‘उपसभामुखलाई रास्वपाले नै बढी विवादित बनायो’

लोकपथ
49
Shares

काठमाडौं । सत्तापक्षले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषय अहिले मत्थर भएको छ ।

सत्तारुढ दलका शीर्ष नेताहरु बसेर उपसभामुखलाई ४ महिन अघिको पत्रको विषयलाई लिएर हटाउने चर्चा चले पनि अहिले त्यो विषय सेलाएको छ ।

त्यसलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद्मा हंगामा नै गरे । तर सत्तापक्षले उपसभामुखलाई हटाउने गरी नै तयारी नगरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

आज सभामुखसँग विभिन्न दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै सो कुरा बताएका हुन् ।

त्यसो त आज सभामुखसँगको छलफलका क्रममा समेत सो विषय उठेको थियो ।

बैठकपछि बोल्दै प्रमुख सचेतक बर्तौलाले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नै संसद्मा उक्त विषय उचालेर उपसभामुखलाई थप विवादमा तानेको बताए । सत्तारुढ दलको बैठकमा सो विषय उठेपनि हटाउने गरी कुनै विषय नउठेको बताए ।

‘… त्यो कुरा (अमेरिकी दूतावासलाई लेखेको पत्र) उहाँको कमजोरी हो । त्यो कमजोरी भएको कुरा अस्ति सत्ताघटक दलहरुको बैठकमा उठेको हो । तर उपसभामुख एउटा संस्था भएको कारण हामीले के ठान्यौँ भने, उहाँबाट कमजोरी भए पनि, बैठकमा छलफल भए पनि त्यो विषय बाहिर आएको थिएन । तर रास्वपाकै प्रमुख सचेतकज्यूबाटै उहाँले फायर खोल्ने काम गर्नुभयो । एउटा जिम्मेवार पार्टीको तर्फबाट सम्माननीय उपसभामुख जस्तो व्यक्तिको विषयमा कुनै कुरा अघि बढाउन खोजिएकै छैन, थिएन । त्यसका विषयमा जब उहाँले प्रशंग उचाल्न खोज्नुभयो र सरकारलाई हिलो छ्याप्न खोज्नुभयो, प्रधानमन्त्रीतर्फ लक्षित गरेर लोकतन्त्र च्यात्ने, खबरदार हामी सडक आन्दोलन गर्छौँ भनेर जसरी प्रतिवाद गर्नुभयो, विपक्षी दलका तर्फबाट पनि माओवादीका सबै सांसदले बोल्नुभएपछि हाम्रो तर्फबाट पनि प्रतिवाद गर्ने काम भयो,’ उनले भने ।

रास्वपाबाटै सो विषय उठेपछि आफूहरुले उपसभामुखले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए । उक्त विषय पहिले उठे पनि अहिले आफूहरुले नउठाउँदा पनि रास्वपाबाटै आउँदा आफूहरुले त्यसमा प्रतिवाद गर्दै राजीनामा मागेको स्पष्ट पारे ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसदीय दलकै बैठक बसेरै उपसभामुखले कमजोरी गरेको स्वीकार गरिएको तर कमजोरी हो भन्ने जान्दाजान्दै जोगाउन खोजिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?