहेकी उनकी आमाको नेपालमै विवाह भई दुई छोरीहरूको जन्म भइसकेको थियो । नेपालमा श्रीमान् र छोरीहरू छाडेर बेलायत पुगेकी उनी बेलायतमा रहेका एक पुरुषसँग ‘लिभिङ टुगेदर’मा बसिन् । ‘लिभिङ टुगेदर’कै अवस्थामा यी पीडित बालिकाको जन्म भयो ।

बालिकाको जन्म बेलायतमै भएपछि मात्रै उनकी आमाले नेपालमा रहेका पतिसँग सम्बन्ध विच्छेद गरिन् । त्यसपछि नेपालमा रहेकी दुई छोरीहरूलाई पनि बेलायतमै रहेका प्रेमी (पीडित बालिकाका बुवा)ले छोरी बनाएर बेलायत लगे । किनभने उनको बुवाले बेलायती नागरिकता प्राप्त गरिसकेका थिए भने आमाले प्राप्त गरेकी थिइनन् । त्यसपछि सन् २०१३ पछि पाँच जनाको यो परिवार बेलायतमै बस्न थाल्यो ।

तर सन् २०२१ पछि भने यो परिवारका सदस्यमध्ये महिलाका पहिलेका श्रीमानतर्फका दुई छोरीहरू नेपाल फर्कने भए । महिला पनि कान्छी छोरीलाई समेत नेपालमै पढाउने भन्दै नेपाल आइन् र सुरुमा कपनमा बस्न थालिन् । नेपाल आएको समयमा चिनजान भएका भारतीय नागरिक परिवर्तित नाम अभिनव जलानसँग महिलाका पहिलेका पतितर्फका जेठी छोरीको चिनजान भयो । चिनजान भएको दुई महिनामै उनीहरूका बिचमा विवाह पनि भयो । ३३ वर्षीय भारतीय नागरिक अभिनव जलानले आफूलाई बाल्ट्रा कम्पनीको नेपालका इम्पोर्टर अर्थात् बाल्ट्राको साहु भनी चिनाए । त्यस लगत्तै उनीहरूको विवाह भएको थियो । हो, यिनै अभिनव र जेठी छोरीको जिम्मामा छाडेर गएकी नाबालिगमाथि जबरजस्ती करणी भएको थियो ।

आरोपित परिवर्तित नाम अभिनव जलान

सानी छोरीले बारम्बार नेपालमा नबस्ने भन्दै लिन बोलाएपछि हालका जाहेरवाला छोरीलाई लिन नेपाल आए र छोरीलाई लिएर बेलायत फर्किए । यहीबिचमा बालिकाको आमाको हर्कत अस्वाभाविक रहेको भन्दै विवाद बढ्दै गएपछि जाहेरवाला र पीडितकी आमाबिच अंश मुद्दासमेत दायर भयो ।

छोरीले नेपाल नबस्ने भनेपछि बालिकालाई बेलायत नै लगेर विद्यालयमा पढाउन थाले । नेपालमा आफूमाथि भएको घटनाबारे भने पीडित बालिकाले बुवालाई केही पनि भनिनन् ।

गएको डिसेम्बर महिनामा बेलायतकै विद्यालयबाट फोन आएर छोरीमाथि बलात्कार हुँदा पनि किन केस फाइल नगरेको भनेपछि पो जाहेरवाला छक्क परे । छोरीले विद्यालयकै सहपाठी र शिक्षकलाई आफूमाथि भएको घटना बताएपछि विद्यालयले नै जाहेरवालालाई खबर गरेको थियो । त्यसपछि छोरीसँग कुराकानी गर्दा उनीमाथि के भएको थियो भनी उनले थाहा पाए र तत्काल नेपाल आई जिल्ला प्रहरी परिसर, ललितपुरमा आफ्ना सौतेनी ज्वाइँविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरे ।

मङ्सिर २७ गते जाहेरी दर्ता भएपछि मङ्सिर २८ गते नै प्रहरीले अभिनव जलानलाई पक्राउ गर्‍यो भने त्यसपछि तीन दिन हिरासतमा बसेपछि उनी बिरामी परेको भन्दै अस्पताल भर्ना भई त्यहीँ बसेर हिरासत सकाए भने प्रहरीले पनि हिरासतबाटै बयान लियो ।

त्यसपछि पुस २३ गते ललितपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता भयो । पुस २३ गते दर्ता भएको मुद्दामा पुस २३ र २४ गते बकपत्र तथा थुनछेक बहस हुँदा तत्काल प्राप्त प्रमाणबाट निर्दोष मान्न सकिएन भन्दै न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए ।

न्यायाधीश आचार्यले उक्त मुद्दा निरन्तर सुनुवाइ गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै जाहेरवाला, पीडित, नेपाल सरकारका साक्षीहरूलाई २०८१ पुस २८ गते तथा पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई पुस २९ गते बकपत्रको लागि उपस्थित गराउनु भन्दै मिति नै तोकेर आदेश दिए । उक्त आदेशमा बकपत्र सम्पन्न भएपछि माघ ६ गतेका लागि पूर्ण सुनुवाइका लागि पेस गर्नु भन्नेसमेत उल्लेख थियो ।

न्यायाधीश आचार्यले गरेको आदेश

तर पुस २८ र २९ मै सबैको बकपत्र सकिएन । घटनाबारे सबैभन्दा पहिले थाहा पाउने युलेन्स स्कुलकी संयोजक शिखा गुरुङ थिइन्, तर उनको बकपत्र नै भएन । बकपत्रका लागि बोलाइएको दिन दिनको समयमा आफ्नो व्यक्तिगत काम भएकाले साँझ करिब ४ः३० बजे अदालत पुगेकी उनको बकपत्र ढिलो पुगेको भन्दै गराइएन । यस घटनाको मुख्य साक्षी रहेकी शिखाको बकपत्र अर्को दिन बोलाउने भने पनि त्यसपछि बोलाइएन ।

जाहेरवाला र पीडित बालिका बेलायती नागरिक रहेको र बेलायत गइसकेको कारण उनीहरूको बकपत्र हुन सकेन । जाहेरवालाको तर्फबाट भर्चुअल बयानका लागि निवेदन प¥यो । त्यसपछि माघ १० गतेका लागि भर्चुअल बकपत्र गर्ने मिति तय भयो ।

माघ १० गते न्यायाधीश रिता बख्रेलको इजलासमा जाहेरवाला र पीडितको बकपत्र भयो । त्यसपछि माघ १३ गते पूर्ण सुनुवाइका लागि पेसीमा चढ्यो । उक्त दिनको पेसी पनि पहिले थुनछेक गर्ने र मिति नै तोकेर बकपत्र र पूर्ण सुनुवाइका लागि पेस गर्नु भन्ने न्यायाधीश ऋषिराम आचार्यकै इजलासमा तोकियो ।

उक्त दिनको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालाका तर्फबाट कानुनी लडाइ लडिरहेकाहरूले साक्षी शिखा गुरुङको बकपत्र बाँकी रहेकाले बकपत्र गराउने आदेश माग गरे । न्यायाधीश आचार्यले समय बाँकी नै रहेकाले आवश्यक परे आदेश गरौँला भन्दै सुनुवाइ सुरु गर्न भने । त्यसपछि सुनुवाइ भयो ।

साँझ साक्षी बुझ्ने आदेशको प्रतीक्षा गरेका वादी सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायी तब छक्क परे, जब न्यायाधीश आचार्यले अभियुक्तलाई बलात्कारको कसुरबाट सफाइ दिई थुनामा बसेको दिन अर्थात् ४५ दिन मात्रै कैद सजाय हुने गरी बालयौन दुरुपयोगमा परिवर्तन गरिदिए ।

यसरी ललितपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश ऋषिराम आचार्यले आफू अवकाशमा जाने समयमा बाध्यकारी अवस्थामा बिदामा बस्नै पर्ने दुई दिन अगाडि मुद्दामा अस्वाभाविक आदेश गरी शीघ्र सुनुवाइ मात्रै गराएनन्, आफ्नै इजलासबाट प्रतिवादीलाई सफाइ दिने फैसला सुनाए ।

न्यायाधीश आचार्यले आफू मिनी म्यालिस्टिक अर्थात् प्रतिवादीलाई काम भन्दा कम सजाय गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएको बताउने गर्छन् । तर न्यायाधीश आचार्यले सोही अदालतमा दर्ता भएको अर्को बलात्कारको मुद्दामा भने प्रेमीलाई ७ वर्षको कैद सजाय सुनाएको पाइएको छ । पाटन क्याम्पसमा सँगै एमबीएस पढ्ने प्रेमी र प्रेमिकाबिच ललितपुरको होटेलमा भएको यौन सम्बन्धलाई उनले बलात्कार ठहर गरेका छन् । उमेरसमेत पुगिसकेका उनीहरूको बीचमा भएको ‘बलात्कार’को घटनामा उनले कसुर ठहर गर्दै प्रेमीलाई ७ वर्षको सजाय सुनाएका छन् ।

अब उमेर पुगेका युवा र युवतीबिच ललितपुरको होटेलमा भएको भनिएको बलात्कारको घटना के हो, त्यो पनि बुझौँ ।

२०८० साउन ९ गते ललितपुर जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर भयो । नवलपरासीको सुनवल नवलपरासी वडा नम्बर ११ जर्गाहा टोल ठेगाना भई पाटन संयुक्त क्याम्पसमा एमबिएस अध्ययन गर्ने २८ वर्षीय केशव भुसालविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दामा उमेर पुगेकी युवतीलाई होटेलमा लगेर बलात्कार गरेको उल्लेख थियो । पीडित ‘जावलाखेल २७’ ले प्रहरीमा दिएको जाहेरी यस्तो थियो ।

‘म जाहेरवालालाई विगत २०७७ साल फागुनदेखि ललितपुर जिल्लाको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा एमबीएस पढ्दा चिनजान भएका केशव भुसालले मसँग समय समयमा कुरा गरी साथी बनेर कम्पनी खोलौँ, तिमीले पनि सेयर हालेर कम्पनी चलाऊ भनी २०७८ साल असारदेखि ललितपुरको कुमारीपाटी सहितका विभिन्न ठाउँमा लगी चिया, खाजा खाने गर्दागर्दै निजले मलाई नाम थाहा नभएको नशालु पदार्थ मिसाई लट्ठ्याई ललितपुरको लगनखेलस्थित लुम्बिनी गेस्ट हाउमा लगी आफ्नो नाम केशव भुसाल हुनु पर्नेमा कमल भट्टराई लेखाई मलाई उक्त गेस्ट हाउसको चोटा तल्लाको कोठामा लगी म नसाको सुरमा भएकी केटीलाई नग्न पारी भिडियो खिचेका रहेछन्, सोही भिडियो देखाउँदै मैले भनेको नमानेमा बदनामी गराइदिन्छु भन्दै आएको र अन्तिम पटक मिति २०७९।०९।१५ गते दिउँसो अन्दाजी १३:०० बजेको समयमा सोही गेस्ट हाउसको दोस्रो तलाको कोठामा लगी मलाई जबरजस्ती करणी गरेको र सो कुरा कसैलाई नभन्नु, भनेमा राम्रो हुने छैन भनी मलाई धाक धम्की दिई केही दिनपछि निज प्रतिवादी केशव भुसालले पीडितलाई सुका नामको औषधी किनी सेवन गर्न दिई उक्त औषधी सेवन गरेपछि म बेहोस भई मिति २०७९।०९।१८ गतेदेखि मिति २०७९।१०।०१ गतेसम्म गणेशमान मेमोरियल अस्पतालमा भर्ना भई उपचार गराएको र निज केशव भुसालले मलाइ साथी बनाई चियामा नशालु पदार्थ मिसाई ख्वाई लट्ठ्याइ लजमा लगी जबरजस्ती करणी गरेकोले कारबाही गरी पाऊँ ।’

जाहेरी दरखास्तले के कुरा बुझाउँछ भने उनीहरू २०७७ सालदेखि नजिकिएका थिए र माया प्रेमको कुरा हुन्थ्यो । जाहेरीमा पछिल्लो पटक बलात्कार भन्नुले त्यसअघि पनि उनीहरूबिच शारीरिक सम्बन्ध कायम भएको थियो र त्यो पहिलेको सम्बन्धचाहिँ सहमतिको थियो भन्ने बुझाउँछ ।

त्यसबाहेक प्रतिवादी केशव भुसालले पीडित वा उनको परिवारलाई १२ लाख रुपैयाँ दिएको र सो रकम फिर्ता नभएपछि काठमाडौं जिल्ला अदालतमा २०८० जेठ ३१ गते सावाँ ब्याज भराई पाउँ भनी मुद्दा दायर गरिसकेपछि ‘आफ्टर थट’का रूपमा २०८० साउन ९ गते ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको बुझिन्छ ।

यसमा बुझ्नुपर्ने कुरा के छ भने पीडित र प्रतिवादी सँगै पढ्ने सहपाठी हुन् । उनीहरूबिच निकटता छ र पटक पटक शारीरिक सम्बन्ध कायम भएको छ । उनीहरूबिच आर्थिक कारोबार पनि भएको छ र केशव भुसालले १२ लाख रुपैयाँ चेकमार्फत पीडितका परिवारलाई दिएका छन् । दिएको रकम फिर्ता माग्दा फिर्ता नदिएपछि केशव भुसालले काठमाडौं जिल्ला अदालतमा सावाँ ब्याज फिर्ताको माग गर्दै मुद्दा दायर गरेका छन् र त्यसको रिस फेर्न काठमाडौंमा मुद्दा दायर भएपछि केशवविरुद्ध ललितपुर जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरिएको छ अर्थात् ‘आफ्टर थट’ छ ।

उक्त मुद्दामा प्रतिवादीले जबरजस्ती करणी नगरेको बताएका छन् भने पीडितले भने नशालु पदार्थ खुवाएर बलात्कार गरिएको बताएका छन् । पीडितले अदालतको बकपत्र वा अनुसन्धान अधिकारीसमक्षको बयानमा पनि पहिलेदेखि नै नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताएकी छैनन्, बरु अन्तिम पटक नशालु पदार्थ खुवाएर बलात्कार गरेको उल्लेख गरेकी छिन् ।

यता बलात्कार भएको भनिएको स्थान लगनखेलमा रहेको लुम्बिनी गेस्ट हाउस भनिएको छ । होटेल सञ्चालक र कामदारले केशव भुसाल र पीडित भनिएकी युवती होटेलमा आएर बसेको पहिचान गरेका छन् भने उनीहरू सहज रूपले होटेलमा आएर बसेको उल्लेख गरेका छन् । त्यहाँ कुनै झैझगडा नभएको र उनीहरू सहजरुपले नै बाहिरिएको बयान दिएका छन् ।

यी तमाम तथ्य र प्रमाणले उनीहरूबिच आपसी सहमतिमै यौन सम्बन्ध स्थापित भएको हुनसक्छ भन्ने बुझाउँछ । त्यसपछि फेरि पनि बुझ्नुपर्ने कुरा के हो भने उनीहरू सँगै पढ्ने सहपाठी हुन् र पहिले प्रेमी र प्रेमिका रहेको तर अहिले मनमुटाव भएको बुझिन्छ । दोस्रो, उनीहरू दुवै जना उमेर पुगेका व्यक्ति हुन् र मध्य सहरको होटेलमा जबरजस्ती करणी त्यति सम्भव विषय पनि होइन ।

ललितपुर जिल्ला अदालतमा चलेको यो मुद्दा २०८१ असार ९ गते यिनै न्यायाधीश ऋषिराम आचार्यको इजलासमा पेसी तोकिएको थियो । उक्त दिनको सुनुवाइपछि न्यायाधीश आचार्यले निसु अर्थात् निर्णय सुनाउने भन्दै २०८१ असार २६ को मिति तोकेका थिए । तर उक्त दिन आचार्यले निर्णय नसुनाई साउन १६ गतेका पेसी तोकेका थिए ।

निसुको मिति तोकेपछि ‘थप छलफल’ गर्न सकिने भएकाले पनि न्यायाधीश आचार्यले निसुको मिति तोकेर केही छलफल गर्न चाहेका हुन सक्छन् । तर उक्त छलफलमा प्रतिवादीतर्फका मानिसहरू बस्नै चाहेनन् । त्यसपछि २०८१ साउन १६ गतेको पेसीमा न्यायाधीश आचार्यले बलात्कार ठहर गर्दै सजाय निर्धारणका लागि साउन ३० गतेको मिति तोकेका छन् ।

साउन ३० गतेको सजाय निर्धारणको पेसीमा न्यायाधीश आचार्यले अभियोग दाबी पुग्ने ठहर गर्दै ७ वर्ष जेल सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएका छन् ।

यसरी ललितपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश ऋषिराम आचार्यको दुई फैसलामा गम्भीर कैफियत र भिन्नता मात्रै देखिएको छैन, एक न्यायाधीश रहने जिल्ला अदालतको पेसीमा निसुको मिति तोक्ने र तोकिएको मितिमा फैसला नसुनाई पुनः अर्को निसुको मिति तोकिएको समेत पाइएको छ ।

हेर्नुहोस्, लोकपथको समाचार श्रृङ्खला

अंक १ : बलात्कारका आरोपित बचाउन न्यायाधीशलाई नै हतार !

अंक २ : पक्षले ‘साक्षी बुझ्नै छ श्रीमान्’ भने- न्यायाधीशले झुक्काएर फैसला सुनाए

अंक ३ : बलात्कृत बालिकाकी आमाले शिक्षिकालाई फोन गर्दै भनिन्, ‘हाम्रो पक्ष (आरोपित)को कुरा पनि सुनिदिनोस्’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?