चितवन । रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
साथै अदालतले साहारा सहकारी ठगी प्रकरणमा संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको भन्दै ५४ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताए । धरौटी वा जमानत दिननसके कानून बमोजिम थुनामा राख्न पनि आदेश दिएको छ ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।
त्यसो त यसअघि नै लामिछानेलाई तीन अदालतले धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ । जिल्ला अदालत कास्कीले ६५ लाख, जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतमा समेत मुद्दा दर्ताको तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया