कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै मौसमीखेती

लोकपथ
42
Shares

काठमाडौं । कृष्णसारको आहारा संकट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती थालिएको छ । वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा कृष्णसारलाई सूचीकृत गरेको छ । 

हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमीखेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताए । संरक्षण क्षेत्रभित्रै कृष्णसारको बासस्थान परिसरको आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । उनले भने, ‘पहिलो चरण गरिएको खेतीमा गहुँ, मकै, केराउ, मसुरोलगायत अनाज छरेका छौँ । यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ ।’

पहिलो पटक छरेको अनाज कृष्णसारले खाएर सकेपछि पुनःदोस्रो चरणमा छर्ने तयारी कार्यालयको छ । वन्यजन्तु संरक्षण ऐनले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक बासस्थानमा लोपहुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण थालनी गरेको हो । कृष्णसारको प्राकृतिक बासस्थान खैरापुरमा सिरुलगायत दुबो पनि लगाइएको हो । कृष्णसारले  यस्तो दुबोको टुसा खान मनपराउने बताइएको छ । कृष्णसारलाई हिउँदमा आहारा संकट पर्ने गर्छ ।

गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी दुई सय १७ वटा कृष्णसार रहेको कृष्णसार संक्षणक्षेत्र कार्यालयको तथ्यांक छ । 

कृष्णसारको बासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियमलगायत मिचाहा प्रजाति, छाडा पशुको खुला चरीचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको संरक्षण अधिकृत पन्थले बताए । यथेष्ट आर्थिक अभावकाबीच पनि संरक्षणमा चुनौती रहेको छ । हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका आहारा घाँस सुक्ने भएकाले पनि समस्या पर्ने गरेको कार्यालयले जनाएको छ । 

बर्दियाको गुलरियास्थित खैरापुरको पटाहा क्षेत्रको प्राकृतिक बासस्थानमा रहेका एन्टीलोप प्रजातिका कृष्णसारहरु । हिउँदे सुक्खायाममा घाँस नहुँदा कृष्णसारलाई चरीचरणको समस्या पर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?