काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यबाटै निकालेपछि भीम रावलले भेटघाटलाई तीव्रता दिएका छन् ।
बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाटै निकालेको थियो । त्यस्तै अन्य दुई नेता विन्दा पाण्डेलाई स्थायी कमिटी सदस्य र उषाकिरण तिम्सेनालाई केन्द्रीय सदस्यको रुपमा काम गर्नबाट ६ महिनाका लागि निलम्बन गरेको थियो ।
नेता रावललाई भने पार्टीबाटै निष्काशन गरेपछि सोमबार नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरे ।
दुई नेतालाई टोखास्थित आफ्नै निवासमा बोलाएर रावलले भेट गरे पनि त्यसको विषय भने खुलाइएको छैन ।
मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत हुन् ।कांग्रेस सभापति शेरबहादुर देउवासँग मनमुटावपछि मल्ल बीपी कांग्रेसतिर लागेका हुन् भने जोशी नेकपा एकीकृत समाजवादीका पूर्व केन्द्रीय सदस्य हुन् । गत निर्वाचनमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएर जितेका थिए ।
पार्टीका हरेक गतिविधिमा रावलले विरोध गरेको भन्दै यसअघि नै एमालेले स्पष्टीकरण सोधेको थियो । तर राववले कुनै जवाफ नदिएको भन्दै जिम्मेवारीबाटै हटाइएको एमालेको दाबी छ । पार्टीबाट निष्काशनमा परेसँगै रावलले नयाँ पार्टी खोल्ने चर्चा समेत चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया