काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ स्थित बीपी राजमार्गमा आज शुक्रबार बिहान पौने ५ बजे भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९६४२ नम्बरको ईभी कार सडकबाट झन्डै चार सय मिटर तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सुनिल चौरसियाले कार दुर्घटनामा दोलखाको गौरीशंकर घर भएका २८ वर्षीय सुशान्त नेपालीको घटनास्थलमै मृत्यु भएको बताए ।
दुर्घटनामा घाइते हुनेहरूमा इलामको देउमाई– ८ का ५३ वर्षीय सनबहादुर तामाङ, मोरङको लेटाङ– २ की ३४ वर्षीया देवी लिम्बू, काठमाडौंको कागेश्वरी मनोहरा– ५ की २८ वर्षीया श्वेता गिरी, सोही ठाउँमा २८ वर्षीय सञ्जय रोका र झापा बारादशी– १ का २७ वर्षीय तिस्कु मण्डल रहेका छन् । घाइतेमध्ये मोरङ लेटाङकी देवी लिम्बूको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परेको गाडीमा चालक को थिए खुलेको छैन । घाइते सबैको अहिले जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।
गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया