गगनको प्रश्न : जाजरकोट भूकम्प र असोजको बाढी प्रभावित नागरिकको गुनासो कहिले सुन्ने सरकार ?

लोकपथ
63
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्प र गत असोजको बाढीबाट भएको क्षतिका पुनर्निर्माणमा सरकार उदासीन बनेको टिप्पणी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद थापाले जाजरकोट भूकम्पको डेढ वर्ष हुँदा समेत पुनर्निर्माणको काम हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘जाजरकोट भूकम्पबाट क्षति पुगेका करिब ९२ हजार घरहरु पुनर्निमाण गर्नुपर्ने भन्ने तथ्यांक सार्वजनिक भएको थियो । पुनर्निर्माणत परको कुरा कतिपय घरहरुले दोस्रो किस्ता पनि पाएका छैनन् । उदेकलाग्दो कुरा त डीडीए भर्खर मात्र भएको छ,’ उनले भने ।

त्यस्तै गत असोजको बाढीबाट प्रभावित नागरिकको व्यवस्थापनमा राज्य चुकेको आरोप लगाए । उनले ती घरहरुको अस्थायी आवासका लागि अनुदान मंसिर मसान्तभित्रै दिने भनिए पनि सामान्य अनुदान समेत पाउन नसकेको नागरिकहरुले गुनासो गरिरहेको उनले बताए ।

‘असोजमा बगेका घरहरुको अस्थायी आवासका निम्ति अनुदान मंसिर मसान्तभित्र दिने भनेर राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले निर्णय पनि गर्यो । अझ कति पयले सामान्य अनुदान पनि राम्रोसँग नपाएको गुनासो रहेको छ,’ उनले भने ।

त्यस्तै असोजको बाढीले क्षति पुर्याएका सडकखण्डको अस्थायी व्यवस्थापनका लागि आवश्यक रकम कहाँबाट ल्याउने भन्ने सरकार नै अन्यौलमा रहेको बताए । त्यस्तै जाजरकोटको भूकम्पदेखि असोजको बाढीसम्म सरकारले के काम गरिरहेको छ भन्ने आफूहरु जवाफको प्रतिक्षामा रहेको समेत बताए ।

‘४१ वटा सडकखण्डको पुनर्निर्माणका लागि मात्र २५ अर्ब चाहिन्छ । यसरी हेर्दा हामीलाई करिबकरिब एक खर्ब रुपैयाँ चाहिन्छ । सरकारले बजेटमा छुट्टयाएको जम्मा २१ अर्ब छ । यो पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छैन । बर्खाको बेला बाटोहरु चल्छन् ?,’ उनले भने, ‘जाजरकोटको भूकम्प, गत असोजको बाढी यसका बारेमा गरिएका कामहरु भइरहेका स्र्रोत कसरी जुटाउने भन्ने बारेमा के सोचिएको छ यी सबै कुराहरुको बारेमा सदनलाई जानकारी गराइयोस् । हामी सुन्न पनि चाहन्छौँ, छलफलमा भाग लिन पनि चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?