काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् । शनिबार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको विरोध पनि गरे ।
उनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिष्ट पार्टीहरू मिलेर बनेको सरकार ढालेर कांग्रेससँग मिलेर सरकार बनाएको बताए । उनले प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा माओवादी केन्द्रका अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको बताए । उनले प्रधानमन्त्री ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी गरे ।
प्रधानमन्त्री ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभई सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएको आरोप लगाए । साथै उनले नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरू तयार रहेको बताए । संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिए ।
अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताए । माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको जिकिर गरे । नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफूहरू तयार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया