काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले दुई ठुला दल मिलेर खोलिएका भ्रष्टाचारको फाइल बन्द गर्न लागेको आरोप लगाएका छन् ।
आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै आफू सरकारमा रहँदा आफूविरुद्ध आवाज उठाउने कांग्रेस–एमालेका सांसदहरुलाई पुनः भ्रष्टाचारकाविरुद्ध बोल्न आग्रह गरे ।
आफू गृहमन्त्री रहँदा गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणका विषयलाई लिएर ‘सहकारी गिरीबन्धु’ भन्ने गरेको भनाइ स्मरण गराउँदै नयाँ सरकार बनेपछि सो भाषा बन्द भएको भन्दै कटाक्ष गरे ।
उनले कांग्रेस–एमाले नेताहरुमाथि लागेको विभिन्न काण्डबारेको आरोपबारे पनि आवाज उठाउन आग्रह गरे । उनले आफूमाथि सहकारी ठगी प्रकरण र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको गिरीबन्धु जग्गाको आरोपबारे ‘सहकारी गिरीबन्ध’ भनेको विषयमा स्मरण गराए साथै अब स्काउट जग्गा प्रकरण, बाँसबारी जग्गा प्रकरण, टिकापुर जग्गा प्रकरणको बारेमा प्रश्न गरे ।
‘यही सदनमा सहकारी बन्धु, सहकारी बन्धु भनेका साथीहरुले, सहकारी बन्धुको भाषा बन्द गरेको हामी हेर्न चाँहदैनौँ । अझ भनुन्, सहकारी बन्धु मात्र नभनुन्, स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्ने आँट गरुन्,’ उनले भने ।
त्यस्तै वर्तमान सरकारको टार्गेट रास्वपामाथि भएको बताए । उनले प्रधानमन्त्रीदेखि कांग्रेस एमालेका नेताहरुको अभिव्यक्तिले रास्वपालाई थप अघि बढ्न मद्दत गरेको बताए ।
‘सरकारमा रहेका दुई ठूला दलको टार्गेट नयाँ आएको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि छ । प्रधानमन्त्रीको अभिव्यक्ति, हिजो कांग्रेस महामन्त्रीको अभिव्यक्ति, आज विषयान्तर गर्न खोज्नुभएका एमालेका पूराना नेताको अभिव्यक्ति । उहाँहरुको अभिव्यक्तिले के देखाउँछ भने अब नयाँलाई ठिक पार्नुपर्छ । यीनलाई एउटा एउटा आरोप लगाइदिनुपर्छ, यीनीहरुलाई एउटाएउटा लगाइदिएपछि मात्रै हाम्रो जोगिन्छ भनेर मिलेको कुरा स्पष्ट हुन आउँछ,’ लामिछानेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया