काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका उपलब्धीहरु उल्ट्याउने ढंगले संविधान संशोधन भए सैह्य नहुने बताएका छन् ।
उनले माओवादी केन्द्र संविधान संशोधनको विरोधी नभएको स्पष्ट पार्दै संविधान सभामै आफूहरुले राखेका मागहरु सम्बोधन हुनुपर्नेमा जोड दिए ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘हामी संविधान संशोधनको विरोधी होइनौँ । हामी संविधान सभामा नै केही रिजर्भेसनहरु र नोट अफ डिसेन्ट राखेका थियौँ । ती कुराहरुमा संविधान संशोधन हुनु उपयुक्त हुन्छ भन्ने ठान्छौँ तर संविधान संशोधन नेपाली जनताले लामो संघर्ष र वलिदानबाट ल्याएका उपलब्धी उल्ट्याउने ढंगले हुनु हुँदैन । प्रतिगामी किसिमले हुनु हुँदैन । जनताले पाएका अधिकार खोस्ने किसिमले हुनु हुँदैन भन्ने हो ।’
उनले संविधान संशोधन हुँदा समानुपातिक प्रणाली खारेज वा हटाउन नहुने बताए । समावेशी र समानुपातिक प्रतिनिधित्व उत्पीडित वर्ग समुदायको प्रमुख अधिकार रहेको बताउँदै त्यसलाई मास्न खोजे आफूहरुलाई सैह्य नहुने बताए ।
‘समावेशी र समानुपातिक उत्पीडित वर्ग समुदायले पाएको प्रमुख अधिकार हो । त्यो अधिकारलाई कुनै पनि किसिमले मिनिमाइज गर्ने, कमजोर पार्ने विल्कुल नेपाली जनतालाई पनि सैह्य हुँदैन र हामीलाई पनि हुँदैन,’ प्रचण्डले भने ।
त्यस्तै एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउँदा आफूहरुले पार्टी पुनर्गठन गर्ने मौका पाएको बताउँदै दुई दललाई धन्यवाद समेत दिए ।
‘हामीले नेपाली कांग्रेस र एमालेलाई एक अर्थमा त धन्यवाद भनेका छौँ । उहाँहरुले पार्टी पुनर्निमाण गर्ने राम्रो अवसर दिनुभयो । मैले त भन्या छु तपाईँहरु मिलिराख्नुस्, ०८४ सम्म मिलिराख्नुस्, तपाईँहरु मिलिराख्नु भयो भने हामीलाई राम्रो हुन्छ,’ उनले भने ।
त्यस्तै आफूहरुको अहिले नै सरकारमा जाने मनसाय नरहेको बताए । भ्रष्टाचारीहरुलाई बचाउनका लागि वर्तमान गठबन्धन बनेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया