प्रधानमन्त्री ओलीले फेरि भने : ‘माओवादी जनयुद्ध होइन हिंसा नै हो’

लोकपथ
378
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्ष जनयुद्ध नभएर हिंसा भएको पुनः दोहोर्‍याएका छन् । सिंहदरबारमा आज आइतबार प्रजातन्त्र दिवसको सन्दर्भमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा दोहोर्‍याएका हुन् ।

प्रजातन्त्र दिवसको सन्दर्भमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री आलीले भने, ‘यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।’

माओवादीले फागुन १ गते ३० औं ‘जनयुद्ध दिवस’ मनाउँदै छ । सो मिति नजिकिँदै गर्दा ओलीको यो भनाइ आएको हो । माओवादीले भन्ने गरेको ‘जनयुद्ध’ शव्दलाई एमालेले हिंसा भनेर भन्दै आएको छ । गत वर्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सरकारी तवरमै बिदा दिइएको थियो ।

आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरे । उनले भने, ‘यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ ।’त्यसैगरी उनले निरंकुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमासमेत मनाउन आग्रह गरे ।

प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू एवं राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?