संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई सभापति देउवाको निर्देशन

लोकपथ
210
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्  । 

शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् । 

सभापति देउवाको भनाइ उद्धृत गर्दै बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद् र बाहिर प्रस्तुत हुँदा व्यक्तिगत नभई पार्टीको रूपमा आफ्ना धारण राख्न निर्देशन दिएको बताए ।

बैठकमा मन्त्रीहरूले सरकारमा भएका काम, कारबाहीबारे जानकारी गराएको उनले बताए । उनकाअनुसार बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन रूपमा छलफल भएको छ । 

नेपाली कांग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने निर्णय भएको बताए । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राखेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?