काठमाडौं । जावालाखेल बलात्कार प्रकरणमा न्यायाधीशले अधिक सक्रियता देखाएको मात्रै होइन, न्यायाधीशले झुक्काएर फैसला गरेको समेत पाइएको छ । आरोपितलाई कसुरबाट सफाइ दिने उद्देश्यले न्यायाधीशले हतारमा फैसला गरेको मात्रै नभई बकपत्रका लागि अदालत पुगेका साक्षीको बकपत्र नै नगरिएको र साक्षी बुझ्न गरिएको आग्रह पनि लत्त्याएर न्यायाधीशले फैसला गरेको पाइएको छ ।
गत माघ १३ गते पूर्ण सुनुवाइका लागि इजलासमा पेस हुँदा परिवर्तित नाम २०८१।०८२ जावालाखेल १८ को मुद्दामा न्यायाधीशले सरकारी वकिल र कानुन व्यवसायीलाई नै गुमराहमा पारेर फैसला गरेको खुलासा भएको हो । सुनुवाइका क्रममा सरकारी वकिल र जाहेरवाला तर्फका कानुन व्यवसायीले साक्षी बुझ्न बाँकी नै रहेको भनी इजलासलाई जानकारी गराउँदा न्यायाधीशले समय छ, त्यो पनि गर्दै गरौँला भन्दै झुक्काएर फैसला गरेको खुलासा भएको हो ।
माघ १३ गते सुनुवाइ हुँदा अङ्ग नै नपुगेको मुद्दामा साक्षी बुझ्ने आदेश गर्नुपर्नेमा ललितपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश ऋषिराम आचार्यले साक्षी बुझ्ने आदेश गर्नुपर्नेमा समय छ भनी वादी पक्षलाई गुमराहमा पारी एकै दिनमा फैसला सुनाएको पाइएको छ ।
पहिलो सुनुवाइमै के कसरी फैसला भयो र घटनाको अहम् साक्षी नबुझी किन हतारमा फैसला भयो भन्ने लोकपथको प्रश्नमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरका जिल्ला न्यायाधिवक्ता लोक बहादुर कटवालले गुमराहमा राखेर फैसला गरिएको टिप्पणी गरे ।
पहिले जावालाखेल बलात्कार प्रकरण के हो, त्यो बुझौँ ।
२०८१ मंसिर २७ गते आफ्नी कान्छी छोरीलाई आफ्नो जेठी छोरीको बुढा अर्थात् ज्वाइँले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी पर्यो उक्त जाहेरीमा नातामा ज्वाइँ पर्ने व्यक्तिले नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको उल्लेख थियो ।
जाहेरीमा उल्लेख भए अनुसार घटना २०८० पुस १३ गतेको हो । ललितपुरको सानेपामा रहेको एक अपार्टमेन्टमा ज्वाइँ नाता पर्ने जलान थरका व्यक्तिले आफ्नी १३ वर्षीय छोरीमाथि जबरजस्ती करणी गरेकाले कारबाही गरिपाउन जाहेरी परेको थियो । घटना अनुसार २०८० पुस १३ गते बेलुकाको समयमा सौतेनी दिदीका श्रीमान् अर्थात् नातामा भिनाजु पर्ने व्यक्तिले ललितपुरकै एक स्कुलमा अध्ययन गर्ने १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेका थिए । खुमलटारमा आमा र अर्की सौतेनी दिदीसँग बस्दै आएकी ती बालिकाको आमा र सौतेनी दिदी चितवन जानुपर्ने भएकाले उनलाई दिदी भिनाजुसँग छाडिएको थियो । दिदी-भिनाजुकै फ्ल्याटमा बसिरहेको समयमा २०८० पुस १३ गते राती करिब ११ बजे मदिरामा लट्ठ भएका भिनाजुले १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेका थिए । सो घटना कसैलाई भने मारिदिनेसम्मको धम्की दिएको बालिकाको बयानमा उल्लेख छ ।

यद्यपि उक्त घटनाबारे बालिकाले आफ्नी आमा र सौतेनी दिदीलाई समेत बताएकामा उनीहरूले घटना गुपचुप राख्दै कसैलाई भने ज्यान जानेसम्मको चेतावनी दिएकी थिइन् । यद्यपि उक्त घटनाबाट पीडित ती बालिकाले आफू अध्ययन गर्ने विद्यालयकी संयोजक र साथीलाई पनि घटनाबारे बताइन् । तर बेलायतमा रहेका बुवालाई भने घटनाबारे बताउन सकिनन् ।
घटनाबाट पीडित बनेकी ती बालिकाले आफ्नै आमा र दिदीबाट पनि सहयोग नपाएपछि विरक्त बनिन् र बेलायतमा रहेका बुवालाई फोन गरी आफू नेपालमा नबस्ने अडान लिइन् । त्यसबाहेक आमाको गतिविधि अस्वाभाविक रहेको र अपाच्य देखिएको भन्दै बुवालाई फोन गरी लिन आउन भनिन् ।
उनका बुवा बेलायतमै बस्ने र काम गर्ने गर्दथे । प्रारम्भकै उल्लेख भए अनुसार दिदी र भिनाजु सौतेनी दिदी भिनाजु थिए भने आमाको व्यवहार पनि सौतेनी जस्तै भएको गुनासो गर्थिन्, यद्यपि आमा उनकी आफ्नै आमा थिइन् ।
खासमा उनकी आमा र बुवाको भेट बेलायतमा भएको थियो । आमा नेपालबाट रोजगारीका लागि बेलायत पुग्दा पीडित बालिकाकी आमा र बुवाको भेट भएको थियो । स्टाफ नर्स रहेकी उनकी आमाको नेपालकै विवाह भई दुई छोरीहरूको जन्म भइसकेको थियो । नेपालमा श्रीमान् र छोरीहरू छाडेर बेलायत पुगेकी उनी बेलायतमा रहेका एक पुरुषसँग लिभिङ टुगेदरमा बसिन् । लिभिङ टुगेरदरकै अवस्थामा यी पीडित बालिकाको जन्म भयो ।
बालिकाको जन्म बेलायतमै भएपछि मात्रै उनकी आमाले नेपालमा रहेका पतिसँग सम्बन्ध विच्छेद गरिन् । त्यसपछि नेपालमा रहेकी दुई छोरीहरूलाई पनि बेलायतमै रहेका प्रेमी (पीडित बालिकाका बुवा)ले छोरी बनाएर बेलायत लगे । किनभने उनको बुवाले बेलायती नागरिकता प्राप्त गरिसकेका थिए भने आमाले प्राप्त गरेकी थिइनन् । त्यसपछि सन् २०१३ पछि पाँच जनाको यो परिवार बेलायतमै बस्न थाल्यो ।
तर सन् २०२१ पछि भने यो परिवारका सदस्यमध्ये महिलाका पहिलेका श्रीमानतर्फका दुई छोरीहरू नेपाल फर्कने भए । महिला पनि कान्छी छोरीलाई समेत नेपालमै पढाउने भन्दै नेपाल आइन् र सुरुमा कपनमा बस्न थालिन् । नेपाल आएको समयमा चिनजान भएका भारतीय नागरिक परिवर्तित नाम अभिनव जलानसँग महिलाका पहिलेका पतितर्फका जेठी छोरीको चिनजान भयो । चिनजान भएको दुई महिनामै उनीहरूका बिचमा विवाह पनि भयो । ३३ वर्षीय भारतीय नागरिक अभिनव जलानले आफूलाई बाल्ट्रा कम्पनीको नेपालका इम्पोर्टर अर्थात् बाल्ट्राको साहु भनी चिनाए । त्यस लगत्तै उनीहरूको विवाह भएको थियो । हो, यिनै अभिनव र जेठी छोरीको जिम्मामा छाडेर गएकी नाबालिगमाथि जबरजस्ती करणी भएको थियो ।

सानी छोरीले बारम्बार नेपालमा नबस्ने भन्दै लिन बोलाएपछि हालका जाहेरवाला छोरीलाई लिन नेपाल आए र छोरीलाई लिएर बेलायत फर्किए । यहीबिचमा बालिकाको आमाको हर्कत अस्वाभाविक रहेको भन्दै विवाद बढ्दै गएपछि जाहेरवाला र पीडितकी आमाबिच अंश मुद्दा समेत दायर भयो ।
छोरीले नेपाल नबस्ने भनेपछि बालिकालाई बेलायत नै लगेर विद्यालयमा पढाउन थाले । नेपालमा आफूमाथि भएको घटनाबारे भने पीडित बालिकाले बुवालाई केही पनि भनिन् ।
गएको डिसेम्बर महिनामा बेलायतकै विद्यालयबाट फोन आएर छोरीमाथि बलात्कार हुँदा पनि किन केस फाइल नगरेको भनेपछि पो जाहेरवाला छक्क परे । छोरीले विद्यालयकै सहपाठी र शिक्षकलाई आफूमाथि भएको घटना बताएपछि विद्यालयले नै जाहेरवालालाई खबर गरेको थियो । त्यसपछि छोरीसँग कुराकानी गर्दा उनीमाथि के भएको थियो भनी उनले थाहा पाए र तत्काल नेपाल आई जिल्ला प्रहरी परिसर, ललितपुरमा आफ्ना सौतेनी ज्वाइँविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरे ।
मङ्सिर २७ गते जाहेरी दर्ता भएपछि मङ्सिर २८ गते नै प्रहरीले अभिनव जलानलाई पक्राउ गर्यो भने त्यसपछि तीन दिन हिरासतमा बसेपछि उनी बिरामी परेको भन्दै अस्पताल भर्ना भई त्यहीँ बसेर हिरासत सकाए भने प्रहरीले पनि हिरासतबाटै बयान लियो ।
त्यसपछि पुस २३ गते ललितपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता भयो । पुस २३ गते दर्ता भएको मुद्दामा पुस २३ र २४ गते बकपत्र तथा थुनछेक बहस हुँदा तत्काल प्राप्त प्रमाणबाट निर्दोष मान्न सकिएन भन्दै न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए ।
न्यायाधीश आचार्यले उक्त मुद्दा निरन्तर सुनुवाइ गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै जाहेरवाला, पीडित, नेपाल सरकारका साक्षीहरूलाई २०८१ पुस २८ गते तथा पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई पुस २९ गते बकपत्रको लागि उपस्थित गराउनु भन्दै मिति नै तोकेर आदेश दिए । उक्त आदेशमा बकपत्र सम्पन्न भएपछि माघ ६ गतेका लागि पूर्ण सुनुवाइका लागि पेस गर्नु भन्नेसमेत उल्लेख थियो ।

तर पुस २८ र २९ मै सबैको बकपत्र सकिएन । जाहेरवाला र पीडित बालिका बेलायती नागरिक रहेको र बेलायत गइसकेको कारण उनीहरूको बकपत्र हुन सकेन । जाहेरवालाको तर्फबाट भर्चुअल बयानका लागि निवेदन पर्यो । त्यसपछि माघ १० गतेका भर्चुअल बकपत्र गर्ने मिति तय भयो ।
छोरीका विरुद्ध बयान दिने आमा वादीको साक्षी ?
यता जबरजस्ती करणीको कसुरमा आफ्नी छोरीकै विरुद्ध बयान दिने आमा र सौतेनी दिदीलाई पनि सरकारी साक्षीका रूपमा पेस गरिएको थियो भने पीडित बालिकाकी साथीको आमा र विद्यालयका संयोजकलाई पनि वादीका साक्षीका रूपमा राखिएको थियो । त्यसमध्ये पीडित बालिकाकी साथीमा आमासमेत रहेकी सरकारी साक्षी शोभा बानियाले अदालतमा पनि पुगेर बयान दिइन् ।
यता घटनाबारे सबैभन्दा पहिले थाहा पाउने अर्थात् २०८० पुसमा भएको घटनाको जानकारी २०८० माघमै पाएकी ललितपुरको युलेन्स स्कुलकी संयोजक शिखा गुरुङलाई भने अदालतले बयान नै नलिई अर्को दिन बोलाउँछौँ भन्दै फर्काइदियो ।
शिखा भन्छिन्, ‘म अदालत पुगेकी थिएँ, तर बकपत्र नगराई फर्काइयो’
जावालाखेल बलात्कार प्रकरणको प्रमुख साक्षी थिइन्, युलेन्स स्कुलकी संयोजक शिखा गुरुङ । पीडित बालिकाले २०८० माघ महिनामै आफूलाई भिनाजुले मोलेस्ट गर्ने गरेको भनेर जानकारी गराएकी थिइन् । त्यसपछि शिखाले पीडितकी आमालाई सम्पर्क गर्न खोज्दा आमालाई पहिले नै थाहा भएको र अन्यत्र कुरा गर्ने मार्नेसम्मको धम्की आएको बताएकी थिइन् ।
शिखाले प्रहरीमा दिएको बयानमा पनि आफूलाई पीडित बालिकाले २०८० माघ मै घटनाबारे बताएको उल्लेख गरेकी छिन् । त्यही आधारमा उनलाई सरकारी साक्षीका रूपमा राखिएको थियो ।
अदालतमा मुद्दा दर्ता भएपछि न्यायाधीशले मिति नै तोकेर साक्षी बकपत्र गराउन आदेश दिए पनि शिखा गुरुङ भने आफ्नो व्यक्तिगत कामका कारण २०८१ पुस २८ गते समयमै अदालतमा पुग्न सकिनन् । त्यति बेला अदालत ४ बजेसम्म मात्रै खुल्थ्यो भने उनी ४:३० बजे अदालत पुगेकी थिइन् । बकपत्रका लागि अदालत पुगेकी उनलाई ढिलो भएको भन्दै अदालतका कर्मचारीले फिर्ता पठाइदिएका थिए ।
तपाईँ महत्त्वपूर्ण साक्षी भए पनि किन बकपत्रका लागि अदालत जानुभएन भन्ने लोकपथको प्रश्नमा शिखाले आफू अदालत पुगेको तर बकपत्र नगराई फिर्ता पठाइएको बताइन् । शिखाले भनिन्, ‘म मेरो व्यक्तिगत कामले समयमै अदालत पुग्न सकेको थिइन । त्यस दिन आइतबार थियो र म ४:३० बजेतिर अदालत पुगेकी थिएँ । तर अदालतका कर्मचारीले उक्त दिन ढिलो भएको भन्दै अर्को दिन बोलाउने भनी फिर्ता पठाइदिएका थिए । त्यसपछि म अदालतबाट फोन आउला भनी कुरेर बसेको थिएँ, तर फैसला भइसकेको रहेछ ।’
सरकारी वकिलले साक्षी बुझ्नुपर्ने अडान लिए, न्यायाधीशले टेरेनन्
माघ १० गते पीडित र जाहेरवालाको भर्चुअल बकपत्र भएपछि न्यायाधीश ऋषिराम आचार्यकै दबाबका आधारमा माघ १३ गतेका लागि पूरक पेसीमार्फत पेसी तोकिएको थियो । आफू अनिवार्य बिदामा बस्नुपर्ने दुई दिन अगाडि भएकाले कुनै पनि अवस्थामा उक्त मुद्दा फैसला गरेर आफू बिदा हुन चाहन्थे उनी । त्यसै कारण पेसी समेत न्यायाधीश आचार्यकै इजलासमा तोकियो ।

तर फैसला गर्न हतारिएका न्यायाधीशको अस्वाभाविक गतिविधिबारे जानकार सरकारी वकिल र पीडिततर्फका कानुन व्यवसायीले महत्त्वपूर्ण साक्षी बुझ्नै बाँकी रहेकाले साक्षी नबुझी पूर्ण सुनुवाइमा जाँदा न्यायमा फरक पर्न सक्ने र अपूर्ण हुने कुरा इजलासलाई जानकारी गराए ।
पूर्ण सुनुवाइमा सरकारी वकिल तर्फबाट सहभागी भएका जिल्ला न्यायाधिवक्ता लोक बहादुर कटुवालले शिखा गुरुङ सबैभन्दा पहिले घटनाबारे जानकारी पाउने साक्षी भएको र उनीसँग नबुझी फैसला गर्न हतारिनु नहुने इजलासलाई जानकारी गराए । त्यसको जवाफमा न्यायाधीश आचार्यले समय बाँकी नै छ, आवश्यक भए त्यसबारेका हेरौंला तर सुनुवाइ गर्नुहोस् भने । त्यसपछि सरकारी वकिलले आफ्नो तर्फबाट बहस गरे ।

साक्षी बुझि नसकिएको र नबुझी फैसला गर्न नमिल्ने भन्दै अधिवक्ता गोकुल भण्डारीले पनि उक्त दिनको सुनुवाइमा साक्षी बुझ्ने आदेश हुनुपर्ने कुरा इजलासमा राखे । भण्डारीले शिखा गुरुङ महत्त्वपूर्ण साक्षी रहेको र पुसमा भएको घटनाबारे शिखालाई माघमै जानकारी गराइएको भन्दै साक्षी नबुझी फैसला गर्नु हतार हुने भन्दै साक्षी बुझ्न आदेश गरे । अधिवक्ता भण्डारीको मागमा न्यायाधीश आचार्यले हेरौँ, आवश्यक रहेछ भने गरौँला भने ।
त्यसपछि जाहेरवालाको तर्फबाट बहस गरेका अधिवक्ता विपिन सुवेदीले ड्यु प्रोसेस अफ ल मा महत्त्वपूर्ण साक्षी नबुझी फैसला गर्नु न्यायसङ्गत नहुने भन्दै शिखा गुरुङ महत्त्वपूर्ण साक्षी भएकाले साक्षी बुझ्नै पर्ने बताए । साक्षी नबुझी फैसला गर्न हतारिएमा फैसला त्रुटिपूर्ण हुनसक्ने भन्दै शिखा गुरुङको भूमिका र विषय उजागर गरे । शिखा गुरुङलाई सुरुमै घटनाबारे थाहा भएको भन्दै विपिनले इजलासमा घटना नै भएन भन्ने कुनै गुञ्जायस नै छैन, किनभने त्यति बेलै शिखा गुरुङलाई जानकारी छ भन्दै महत्त्वपूर्ण साक्षी नबुझी टुङ्गोमा पुग्नु न्यायिक हुँदैन, साक्षी बुझेर मात्रै अगाडि बढ्दा मात्रै पूर्णता हुन्छ भनेर पटक पटक सम्झाए । न्यायाधीशले आवश्यक परेमा त्यो पनि गरौँला भन्दै सुनुवाइ गर्न रुलिङ गरे ।
साक्षी बुझ्ने आदेश पर्खिएका थियौँ, फैसला आउँदा अचम्मित भयौँ : सरकारी वकिल
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला महान्यायाधिवक्ता लोक बहादुर कटुवालले आफूहरू साक्षी बुझ्ने आदेश आउला भनेर कुरेर बसेको तर फैसला आउँदा अचम्मित भएको बताए । ‘सरकारी साक्षी नै नबुझी फैसला भएछ, तपाईँहरूले साक्षी बुझ्न बाँकी रहेको कुरा इजलासलाई भन्नु भएन’ भन्ने लोकपथको प्रश्नमा जिल्ला महान्यायाधिवक्ता कटुवालले आदेश कुर्दा फैसला आएको टिप्पणी गरे । उनले भने, ‘हामीले महत्त्वपूर्ण साक्षी बुझ्न बाँकी नै छ, सुनुवाइ गर्नु उचित हुँदैन भनेका थियौँ । श्रीमानले पनि समय छ त भन्नुभएको थियो । हामीलाई लागेको थियो, त्यो दिन (माघ १३ गते) आदेश आउला, तर अनपेक्षितरुपमा फैसला आइदियो ।’

ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले उक्त मुद्दामा साक्षी नै नबुझी अर्थात् मुद्दामा अङ्ग नै नपुगी बलात्कारको मुद्दामा बाल यौन दुरुपयोगमा मात्रै दोषी ठहर गरेका छन् । बाल यौन दुरुपयोगमा आंशिक दाबी पुग्ने फैसला सुनाउँदा न्यायाधीश आचार्यले प्रतिवादी थुनामा रहेको दिनलाई मात्रै गणना गरी ४५ दिन मात्रै कैद सजाय हुने र केही रकम जरिवाना हुने भनी अभियुक्तलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका छन् ।
अनिवार्य अवकाशमा जान दुई दिन मात्रै बाँकी थियो न्यायाधीश आचार्यको
न्यायाधीश आचार्यलाई यो मुद्दा ढिलोमा माघ १५ गतेभित्रै टुङ्ग्याउनु थियो । किनभने ६३ वर्षको उमेर हदका कारण उनी २०८१ फागुन १६ गतेबाट अनिवार्य अवकाशमा जाँदै थिए भने त्यसको एक महिना अगाडिबाट मुद्दा हेर्न नपाउने व्यवस्था न्याय परिषद्ले गरेको थियो । माघ १६ गते पनि सहिद दिवसको बिदा परेको कारण उनी कुनै पनि हालतमा उक्त मुद्दा ढिलोमा माघ १५ गतेभित्रै टुङ्ग्याउन चाहन्थे ।

यहीबिचमा माघ १० गते न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा जाहेरवाला र पीडितको भिडियो कन्फरेन्समार्फत् बकपत्र गराइएको थियो । त्यसपछि माघ १३ गते पूरक पेसीमार्फत न्यायाधीश आचार्यकै इजलासमा उक्त मुद्दाको पेसी तोकी फैसला भएको थियो ।
यसरी ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले आफू अनिवार्य अवकाशमा जान बिदामा बस्नै पर्ने दुई दिन अगाडि साक्षी नै नबुझी हतार हतारमा प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएका छन् । प्रतिवादीले जबरजस्ती करणीको अभियोग दाबीबाट सफाइ पाइ बाल यौन दुरुपयोग मात्रै ठहर भएकाले प्रतिवादी अभिनव जलान कारागारबाट मुक्त भइसकेका छन् ।
यो पनि ….
बलात्कारका आरोपित बचाउन न्यायाधीशलाई नै हतार !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया