रविमाथि ठगीको कसुर मात्रै मुद्दा चलाउने न्यायाधिवक्ता लुइँटेलको काज सरुवा, छानबिन समिति गठन

लोकपथ
1.8k
Shares

काठमाडौं । साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु गरिएको छ ।

रविलगायतमाथि मुद्धा दायर गरिएलगत्तै मंगलबार नै उनलाई महान्याधिवक्ताको कार्यालय काठमाडौंमा तानिएको थियो ।
सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिए पनि लुइँटेलको डेढ वर्ष नपुग्दै काज सरुवा गरिएको हो । उनले अघिल्लो वर्ष कात्तिक २० गतेदेखि चितवनमा जिम्मेवारी सम्हालेका थिए ।

उनको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका सरकारी वकिल रवि न्यौपानेलाई पठाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख तथा न्यायाधिवक्ता लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिन अघि बढाएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । उनले अभियोगपत्रको विषयलाई लिएर नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको पनि बताए ।

लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताएका थिए । अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ । यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?