काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तर चलिरहेको छ ।
आजको दोस्रो प्रश्नकर्ता नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले विविध विषयमा प्रधानमन्त्री ओलीसँग धारणा मागे ।
उनले जनतामा असन्तोष देखिएको भन्दै त्यसलाई चिर्नेगरी काम गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । यसअघिको सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धबारे सरकारको ध्यानाकर्षण गराउँदै विश्वका विभिन्न देशहरुको उदाहरण समेत दिए ।
उनले बंगलादेश लगायतका देशहरुमा भइरहेको घटनाबारे सरकारले बेलैमा सोच्न आग्रह गर्दै युवाहरुको समस्या समाधानमा जोड दिनुपर्ने सुझाव दिए ।

साथै उदयपुरको त्रियुगा नदीमाथिको पुल बाढीले भत्काएको भन्दै त्यसलाई निर्माण गर्न यसअघि र वर्तमान सरकारको समेत ध्यानाकर्षण गराएको तर समस्या समाधान नभएको भन्दै आक्रोश व्यक्त गरे । यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटकपटक भेटेर समस्या सुनाएको बताउँदै तत्कालीन प्रधानमन्त्रीले मन्त्री र कर्मचारीलाई निर्देशन दिँदा समेत कुनै सुनुवाइ नभएको बताए । जसको कारण राजनीतिसँगसँगै कर्मचारी प्रशासनमाथि प्रश्न उठिरहेका बेला उक्त प्रकरणले थप प्रश्न थपिएको बताए ।
त्यस्तै उदयपुर लगायतका जिल्लालाई सहज हुने ‘अलवेदर सगरमाथा’ विमानस्थल निर्माणका लागि सरकारले चासो नदेखाएको बताए । उक्त विषय पटकपटक बजेट वक्तव्यमा उल्लेख भए पनि त्यसले ठोस काम हुन नसकेको बताए । उदयरपुरसहित आसपासका गरी १२ लाख भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने उक्त परियोजना निर्माण गर्न नागरिक उड्डयन प्राधिकरणले रोकेको भन्दै प्रधानमन्त्रीले चासो दिन आग्रह गरे ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर संक्षिप्त बनाउने भने पनि सांसद खड्काले मात्रै साढे ९ मिनेट प्रश्न गरेको भन्दै सभामुख देवराज घिमिरेले ध्यानाकर्षण गराए । प्रश्नोत्तरका लागि एक घण्टाको मात्रै समय छुट्टयाइएको भन्दै एउटै सांसदले धेरै समय लिग्दा समय व्यवस्थापनका लागि अफ्ठ्यारो हुने भन्दै त्यसपछि बोल्ने सांसदहरुलाई समय व्यवस्थापन गर्न आग्रह गरे ।
प्रश्नको जवाफ दिन रोस्टममा पुगेका प्रधानमन्त्री ओलीले आफूलाई बधाई दिएकोमा धन्यवाद दिए । साथै लामो समय लिएर प्रश्न गरे पनि प्रश्न नभेटाएको भन्दै टिप्पणी गरे ।
‘मान्य सदस्यज्यूले प्रश्न कहाँनेर गर्नुहुन्छ भनेर ध्यानपूर्वक सुनिराखेको थिएँ । खासमा प्रश्न फेला पार्नै मुस्किल पर्यो । वास्तवमा यो एउटा सुझावपत्र जस्तो भयो । प्रश्न भन्दा पनि सुझावपत्र जस्तो छ । सोलुसन यसमा आफैँ आएको कारण मैले धेरै भन्नुपर्ने कुरा छैन,’ प्रधानमन्त्रीले ओलीले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले अहिलेको सरकार जनतामा निराश नहोस् भन्नका लागि काम गरिरहेको बताए । त्यस्तै अहिले सरकारलाई असफल हुने छुट नरहेको भन्दै आफूहरु त्यही अनुसार काम गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया