काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३०औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले हजारौँ शहीदहरुको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ वर्षसम्म रहने दाबी गरे ।
उनले कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै मेटाउने दुःसाहस गर्नेहरु खरानी हुने बताए । उनले जनयुद्ध दिवस जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस भएको बताए । जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रूपमा अगाडि लैजानुपर्ने बताए । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक प्रयासहरु भएको भन्दै जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रूपमा स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताए ।
जनयुद्धमाथि अहिले पनि प्रहार भइरहेको पनि बताए । अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको बताए । उनले प्रतिक्रियावादी शक्तिहरूले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेक गतिविधि गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया