काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा सत्ता र प्रतिपक्ष दलका सांसदहरूले ऊर्जामन्त्री दीपक खड्कालाई जलविद्युत आयोजनाका विषयलाई लिएर प्रश्न गरेका छन् ।
शुक्रबार ऊर्जा मन्त्रालयको काम कारबाहीका विषयमा जानकारी लिन बसेको समिति बैठकमा ऊर्जा मन्त्रीलाई जलविद्युत आयोजनाहरूका विषयलाई लिएर प्रश्न गरेका हुन् ।
सांसदहरूले मन्त्री खड्कालाई जगदुल्ला जलविद्युत आयोजना ठेक्का र किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीका विषयमा प्रश्न गरेका छन् । समितिमा मन्त्री खड्कालाई सत्ता पक्षका सांसदहरूले समेत मन्त्रालयले गरेका कामको विषयमा आलोचना गरेका छन् ।
समिति बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद गोकर्ण विष्टले किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर बिक्रीका विषयमा मन्त्री खड्काको नियत राम्रो नभएको बताए । उनले आयोजना निर्माणका लागि लगानी साझेदारी गर्ने सम्बन्धी कार्यविधि बनाउँदा नै सेटिङ भएको देखिएको बताए । उनले विद्युत् उत्पादन कम्पनीका लगानीकर्ताहरूलाई जानकारी छ की छैन ? भन्दै प्रश्न गरे । उनले मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने अवस्था हुन्छ तर ऊर्जा मन्त्रीको प्रबन्ध पत्रलाई टेकेर धेरै काम गरेको देखिएको बताए ।
नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर बेच्ने प्रक्रिया अगाडि बढाइनु नै शंकास्पद भएको बताए । उनले रणनीतिक महत्वका आयोजनामा निःशुल्क बिजुलीको विषयमा केही उल्लेख नगरी निजी कम्पनीलाई शेयर बेच्ने विषय निक्कै गम्भीर भएको उल्लेख गरे । उनले ४४५ मेगावाटको किमाथांका अरुण र १९०२ मेगावाटको मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर बिक्रीका लागि मंसिर २३ गते आशयपत्रमा शंका रहेको बताए । उनले मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर बिक्री गरेर कति पुर्याउन खोजेको हो ? भन्दै प्रश्न गरे । उनले सबै सञ्चालक सदस्यहरू सबै सहमति भएको छ वा छैन ? भन्दै अर्को प्रश्न गरे ।
नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले ऊर्जामन्त्रीले कुनै एउटा अमुक कम्पनीलाई शेयर बेच्ने सेटिङसहित आशयपत्र मागेको आरोप लगाए । उनले सरकारले कुनै सेटिङ र मिलेमतोमा आयोजना जिम्मा लगाउन नहुने उल्लेख गरे । सांसद ज्वालाले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा पनि मन्त्री खड्काको बद्नियत रहेको बताए । उनले जगदुल्ला आयोजना ठेक्काका लागि कमिसन खेल भएको बताए ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर बेच्ने योजनाबाट किन पछाडि हट्नुभयो ? भन्दै प्रश्न गरे । उनले मन्त्री खड्कामाथि दुई आयोजनाको शेयर सेटिङमा बेच्न खोजेको आरोप लगाए । उनले कार्यविधि सेटिङमा बनाइएको पनि उल्लेख गरे । उनले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा निर्माण कम्पनीलाई मन्त्रालयमा बोलाएर निर्माण कम्पनी छनोटमा हस्तक्षेप गरेको आरोप लगाए । उनले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पनि अख्तियारमा उजुरी परेपछि रद्द गर्न बाध्य भएको हो ? भन्दै अर्को प्रश्न गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया