जसपा नेपाल संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे कार्यदलको प्रतिवेदन छलफलको एजेन्डा 

लोकपथ
203
Shares

काठमाडौं । अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक अहिले बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । 

जसपा नेपालका सांसद दीपक कार्कीका अनुसार अध्यादेशबारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमाथि छलफलका लागि संसदीय दलको बैठक बस्न लागेको हो । 

जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलले गत मंगलबार र बुधबार गरेर १० जना विज्ञसँग छलफल गरेको थियो । प्रतिवेदनउपर गत शुक्रबार समेत छलफल भएको थियो । तर, त्यस दिन  संघीय संसद्को दुवै सदनको कार्यसूचीबाट अध्यादेश अगाडि बढाउने कार्यक्रम हटाइएको भनेर कुनै निर्णय गरेको थिएन ।

आज आइतबार पनि दुवै सदनको बैठक बस्दै छ । आजको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश अगाडि बढाउने कार्यक्रम भने समावेश छैन । 

५९ सदस्यीय राष्ट्रिय सभामा सामान्य बहुमतका लागि ३० सांसद चाहिन्छ । तर, सत्तापक्ष कांग्रेसका १६, एमालेका १० र लोसपाका १ गरी २७ सांसद मात्रै छन् । मनोनीत सांसद अञ्जान शाक्यले पनि सरकार पक्षलाई नै साथ दिने निश्चित भएकाले सत्ता पक्षसँग २८ सांसद पुग्ने देखिन्छ । वामदेव गौतम, अञ्जन शाक्य र नारायण दाहाल मनोनीत सांसद हुन् । उनीहरूलाई ह्विप लाग्दैन । वामदेवले अध्यादेशमा नसघाउने प्रस्ट पारिसकेका छन् ।

उता, अध्यादेशबारे उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल अनिर्णीत भएपछि सत्तारूढ दलले प्रमुख विपक्षी दल माओवादी केन्द्रको साथ खोजेको छ । ‘विज्ञसँग सल्लाह गरिरहेको नाममा जसपा नेपालले अध्यादेशबारे निर्णय गर्न ढिलाइ गरिरहेको’ भन्दै सत्तारूढ दलले माओवादी केन्द्रको साथ खोजेको हो ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमालेले सहयोग मागेको खुलासा गरेका छन् । एमालेका महासचिव शंकर पोखरेलले ‘आफूलाई फोन गरी अध्यादेश पारित गर्न सहयोग मागेको’ उनी बताउँछन् । पुनले ‘आफू पाल्पामा पार्टी कामको सिलसिलामा रहेको बेला एमाले महासचिव पोखरेलले टेलिफोन गरी अध्यादेशमा सघाउन’ आग्रह गरेको दाबीसमेत गरे । गुल्मी चन्द्रकोट गाउँपालिकाको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले ‘अध्यादेश पारित गर्न पोखरेलले आफूसँग सहयोग मागेको तर गर्न नसक्ने जवाफ फर्काएको’ उल्लेख गरे ।

‘दुई तिहाइको दुहाइ दिने सरकारले अध्यादेशबाट शासन गर्न खोजेको छ । संविधान संशोधनको सहमति गर्दा दुई तिहाइ छ भनेर हामीलाई बाइपास गर्न खोजियो । राष्ट्रिय सभामा बहुमत नभएपछि अहिले सत्तारूढ दलका साथीहरू हारगुहार गर्दै हुनुहुन्छ,’ पुनले भने, ‘अस्तिसम्म हामीसँग दुई तिहाइ छ भनेर धाक लगाउँदै हिँड्नुभएको थियो । दुई दलीय व्यवस्थामा लान्छौँ भन्ने हुंकार पनि गर्नुहुन्थ्यो । अहिले सहयोग गर्नुहोस् भनेर अनुरोध गर्ने ठाउँमा पुग्नुभएको छ ।’

प्रतिनिधिसभामा कांग्रेस र एमालेको स्पष्ट बहुमत छ । तर, राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत छैन । जसपाका राष्ट्रिय सभाका ३ सांसदले सत्तारूढ दललाई समर्थन नगरे सरकारले ल्याएको अध्यादेश पारित हुन नसकी निष्क्रिय हुने अवस्था छ । त्यसैले पनि सरकारले राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल माओवादीको साथ खोजेको हो ।

सत्तारूढ दलले माओवादीको साथ खोजिरहेको बेला जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले भने अध्यादेशको बारेमा निर्णय गर्न आफूहरूलाई कुनै किसिमको हतारो नभएको बताएका छन् ।

‘हामीलाई कुनै किसिमको हतार छैन । पार्टीले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन बुझाएपछि अहिले हामी विज्ञहरूसँगको छलफलमै छौं । सरकारले त निर्णयार्थ पेस गर्ने भनेर संसद्को कार्यसूचीबाटै हटायो भने हामीलाई के को हतार ?,’ सुमनले भने, ‘विज्ञसँग छलफल गर्दै छौं । सरकारले निर्णयार्थ संसद्को कार्यसूचीमा राखेकै दिन हामी आफ्नो निर्णय सार्वजनिक गर्छौँ ।’

सरकारले केही दिनअघि सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी, निजीकरण ऐन–२०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । राष्ट्रपतिबाट जारी भइसकेका ती अध्यादेश सरकारले गत १८ माघमा हिउँदे अधिवेशनको पहिलो बैठकमै प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेस गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?