प्रधानमन्त्री ओलीले भने – ‘शहीदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ’

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् । 

राष्ट्रिय शहीददिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि संघर्ष गरेर बलिदान दिएका महान् शहीदहरूले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शहीदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे । 

उनले यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरू लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए । 

उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानासाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शृङ्खला अन्त्य भएको बताए । 

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको जनाए ।

‘हामीले लामो संघर्षबाट लोकतन्त्रको स्थापना गरेका छौँ । लोकतन्त्र भनेको अराजकता होइन । यो विकसित, सभ्य र सुशासनयुक्त प्रणाली हो । यदि व्यवस्थामा वा शासकहरुमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिन्छ तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य हुन सक्दैन, ‘प्रधानमन्त्री ओलीले भने, ‘देशको रक्षा, विकास र सुशासनका लागि यो सरकार अगुवाइ गर्न तत्पर रहेको छ । हामी शहीदले देखाएको मार्गमा सधैँ अविचलित रहनेछौँ ।’

कार्यक्रममा प्रतिनिधिसभाका उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, प्रतिनिधिसभाका उपसभामुख, प्रधानमन्त्रीका मुख्य सल्लाहकार,सरकारका मुख्यसचिव, प्रधानसेनापति, सचिवहरू र विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?