काठमाडौं । सामान्यता: बलात्कार जस्तो गम्भीर मुद्दाको अङ्ग पुग्न कति समय लाग्ला ? नियमित सुनुवाइ र सबै प्रक्रिया पूरा गर्न पनि करिब ३ महिना लाग्छ । तर ललितपुर जिल्ला अदालतले बलात्कारको एक मुद्दामा फैसला सुनाउन यति हतार गरेको छ कि पहिलो सुनुवाइमा नै आरोपितलाई सफाइ दिने गरी फैसला सुनाइएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले प्रतिवादीलाई सफाइ दिन मुद्दामा अङ्ग नै नपुगी हतारमा फैसला गरिएको पाइएको छ । न्यायाधीश आचार्यले इजलासमा बस्न पाउने करिब करिब अन्तिम दिनमा हतारमै फैसला सुनाएको पाइएको हो ।
ललितपुर जिल्ला अदालतमा गत पुस २३ गते दर्ता भएको जबरजस्ती करणीको मुद्दामा जिल्ला न्यायाधीश आचार्यले पेसी सार्न नपाइने र तोकिएको मितिमै बकपत्र हुनुपर्ने भनी आदेश गरी त्यसको केही समयमै फैसला समेत सुनाएका हुन् । अदालतले प्रतिवादीलाई सफाइ हुने गरी सुनाइएको फैसलामा मुख्य साक्षीलाई बकपत्रको मौकासमेत दिइएको छैन भने मुद्दाले अस्वाभाविक द्रुत मार्ग पाएको छ । ८ पटक पेसीमा चढेको उक्त मुद्दामा थुनछेक आदेशमा एक पटक बहस भएको थियो भने पूर्ण सुनुवाइमा परेको दिनमै फैसला सुनाइएको हो ।
पहिले ललितपुर जिल्ला अदालतमा चलेको जबरजस्ती करणीको मुद्दा के हो त्यो बुझौँ ।
२०८१ मंसिर २७ गते आफ्नी कान्छी छोरीलाई आफ्नो जेठी छोरीको बुढा अर्थात् ज्वाइँले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी आयो । जाहेरी दिने व्यक्ति थिए पीडित नाबालिगका बुवा अर्थात् जावालाखेल १८ क ।
जाहेरीको ब्यहोरा यस्तो थियो ।

‘म जाहेरवालाको श्रीमतीसहित नाबालिग छोरी ललितपुर जिल्ला, ललितपुर महानगरपालिकाको सातदोबाटो स्थितको सिभिल होममा राखी निज छोरी वर्ष १३ की नाम परिवर्तित २०८१।०८२ जावलाखेल १८ लाई ललितपुर जिल्ला सानेपा स्थितको स्कुलमा कक्षा ८ मा पढाउँदै आएको अवस्थामा मेरो श्रीमती चितवन जाने भई छोरीलाई सौतेनी दिदी ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपा स्थित अपार्टमेन्टको दोस्रो तल्लामा बस्दै आएकी परिवर्तित नाम २०८१।०८२ जावलाखेल १८ (ग) को जिम्मामा छाडी श्रीमती चितवन गएकी अवस्थामा मिति २०८०।०९।१३ गते बेलुकाको समयमा सौतेनी दिदी परिवर्तित नाम २०८१।०८२ जावलाखेल १८ (ग) ले आफू सुत्ने खाट सबै मलाई चाहिन्छ तँ प्रतिवादी भिनाजु परिवर्तित नाम २०८१।०८२ जावलाखेल १८ (घ) सुत्ने खाटमा सुत्नु भनी पठाएकीमा उक्त राती अन्दाजी २३ बजेको समयमा मेरो छोरीले खोक्दा निज भिनाजुले मसाज गरिदिन्छु भन्दै मसाज गर्दाकै अवस्थामा छोरीले इन्कार गर्दा गर्दै जबरजस्ती तरिकाले कपडा खोली स्तनमा सुमसुम्याउँदै चुस्न लागेकै अवस्थामा आफ्नो पेन्ट तथा छोरीको पेन्टी समेत खोली छोरीको ….. छोरीलाई जबरजस्ती करणी गरेकोमा यो कुरा कसैलाई नभन्नु, भनेमा राम्रो हुने छैन भनी धम्की दिएको हुँदा प्रतिवादी निज परिवर्तित नाम २०८१।०८२ जावलाखेल १८ (घ) लाई जबरजस्ती करणी मुद्दामा कानुन बमोजिम कारबाही गरी क्षतिपूर्ति समेत दिलाई पाउँ ।’
आफ्नै भिनाजु नाता पर्ने व्यक्तिले वर्ष १३ की बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि ललितपुर प्रहरीले तत्काल कानुनी प्रक्रिया पूरा गरी त्यसको भोलिपल्ट अर्थात् २०८१ मंसिर २८ गते प्रतिवादी भारत उत्तर प्रदेश सोनभद्र डिस्ट्रिक्ट राबट्सगञ्ज थाना वार्ड नम्बर ६ स्थायी ठेगाना भई ललितपुर महानगरपालिका २ सानेपामा अपार्टमेन्ट भाडामा लिई बस्ने जलान थर भएका ३३ वर्षीय अभिनव (परिवर्तित नाम) लाई पक्राउ गर्यो । उनी आफूलाई नेपालमा बाल्ट्रा ब्रान्डको आधिकारिक डिलरको धनीका रूपमा चिनाउँथे । पक्राउपछि अभिनवले घटनामा इन्कारी बयान दिए पनि उक्त समयमा पीडित आफूसँग रहेको स्वीकार गरे ।

अभिनव पक्राउ परेपछि दुई दिन हिरासतमा बसे पनि त्यसपछि भने बिरामी भएको भन्दै हिरासतको सबै समय अस्पतालमै बिताए । प्रहरीले उक्त घटनाका आरोपित अभिनव, उनकी श्रीमती, अभिनवकी सासू अर्थात् पीडित नाबालिगकी आमा, अभिनवकी सासूको पहिलो श्रीमान् पट्टिबाट जायजन्म भएकी कान्छी छोरी अर्थात् पीडितकी सौतेनी दिदी तथा घटनाबारे थाहा पाएका शोभा बानिया र शिखा गुरुङसँग पनि कुराकानी गर्यो । साथै पीडित नाबालिकासँग पनि घटनाको सम्बन्धमा सरकारी वकिलको सामुन्ने बयान लियो ।
पीडित नाबालिगले दिएको बयानका ब्यहोरा यस्तो छ ।
‘जाहेरवाला हाल नाम परिवर्तित २०८१।०८२ जावलाखेल १८ (क) मेरो बुवा हुन् भने प्रतिवादी हाल नाम परिवर्तित २०८१।०८२ जावलाखेल १८ (घ) मेरो भिनाजु (सौतेनी) हुन् । मेरो बुवा तथा आमा विदेश बेलायतमा बस्ने भएकोले मेरो जन्म नै बेलायतमा भएकोले मैले बेलायतमै पढ्दै आएको थिएँ । त्यस्तै क्रममा नेपालमा अध्ययन गर्ने भनी सन् २०२२ को मे महिना अर्थात् वि.सं. २०७९ सालको वैशाख महिनामा म, बाबा (बुवा) र आमा समेत नेपाल आएकोमा बाबा (बुवा) केही अवधि नेपाल बसी म र आमालाई ललितपुरको सातदोबाटोस्थित रहेको सिभिल होममा राखी बुवा विदेश (बेलायत) फर्कनुभयो । मैले कक्षा ७ मा काठमाडौं हात्तीगौंडा स्थितमा भर्ना भई पास भई ललितपुर खुमलटारस्थित रहेको युलेन्स स्कुलमा कक्षा ८ मा भर्ना भई पढ्दै रहेको अवस्थामा मेरो आमाको काम विशेषले चितवन जानु पर्ने भएको र तत्काल मलाई सन्चो नभएकोले म चितवन नजाने भएपछि तत्काल मेरो सौतेनी दिदी–भिनाजु ललितपुरको सानेपास्थित रहेको अपार्टमेन्टमा बस्ने भएकोले मलाई सोही स्थानमा छाडी आमा मिति २०८०।०९।१३ गते भन्दा २।३ दिन अगाडी चितवन जानु भयो । म, दिदी भिनाजु सँगै ललितपुरको अपार्टमेन्टमा बसेँ । म छुट्टै कोठामा सुत्थेँ भने दिदी भिनाजु छुट्टै कोठामा सुत्नुहुन्थ्यो । मिति २०८०।०९।१३ गते म आफ्नै कोठामा सुतिरहेको अवस्थामा राती अन्दाजी ९।१० बजेतिर भिनाजुले हातमा रक्सीको गिलास लिई आउनु भई म सुतेकै बिस्तारामा सिरकभित्र पसेकाले म दिदीसँग सुत्न भनी दिदीको कोठामा जाँदा तँ तेरै कोठामा सुत भनेकाले बेडमा गई ल्यापटपमा फिल्म हेर्दै गर्दा तत्काल मलाई खोकी लागि राखेको र सोही बखत अर्थात् अन्दाजी २३:०० बजेतिर समेत मलाई धेरै खोकी लागेकोले खोक्दै गर्दा निज भिनाजुले मलाई मसाज गर्दिन्छु भन्ने बहाना गर्दै मेरो घाँटी, छाती हुँदै मेरो स्तन समेतमा चलाउने, थिच्ने गर्न थाल्नुभयो, मैले नचलाउनु भन्दा पनि निजले तिमीलाई सन्चो हुन्छ भन्दै निजले सुरुमा मैले माथि लगाएको कपडाभित्र हात हाल्दै चलाउनु भएकोमा पछि कपडा सारी मेरो …..मुखले समेत चुसी मैले शरीरको तल्लो भागमा लगाएको कपडाभित्र हात हाली निजको ….. मेरो पिसाब गर्ने अङ्ग … ….. बाहिर भित्र गरेको, सो घटनाको बारेमा आमा तथा ममीसँगै आउनु भएको अर्की दिदी हाल नाम परिवर्तित २०८१।०८२ जावलाखेल १८ (ङ) लाई समेत बताउँदा घटनाको बारेको कोही कसैसँग कुरा नगर्नु भन्नु भयो । यसरी निज भिनाजुले म माथि जबरजस्ती करणी गरेको हुँदा निजलाई कानुन बमोजिम कारबाही गरी उचित क्षतिपूर्ति समेत दिलाई पाउँ ।’
त्यसपछि प्रहरीले पीडितकी आमासँग पनि कुराकानी गरी बयान लियो । तर पीडित १३ वर्षीय नाबालिगकी आमाले भने पीडित छोरीप्रति होइन, आफ्नो पूर्व पतितर्फकी जेठी छोरीका श्रीमान् अर्थात् ज्वाइँ रहेका घटनाको आरोपितको पक्षमा बयान दिइन् । पीडितकी आमाले आफू सो समयमा चितवन गएको तथा छोरीलाई छोरी ज्वाइँसँग छाडेको स्वीकार गरे पनि घटना नै नभएको र छोरीले त्यस सम्बन्धमा नबताएको बताइन् । बरु आफू र श्रीमानबिच विवाद भएको कारण श्रीमानले छोरीलाई उचालेर मुद्दा दिन लगाएको उल्टै आरोप लगाइन् ।
यता घटनाबारे थाहा पाएका व्यक्तिहरू भन्दै प्रहरीले नाबालिग पढ्ने विद्यालय युलेन्स स्कुलकी संयोजक शिखा गुरुङ र नाबालिगकी साथीको आमा शोभा बानियासँग पनि बयान गरायो ।
उनीहरू दुवैले घटनाबारे करिब १० महिना अगाडि (२०८० माघमा) थाहा पाएको बताए । घटनाबारे पीडितबाटै थाहा पाएपछि आमालाई भनेर दोषीलाई कारबाही गर्नुपर्छ भन्दा आमालाई भनिसकेको तर आमा र दिदीले पिटेको भन्ने जवाफ पाएको बताए । यस्तो कुरा प्रहरीलाई भन्नुपर्छ भनेर नेपाल सरकारका साक्षी समेत रहेका शोभा बानियाले आमाको नम्बर देऊ म कुरा गर्छु भन्दा आमाले कसैलाई भनिस् भनेर मारिदिन्छु भनेका छन्, ममीलाई फोन नगरिदिनु भनेकाले आफूले अन्य केही गर्न नसकेको बयान दिएकी छिन् ।
त्यसै गरी स्कुलकी संयोजक शिखा गुरुङले पनि प्रहरीमा दिएको बयानमा पीडित नाबालिगले घटनाका सम्बन्धमा आफूलाई बताएको, ममीलाई भन्यौ कि भनेनौँ, तिमीले भन्न नसके म भनिदिन्छु भन्दा मैले आफ्नो ममी र दिदीलाई सो कुरा भनेको र निजहरुले यस्तो कुरा अरूलाई भन्नुहुन्न भनी उल्टै गाली गरेको भन्ने जवाफ दिएको कुरा उल्लेख गरेकी छिन् । त्यति बेला पीडित नाबालिगले भिनाजुले मोलेस्ट गरेको भनी भनेको तर जाहेरीमा उल्लेख भएको जस्तो स्पष्टरुपमा के के गर्नुहुन्छ भनी नभनेको र पीडितको आमालाई पनि थाहा भइसकेको कारण उताबाट कारबाही प्रक्रिया भयो होला भनी आफूले थप विषय नखोजेको र त्यसको केही समयमा नै उनी बेलायत फर्किएको बयान दिएकी थिइन् ।
यसरी घटनाहरूको फेहरिस्त केलाउँदै प्रहरीले २०८१ पुस २२ गते ललितपुर जिल्ला अदालतमा प्रतिवादी अभिनव जलान (परिवर्तित नाम) विरुद्ध जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गर्यो ।

प्रतिवादीको तर्फबाट बार अध्यक्ष सहित १० वकिलको प्रतिरक्षा
त्यसको भोलिपल्ट अर्थात् २०८१ पुस २३ गते उक्त घटनाको थुनछेक प्रयोजनका लागि प्रतिवादीको बयान र आदेशका लागि एक नम्बर न्यायाधीश ऋषिराम आचार्यको इजलासमा पेसी तोकियो । पुस २३ गते बकपत्र र थुनछेक बहस नसकिएपछि पुस २४ गतेका लागि उक्त मुद्दा हेर्दाहेर्दैमा राखियो । त्यति बेला उक्त मुद्दामा बहसका लागि वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता लोक बहादुर कटवाल तथा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता चन्डेश्वर श्रेष्ठ तथा अधिवक्ताहरू प्रकाश रावल, तारा प्रसाद लामिछाने, गोकुल भण्डारी, विपिन सुवेदी र लाल बहादुर रावलले बहस गरे भने प्रतिवादीका तर्फबाट नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे तथा अधिवक्ताहरू सुजित केसी, राजेन्द्र अधिकारी, राज कुमार श्रेष्ठ, उद्धव कुमार कार्की, किशोर सापकोटा, ज्ञान दर्शन भट्टराई, बाबुराम भट्टराई, हुम बहादुर खत्री र विवेक कुमार ठाकुर गरी प्रतिवादीका तर्फबाट मात्रै १० जनाले बहस गरे ।
अदालतमा पेस भएको मिसिलको अध्ययन तथा बहस सुनिसकेपछि न्यायाधीश ऋषिराम आचार्यले पुस २४ गते चार पृष्ठ लामो आदेश गर्दै तत्काल ‘प्राप्त प्रमाणबाट प्रतिवादीलाई निर्दोष मान्न मिलेन’ भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए ।
तर न्यायाधीश आचार्यले उक्त मुद्दा निरन्तर सुनुवाइ गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै जाहेरवाला, पीडित, नेपाल सरकारका साक्षीहरूलाई २०८१ पुस २८ गते तथा पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई पुस २९ गते बकपत्रको लागि उपस्थित गराउनु भन्दै मिति नै तोकेर आदेश भयो । उक्त आदेशमा बकपत्र सम्पन्न भएपछि माघ ६ गतेका लागि पूर्ण सुनुवाइका लागि पेस गर्नु भन्ने आदेश भयो ।

जबरजस्ती करणीको मुद्दामा यसरी अदालतले थुनछेक बहस सकिएको ५ दिनभित्रै सबै साक्षी बुझेर बकपत्रका लागि बोलाउनु र त्यसको एक सातापछि नै पूर्ण सुनुवाइको मिति तोकिनु नै ट्रायल कोर्ट अर्थात् जिल्ला अदालतकै इतिहासमा सम्भवतः पहिलो घटना र आदेश थियो ।
अदालतले नै मिति तोकेर बकपत्रका लागि बोलाए पनि आफूहरूलाई असुरक्षा रहेको भन्दै जाहेरवाला र पीडित नाबालिग बेलायत गइसकेका थिए । यता सरकारी वकिलले पीडितको विपक्षमा बयान दिने पीडितकी आमा तथा दिदीहरूलाई समेत सरकारी साक्षीका रूपमा प्रस्तुत गरेको थियो भने पीडितले बताएर घटनाबारे थाहा पाउने पीडितकी विद्यालयकी संयोजक र साथीको आमा पनि सरकारी साक्षी थिए ।

अदालतले मिति नै तोकेर बकपत्रका लागि बोलाएपछि पीडितकी आमा तथा दिदीहरू तथा पीडितकी साथीको आमा बकपत्रका लागि पुस २८ गते अदालत पुगे । तर जाहेरवाला र पीडित विदेशमा रहेको कारण आउन पाएनन् । यद्यपि पुस २८ गते नै सबैको बकपत्र नभएपछि शोभा बानियाको बयान २०८१ पुस २९ गते भयो भने जाहेरवाला र पीडितले भिडियो कन्फरेन्समार्फत् बकपत्र गरिपाऊँ भनी निवेदन दिए । यहीबिचमा पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको पनि बकपत्र भयो ।
साक्षीको बयान नलिई फिर्ता पठाइयो
अदालतले तोकेको दिन अर्थात् पुस २८ र २९ भित्रै बकपत्र सकाउने भनेपछि पीडितले घटना विवरण बताएको थाहा पाउने युलेन्स स्कुलकी संयोजकलाई पनि प्रहरीले फोन गरी बकपत्रका लागि बोलाएको थियो । तर पुस २८ गते आइतबार आफ्नो व्यक्तिगत कामले समयमै अदालतमा उपस्थित हुन नसकेकी उनी साँझ करिब ५ बजे अदालत पुगेकी उनको बकपत्र ढिलो भएको भनी गरिएन र अर्को दिन बोलाउने भन्दै फिर्ता पठाइयो ।
न्यायाधीशलाई फैसला गर्नमै हतारो
सबै कर्मकाण्ड पूरा गरी माघ ६ गते नै उक्त मुद्दा टुङ्ग्याउने न्यायाधीशको चाहना भए पनि जाहेरवाला र पीडितले भिडियो कन्फरेन्समार्फत् बकपत्र गरिपाऊँ भनी निवेदन दिएपछि न्यायाधीश आचार्यको योजनामा केही धक्का लाग्यो । न्यायाधीश आचार्यलाई यो मुद्दा ढिलोमा माघ १५ गतेभित्रै टुङ्ग्याउनु थियो । किनभने ६३ वर्षको उमेर हदका कारण उनी २०८१ फागुन १६ गतेबाट अनिवार्य अवकाशमा जाँदै थिए भने त्यसको एक महिना अगाडिबाट मुद्दा हेर्न नपाउने व्यवस्था न्याय परिषद्ले गरेको थियो । माघ १६ गते पनि सहिद दिवसको बिदा परेको कारण उनी कुनै पनि हालतमा उक्त मुद्दा ढिलोमा माघ १५ गतेभित्रै टुङ्ग्याउन चाहन्थे ।

यहीबिचमा माघ १० गते न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा जाहेरवाला र पीडितको भिडियो कन्फरेन्समार्फत् बकपत्र गराइयो । त्यसपछि माघ १३ गते पूरक पेसीमार्फत न्यायाधीश आचार्यकै इजलासमा उक्त मुद्दाको पेसी तोकियो ।
माघ १३ गतेको पेसीमा वादी नेपाल सरकारका तर्फबाट उपस्थित सरकारी वकिल तथा जाहेरवालको तर्फबाट उपस्थित कानुन व्यवसायीले पनि साक्षी बुझ्नै बाँकी रहेको र विद्यालयकी शिक्षकको बकपत्र बाँकी रहेको भन्दै त्यही आदेश गर्न माग गरे । न्यायाधीश आचार्यले त्यसका लागि पनि समय रहेको र सुनुवाइचाहिँ गरौँ भन्दै सुनुवाइ सुरु गरे ।
न्यायाधीशले साक्षी बुझ्ने आदेश गर्लान् भन्ने अपेक्षा गरेका सरकारी वकिल तथा जाहेरवाला तर्फका कानुन व्यवसायीहरू त्यति बेला छक्क परे जब न्यायाधीशले सोही दिन फैसला सुनाउँदै आंशिक दाबी पुग्ने ठहर गरे ।

जबरजस्ती करणीको मुद्दामा महत्त्वपूर्ण मानिएका साक्षी नै नबुझी फैसला गर्न हतारिएका न्यायाधीश आचार्यले आंशिक दाबीमा के फैसला सुनाए भन्ने कौतुहलता भएपछि अदालत पुगेका पीडित र जाहेरवालाका कानुन व्यवसायी त्यति बेला छक्क परे, जब न्यायाधीशले संक्षिप्त आदेश दिँदै प्रतिवादीलाई थुनामुक्त गर्ने आदेश दिए ।
ललितपुर जिल्ला अदालतका स्रेस्तेदार शैलेन्द्र खड्काका अनुसार उक्त मुद्दामा बाल यौन दुरुपयोग ठहर गर्दै ४५ दिन कैद र २५ हजार जरिवाना तथा पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाइयो । जुन दिन फैसला सुनाइएको थियो, त्यस दिन प्रतिवादी पक्राउ परेको ४५ दिन मात्रै पुगेको थियो ।
यसरी ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले आफू अनिवार्य अवकाशमा जान बिदामा बस्नै पर्ने दुई दिन अगाडि साक्षी नै नबुझी हतार हतारमा प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएका छन् । प्रतिवादीले जबरजस्ती करणीको अभियोग दाबीबाट सफाइ पाइ बाल यौन दुरुपयोग मात्रै ठहर भएकाले प्रतिवादी अभिनव जलान कारागारबाट मुक्त भइसकेका छन् ।
अभियुक्तले द्रुत मार्गबाट सफाइ पाउनु, पीडितको साक्षी बुझ्ने कार्य पनि पूरा नहुनु र स्वच्छ सुनुवाइको मौका समेत नदिई अभियुक्तलाई फाइदा पुग्ने गरी सफाइ दिएको भन्दै यति बेला पीडित तथा जाहेरवाला थप मर्माहत भएको लोकपथसँगको कुराकानीमा बताएका छन् । लोकपथसँग भिडियो कन्फरेन्समा करिब एक घण्टा कुराकानी गर्दै जाहेरवाला तथा पीडितले यो मुद्दामा गम्भीर कैफियत रहेको र न्यायाधीशलाई फैसला गर्नमा हतार हुनुमा शङ्का गर्ने प्रशस्त ठाउँ रहेको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया