काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी अधिकृतको विषयमा नेपाली कांग्रेससँग पालाको पैँचो फेर्न थालेको छ ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गृहमन्त्री रहेका रास्वपा अध्यक्ष रवि लामिछानेले समयअगावै गरेको प्रहरी सरुवामा नेपाली कांग्रेसले विरोध जनाउने गरेको थियो । सार्वजनिक भाषणदेखि संसदसम्म नेपाली कांग्रेसले यो विषयलाई उठाउने गरेको थियो ।
कांग्रेसका तर्फबाट विशेषगरी पार्टी महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले यो विषयको उठान गर्थे । त्यतिबेला प्रतिनिधि सभा सदस्य शर्माले एक प्रहरी निरीक्षकको सरुवामा प्रश्न उठाउँदै के कारणले समयावधि नपुग्दै सरुवा गरिएको हो भन्दै सोधेका थिए ।
तर, आजको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद हरि ढकालले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)को के कारणले सरुवा गरिएको हो भन्दै प्रश्न उठान गरेका छन् ।आजको बैठकमा रास्वपा सांसद ढकालले प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवाबारे प्रश्न उठाएका थिए । उनले डीआईजी केसीको सरुवाको विषय उठान गर्दै अहिले बनेको नयाँ सत्ता गठबन्धनको उद्देश्य प्रस्फुटन भएको बताए ।
संसदमा उनको भनाइ थियो, ‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो ? विश्वासको मत लिएको दुई दिनभित्रमा किन सरुवा गरियो किन, के का लागि ? हामीले यो गठबन्धन कुन उद्देश्यका लागि बनेको छ भनेका थियौँ, त्यही उद्देश्यका लागि सरुवा गरिएको छ ।’
ढकालले कांग्रेस महामन्त्री शर्माले गत असार १० गते प्रहरी निरीक्षकको सरुवा गर्ने बेलामा राखेको भनाइ इंगित गर्दै अहिलेको अस्वभाविक सरुवाबारे पहिला जस्तै प्रश्न उठाउन सक्नुहुन्छ भनेर प्रतिप्रश्न गरेका थिए । ‘कांग्रेसका महामन्त्रीज्यूले गत असार १० गते पोस्ट गर्नुभएको थियो, गलत भाष्य सावित गर्नका लागि,’ ढकालले भने, ‘डीआईजी मनोज केसीको सरुवाको बारेमा तपाईं बोल्न सक्नुहुन्छ ? यो सदनमा सक्नुहुन्न ।’
त्यतिबेला कांग्रेस महामन्त्री शर्माले प्रहरी कार्यालय, कास्कीको अपराध अनुसन्धान तथा नियन्त्रण शाखामा कार्यरत प्रहरी निरीक्षक सूर्यबहादुर मगरलाई समयावधि नपुगी हटाएकोबारे प्रश्न गरेका थिए । ‘सूर्यबहादुर मगर जिल्ला प्रहरी कार्यालय, कास्कीको अपराध अनुसन्धान तथा नियन्त्रण शाखामा कार्यरत थिए, गृहमन्त्रीजी हिजो मालिक रहेको सूर्यदर्शन सहकारी संस्था त्यही कास्कीमा छ । सूर्यबहादुर त्यही छानबिन गर्ने एक इन्स्पेक्टर थिए ।
उनलाई समय नपुगी हटाइयो । सूर्यबहादुर २०८० भदौ ८ गते हाजिर भएका थिए । उनलाई बैशाख २६ गतेको निर्णयबाट डाँडा कटाइयो र महोत्तरी पु-याइयो, यही रोस्टममा उभिएर प्रहरी चलाउँदैनौं भन्दै हुनुहुन्थ्यो, झूट बोल्नलाई देशको गृहमन्त्रीले रोस्टम प्रयोग गर्न पाउने कि नपाउने रु’ कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले त्यसबेला भनेका थिए ।
गृह मन्त्रालयले नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी केसीलाई सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दिन बुधबार नै गृहमन्त्रीस्तरीय निर्णयबाट जिम्मेवारीबाट हटाइएको भएपनि शनिबार मात्र यसको खुलासा भएको थियो । केसीको रव िलामिछाने गृहमन्त्री हुँदा १६ जेठमा ब्यूरोमा सरुवा भएको थियो ।
केसी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहेका बेला नै भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको थियो । उनी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।
दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारीहरु नै यो प्रकरणमा संलग्न रहेको खुलेको थियो । गृह मन्त्रालयका एक अधिकारीले भने केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरकै सिफारिसमा हटाइएको दाबी गरे । ‘वेचन झा र प्रतीक थापालाई पक्राउ गर्दा संगठन प्रमुखलाई नै जानकारी दिइएको रहेनछ’, उनले दाबी गरे, ‘त्यो लगायतका कारण देखाएर प्रहरी प्रमुखबाटै सिफारिस आएपछि हटाइएको हो ।’
झा र थापा पक्राउ पर्दा आईजीपी कुँवर विदेश भ्रमणमा थिए, एआईजी दीपक थापा निमित्त प्रहरी प्रमुखको जिम्मेवारीमा थिए । प्रहरी प्रमुख कुवँरलाई बाईपास गरेर तत्कालिन गृहमन्त्री लामिछानेले एआईजी सीआईबीका श्यामलाल ज्ञवाली र केसीकै सहयोगमा प्रहरी संगठन चलाएको आरोप लाग्ने गरेको छ ।
रास्वपा सांसद ढकालले नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेपछि मन्त्रिपरिषद् विस्तारदेखि नै विभिन्न विवादित पृष्ठभूमिका व्यक्तिलाई नियुक्ति दिइएको र ती नियुक्तिको रक्षा गर्न अब्बल कर्मचारीहरूलाई तारोमा पारिएको पनि संसद बैठकमा बताएका थिए । ‘हामीलाई यो सरकारका उद्देश्य थाहा थियो, अहिले देखिन थालेको छ, अनुसन्धानका वरिपरि रहेका र गरिनुपर्नेलाई मन्त्री पद दिएर पुरस्कृत गरियो, गुण्डा नाइके, फिरौती, मानव बेचबिखनको आरोप लागेका मान्छेलाई प्रादेशिक मन्त्रालयको जिम्मेवारी दिइएको छ,’ उनले भने ।
रास्वपा सांसद ढकालको यो भनाइ भने लुम्बिनीमा हालै मन्त्री नियुक्त गरिएका बादशाह कुर्मी र रोज राणा भनिने सरोज थापा तथा बाग्मतीमा मन्त्री बनेका मीनकृष्ण महर्जन लक्षित थियो । कुर्मी, थापा र महर्जनको विगत त्यति राम्रो छैन । उनीहरूले हत्या, अपहरण, फिरौती असुली, ज्यान मार्ने धम्की, मानव बेचबिखन र हातहतियार खरखजाना जस्ता अपराधमा मुद्दा खेपिसकेका छन् । कुर्मीलाई मन्त्रीबाट हटाउन अहिले दबाब दिने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया