चन्द्र ढकाल नेतृत्वको १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट’ कम्पनीको सीईओमा रत्नराज बज्राचार्य

लोकपथ
182
Shares

काठमाडौं । चन्द्र ढकाल नेतृत्वको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । इन्भेष्टमेन्ट कम्पनी संचालक समिति बैठकले ग्लोबल आईएमई बैंकका तत्कालीन सीईओ बज्राचार्यलाई सीईओमा नियुक्त गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको १० अर्ब रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ खडा भएको थियो । यो कम्पनी विशेषगरी नेपालमा ठुला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले स्थापना भएको हो । देशका सम्पूर्ण उद्योगी व्यवसायीले लगानी गर्न पाउने गरी खडा भएको उक्त कम्पनीमा हाल १ अर्ब रुपैयाँभन्दा बढी लगानी जुटिसकेको छ । महासंघका अध्यक्ष ढकालको नेतृत्वमा खडा भएको सो कम्पनीको मुख्य कार्यालय लैनचौरमा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट कम्पनी पर्यटन, कृषि, जलविद्युत तथा पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो । यस कम्पनीमा निजी क्षेत्रका अगुवा संगठनबाट प्रनिधित्व हुने गरी सञ्चालक समिति चयन गरिएको छ । हाल कम्पनीको सञ्चालकमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटा र नेपाल उद्योग वाणिज्य महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेल रहेका छन् ।

कुल १० अर्ब पुँजीको लगानीमा स्थापित उक्त कम्पनीले सर्वसाधारणमा सेयरसमेत जारी गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?