निरोगी नेपाली बनाउनको लागि एचपीभी खोप अभियान : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
28
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताएका छन् । 

मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपीभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उनले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताए । उनले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति सुरुवात गरिएको दाबी गरे । 

उनले अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गर्ने बताए । उनले नेपालका धेरै महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मृत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरूले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उल्लेख गरे । 

उनले प्रत्येक दिन ६ जना महिला मृत्यु हुनेमा अहिले पनि चार जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको तथ्याङ्क रहेको उल्लेख गरे । 

उनले वर्तमान अवस्थालाई न्यूनीकरण  गर्नका निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका निरोधात्मक क्षेत्रमा सरकारले काम सुरु गरेको उल्लेख गरे । उनले एचपीभी खोप विश्वमा परीक्षण गरेर सफल भएको खोप भएकाले स्वास्थ्यमा कुनै पनि असर नगर्ने बताए । 

उनले सरकारले हरेक रोगको निरोधात्मक क्षेत्रमा काम गर्ने अभियानका रूपमा योजना बनाएर अघि बढेको बताए । उनले कक्षा ६ देखि १० सम्मका सबै छात्राहरूलाई खोप पुर्‍याउन सबैले सहयोग आवश्यक रहेको उनको भनाइ छ  । उनले विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई खोप उपलब्ध गराउनुपर्ने बताए । उनले यो खोप हरेक वर्ष कक्षा ६ देखि १० सम्मका किशोरीहरूलाई उपलब्ध गराउने बताए । १० देखि १४ वर्ष उमेर समूहको सङ्ख्या करिब १७ लाख रहेको भन्दै सबैलाई सरकारले खोप उपलब्ध गराउने उल्लेख गरे । सरकारले १७ लाख भन्दा बढी खोपको व्यवस्था गरिसकेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?