हेमन्तप्रकाश ओलीलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ–सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वका नेता हेमन्तप्रकाश ओलीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले नेता ओलीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।

जिल्ला अदालतमा मुद्दा चलाउनका लागि रीतपूर्वक म्याद थप भई अनुसन्धान भइरहेको हुँदा धरौटी वा सामान्य तारेखमा रिहा गर्न अस्वीकार गरेको आदेशमा उल्लेख छ ।

एनसेलको टावर विस्फोटनमा संलग्न भएको उल्लेख गर्दै प्रहरीले ओलीलाई काभ्रेबाट पक्राउ गरेको थियो । नेता ओलीका तर्फबाट विपना ओलीले यही चैत २३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् ।  अदालतले धरौटीमा छोड्न नमिल्ने फैसलापछि सो निवेदन खारेज भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?