काठमाडौं । घरेलु मैदानमा भएको थाइल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी– २० क्रिकेट श्रृंखलामा नेपाल जितविहीन भएको छ ।
त्रिकोणात्मक श्रृंखलाको आफ्नो अन्तिम तथा छैटौँ खेलमा पनि शुक्रबार थाइल्याण्डसँग सात विकेटले पराजित भएसँगै नेपाल जितविहीन भएको हो । यो जितसँगै थाइल्याण्ड त्रिकोणात्मक टी–२० श्रृंखलाको च्याम्पियन भएको छ ।
थाइल्याण्डले श्रृंखलाको पाँच जित र डच टोलीले चार जित र दुई हार सामना गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पनि खराब ब्याटिङ सामना गरेपछि नेपालले हार सामना गर्नुपर्यो ।
नेपालले ८३ रनको झिनो लक्ष्य दिएको थियो । जबाफमा थाइल्याण्डले १७ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । थाइल्याण्डको जितमा कप्तान नारुइमोल चाइवाइले सर्वाधिक २७ रन बनाइन् ।
उनले अविजित रहँदै ३४ बलमा दुई चौका हिर्काइन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी नान्नापात कोन्चारोइन्काईले २३ रन जोड्दा ओपनर नाताया बुचाथमले ११ रनको योगदान गरिन् । सामान्य लक्ष्य पाएको थाइ टोलीले सुरुदेखि नै सहजै ब्याटिङ गर्यो । दोस्रो ओभरमा नै नेपालले पहिलो विकेट लिए पनि झिनो लक्ष्य जोगाउन सकेन । नेपालले ६ बलर प्रयोग गरे पनि सफलता पाउन सकेन ।
कप्तान इन्दु बर्माले दुई तथा पूजा महतोले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै ८१ रनको सामान्य योगफल खडा गर्यो ।
सुरुदेखि नै सुस्त ब्याटिङ गरेको नेपालका लागि राम्रो साझेदारी नै बन्न सकेन । ओपनर सम्झना खड्काको १७ रन नै सर्वाधिक व्यक्तिगत योगफल रह्यो ।
उनले २९ बलमा एक चौका हिर्काइन् । मध्य क्रमका ब्याटर कविता जोशीले १४ रन र कप्तान ईन्दुले १० रनको योगदान गरिन् ।
अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन असफल रहे । थाइल्याण्डको बलिङमा ओनिचा कामचोम्फुले सर्वाधिक तीन विकेट लिइन् । उनले चार ओभरमा १५ रन खर्चिइन् । चानिदा सुथिरुवाङ, नाताया र सुलिपोर्न लाओमीको नाममा समान एक विकेट रह्यो । यसअघि नेपालले नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेट तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया