सरकारले नीतिगत र कानुनी सुधारमा काम गरिरहेको छ : गृहमन्त्री लेखक

लोकपथ
56
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुनी सुधारमा सरकारले काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार गठन भएको ७ महिनामा सरकारले आफ्ना काम, लक्ष्य, उद्देश्यहरू र क्रियाकलापहरूलाई प्राथमिकीकरणमा काम गरिरहेको बताए । उनले गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐन तर्जुमा गरेर संसदमा दर्ता गराएको बताए ।

उनले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी ऐन पनि समयसापेक्ष रूपले तर्जुमा गर्ने गरी मस्यौदा प्रतिनिधि सभामा प्रस्तुत भइसकेको उल्लेख गरे । आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने गरी सरकारले नेपाली नागरिकता ऐनमा समय सापेक्ष संशोधन गर्ने गरी संसदमा विधेयक दर्ता गराएको बताए ।

अध्यागमन ऐनमा समय सापेक्ष रूपले संशोधन गर्ने गरी सरकार अघि बढिसकेको बताए । गृहमन्त्री लेखकले नेपाल प्रहरीको नयाँ विधेयकमा देखिएका कमी कमजोरी पहिचान गरेर सुझाव दिए अझै संसदबाट परिमार्जन गरेर जान सकिने बताए । उनले अहिलेको मस्यौदाले प्रहरी संगठनलाई ७० वर्ष पछि लगेको भन्ने भ्रम फैल्याइएको बताए । अहिलेको सरकारको पहिलो प्राथमिकता शान्ति सुरक्षा भएको उनको भनाइ छ  । 

गृहमन्त्री लेखकले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी र विश्वसनीय बनाउन र संविधानको प्रतिनिधित्वलाई पनि कानुनमा सुनिश्चित गर्न निर्वाचन सम्बन्धी ऐन पनि अगाडि बढाइएको जानकारी दिए ।

जग्गा प्राप्ति सम्बन्धी ऐनले विकास निर्माणका कामहरूलाई द्रुत गतिमा अगाडि लैजान केही ढिलासुस्ती भएकाले त्यो जटिलता फुकाउन जग्गा प्राप्ति ऐनमा समय सापेक्ष संशोधन गर्न सरकार अघि बढिसकेको बताए । संघ, संस्था दर्ता, अनुगमन, नवीकरण, खारेजी सम्बन्धी लगायतका विषयहरू समयसापेक्ष बनाउन नयाँ कानुन बनाउन पनि सरकार अघि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?