सामान्य प्रशासनमन्त्रीको दाबी– एक वर्ष नभइ मन्त्रिमण्डल फेरबदल हुँदैन

लोकपथ
98
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरु एक वर्षमा फेरिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी एक वर्षमा मन्त्रीहरुको सेट नै फेरिने र त्यतिबेला महिला, दलित र अन्य समुदायबाट पनि समावेशी प्रतिनिधित्व हुने स्पष्ट पारे ।

कार्यक्रमलाइृ सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार रहेको दाबी गर्दै उनले सबै दललाई मिलाउँदा समावेशी प्रतिनिधित्व हुन नसकेको स्विकार गरे ।

उनले भने, ‘अहिलेको सरकार राष्ट्रिय सहमतिको सरकार हो, एकल सरकार होइन । यो टिम एक वर्षका लागि हो । त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अर्को टिम आउँछ । दलित पनि आउँछन्, महिलाको संख्या पनि बढ्छ । राष्ट्रिय सहमतिको सरकारलाई सबै दल मिलाउनुपर्ने बाध्यता पनि छ । अरू पार्टीहरुसँग पनि कुरा हुँदैछ । एक–दुई दिनमा उहाँहरु पनि सहभागी हुनुहुनेछ ।’

प्रधानमन्त्री ओलीले विगतमा ३८ महिना सरकारको नेतृत्व गर्दा विकासले गति लिएको र साह्रा देशले उनलाई मन पराएको मन्त्री गुप्ताको दाबी छ । उनले अब आफूहरु पनि प्रधानमन्त्री ओलीको सहयोगीको रूपमा मन्त्रालयमा रहेर देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले देशले प्रधानमन्त्री ओलीकै नेतृत्व खोजेको दाबी गरे ।

मन्त्री गुप्ताले गत २०७९ को निर्वाचनमा जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिँदा एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपरेको बताए । ‘२०७९ को निर्वाचनमा कुनै पार्टीलाई स्पष्ट बहुमत थिएन । एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनेको छ । अब यो देश अगाडि बढ्छ । हामी यो देशलाई अगाडि बढाउँछौं,’ उनले भने ।

मन्त्री गुप्ताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको यसअघिको सरकारले विगतमा फाइल खोल्छौंमात्रै भनेको र वास्तविक रूपमा काम गर्न नसकेको आरोप लगाए । उनले वर्तमान सरकारले निवर्तमान सरकारले खोल्छौं भनेका सबै फाइल खोल्ने र छानविन पनि अगाडि बढाउने बताए । उनले वर्तमान सरकारले भ्रष्टाचारीहरु कसैलाई पनि नछाड्ने बताए । ‘जति फाइल खोल्ने पहिला चर्चा जुन थियो र फाइल खुल्दैन थियो । यो सरकारले भ्रष्टाचारीलाई छोड्दैन । ती सबै फाइलहरुको छानविन हुन्छ,’ उनले भने ।

त्यस्तै, वर्तमान सरकारले समावेशी समानुपातिक व्यवस्था हटाउने कुरा नगरेको उनको स्पष्टोक्ति छ । मन्त्री गुप्ताले समावेशी समानुपातिक निर्वाचन प्रणालीलाई राष्ट्रिय सभामा व्यवस्थापन गरेर प्रतिनिधि सभालाई पूर्ण रूपमा प्रत्यक्ष निर्वाचितको थलो बनाइनुपर्ने उनले बताए । आफूहरुले कहिल्यैपनि संघीयता फाल्ने कुरा नगरेको मन्त्री गुप्ताले स्पष्ट पारे । ‘संघीयता फाल्ने कुरा हामीले गरेकै छैनौं । संघीयतालाई व्यवस्थित् बनाउनुपर्छ । फाल्ने कुरा कदापि सोच्न पनि सकिँदैन । तर, संघीयतालाई व्यवस्थित बनाउनुपर्छ । त्यहाँ समानुपातिक प्रतिनिधित्व बढी भयो । त्यसलाई हामीले व्यवस्थापन गर्ने भनेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?