ठाडो आदेशमा प्रमुख प्रशासकीय अधिकृतको भ्रमण रोकेको विषयमा मन्त्री गुप्ताले के भने ?

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बाराको जीतपुर सिमरा उपमहानगरपालिको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध भएको विषयमा जवाफ दिएका छन् ।

आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उनले आफूले पूर्वाग्रही ढंगले भ्रमण नरोकेको प्रतिक्रिया दिए ।

त्यसो त मंगलबार मन्त्री गुप्ताको ठाडो आदेशमा काफ्लेको अमेरिका भ्रमण रोकिएको थियो । युएसएडको आयोजनामा अमेरिकामा हुने एक कार्यक्रममा काफ्लेसहित १२ जना छनोट भएका थिए ।

तर राजनीतिक पूर्वाग्रह राख्दै मन्त्रीको ठाडो आदेशमा रोकिए पनि उनले आफूले कुनै पूर्वाग्रह नराखेको बताए । जीतपुर सिमरामा मेयर माओवादी र उपमेयर एमालेबाट निर्वाचित भएका थिए । गत वैशाख २८ गते मात्रै त्यहाँको प्रमुख प्रशासकीय भएर गएकी काफ्लेलाई केन्द्रमा नयाँ सरकार बन्ने बित्तिकै उपमेयरसहित एमाले वडाध्यक्षहरुको प्रेसरमा मन्त्रीले सरुवा गरेर मन्त्रालय सारेका थिए । तर कानुन विपरित सरुवा गरिएको भन्दै परेको रिटमा सर्वोच्चले उनलाई सरुवा नगर्न अन्तरिम आदेश दिएको थियो । अहिले उनी त्यहाँ कार्यरत रहे पनि अन्तै सार्न मन्त्री नै लागिपरेका छन् ।

आज समितिको बैठकमा प्रश्न उठाउँदै समिति सदस्य समेत रहेकी सांसद दुर्गा राईले सो विषयमा मन्त्रीको जवाफ माग गरेकी थिइन् ।

त्यसको जवाफ दिँदै मन्त्री गुप्ताले भने, ‘कर्मचारीको अमेरिका भ्रमण पूर्वाग्रही ढंगले रोकिएको होइन । त्यहाँ (जितपुरसिमरा उपमहानगरपालिकामा) एक जना मेयर बाहेक सम्पूर्ण बोर्ड सदस्य एकातिर हुनुहुन्छ । उपमेयर लगायत बाँकी सबै दलका सदस्य, कार्यपालिका एक ठाउँमा हुनुहुन्छ । आजसम्म त्यहाँ परिषद् भएको छैन । यहाँसम्म कि एउटा भिडियो मलाई आएको छ, हुन त उहाँ महिला हुनुहुन्छ, हामीले सम्मान गर्नुपर्छ । पालिकाकै कार्यालयमा तँछाडमछाड भएको दृश्य हेरेँ । हाम्रो मन्त्रालयमा मुद्दा पनि भएको छ । हामीले उहाँलाई चार पाँच दिनदेखि तपाई मन्त्रालय आउनुहोस, तपाईँसँग त्यहाँको पालिका चल्दैन, महिला हुनुहुन्छ, कहीँ पायक पर्ने ठाउँमा राखिदिन्छौँ भन्यौँ । उहाँ काजमा जानुभएछ, उहाँले मन्त्रालयलाई टेर्नुभएन । मन्त्रालयमा आएर आफ्नो कुरा त राख्नुपर्थ्यो, काठमाडौंमा बसेर पनि मन्त्रालयलाई नटेर्ने गर्नुभयो । मौखिक र लिखित रूपमा जानकारी गराउँदा पनि आउनुभएन । हामी मुद्दा पनि खेप्ने, उहाँलाई विदेश भ्रमण पनि पठाउने गर्न सक्दैनौँ । अहिलेलाई रोकौँ, किनभने महिला हुनुहुन्छ, हामी पनि त्यहाँ जान पाएका छैनौँ । उहाँले मन्त्रालयलाई अटेर गर्नुभयो, इलवेन्थ आवरमा उहाँलाई रोक्न हामी बाध्य भयौँ ।’

मन्त्री गुप्ताको भनाइमा चित्त नबुझाउँदै सांसद राईले राजनीतिक आस्थाका आधारमा कर्मचारीको मनोबल गिराउने काम गर्न नहुने बताइन् ।

यो पनि

एमालेको ‘कोपभाजन’ मा जीतपुर सिमराकी प्रशासकीय अधिकृत, अमेरिका भ्रमण रद्ध

जीतपुर सिमराकी प्रशासकीय अधिकृतको भ्रमण रद्ध गरिएको विषयमा मन्त्रीसँग जवाफ माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?