प्रधानमन्त्रीको दाबी : मान्छेहरु महलमा जान थालेपछि सटरहरु बन्द भएका हुन्

लोकपथ
560
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला वर्षहरुमा मान्छेहरु महलमा सामान किन्न जान थालेपछि सटरहरु बन्द भएको दाबी गरेका छन् ।


आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा भाग लिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


प्रधानमन्त्री ओलीलाई सांसद नारायणी शर्माले पछिल्ला वर्षहरुमा देशको व्यापार व्यावसाय धरासायी बनिरहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएइकी थिइन् । उनले ठुला शहरहरुमा धेरै सटरहरु खाली रहेको र टुलेटका ब्यानरहरु टाँगिएको भन्दै त्यसको समाधानका लागि सरकारसँग योजना के छ भन्दै प्रश्न गरेकी थिइन् ।


‘आज ठुला शहरहरुमा प्राय देखिने भनेको सटरहरुमा टू लेट देखिन्छ । यसरी धरासायी बन्दै गरेको व्यापार व्यवसायको उठान गर्ने, देशको अर्थतन्त्र बलियो र आत्मनिर्भर गराउन सरकारको योजना के छ ?,’ उनको प्रश्न थियो ।

त्यस्तै त्यसपछि बोलेका प्रधानमन्त्री ओलीले उत्पादन र वितरणका तरिकाहरु बदलिएका कारण केही उद्योग व्यवसायहरु धरासायी भएको प्रतिक्रिया दिए । साथै उनले पहिले महलहरु नखुलेका कारण मान्छेहरु सामान किन्न सटरमा जाने गरेको तर पछिल्लो समय महलहरु खुलेपछि मान्छेहरु सामान किन्न महलमा जाने भएकाले सटरहरु बन्द भएको टिप्पणी गरे ।

‘कतिपय उत्पादनका तरिका र ढाँचाहरु परिवर्तन भइरहन्छन् यसलाई हामीले अनौठो रुपमा लिनु पनि हुँदैन । पहिले यस्ता महलहरु खुल्या थिएनन्, लहरै सटरहरु हुन्थे । एउटै घरमा चार वटा सटह हुन्थे । साना साना साना सटरहरु बनाएको हुन्थ्यो । छेउमा महलहरु खुलेपछि सबै कुरा त्यहाँ पाउने भएको हुनाले एउटा पसलमा एउटा चिज, अर्को पसलमा अर्को चिज र अर्को पसलमा अर्को चिज खोज्दै हिड्नुभन्दा मान्छे सिधै महलमा जाने र थुप्रै कुराहरु चाँही एकैठाउँमा लिने भएकाले सटरसटर मान्छेहरु हिँड्ने परिपाटी बन्द भएको हो । त्यस कारणले पनि सटरहरु बन्द भएका हुन्, टुलेट लेखिएका सटरहरु देखिन थालेका हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण परिवर्तित परिस्थितिलाई पनि बुझ्नुपर्छ, नकारात्मक ढंगले हेर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले बाटाभरी भरियाहरु नदेखिएमा अर्थतन्त्र चलायमान नभएको भन्न नमिल्ने बताए । गाडीको संख्या बढेपछि भरियाहरुको संख्या घटेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?