ललितपुर । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमास्थित च्यासल खेल मैदान गत असोजमा आएको बाढीले बगरमा परिणत भएको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मत सम्भारका निम्ति तत्काल दुई करोड आवश्यक हुने बताएका छन् ।
च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर पूर्ण सुनदासले बताए । उनले भने,‘बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।’
च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बत्ताउँछन् ।
ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिए । दशरथ रङ्गशालाको विकल्पका रूपमा परिषद्ले २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया