निर्मला बलात्कारपछि हत्या प्रकरणः तत्कालीन एसपी विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा एसपी विष्टसहित ८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको हो । 

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।

एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ  भने प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध पनि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले जानकारी दिए । 

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार डिएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरीलाई पक्राउ गरी बुधवार जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको थियो । पक्राउ परेका सबै जनालाई कञ्चनपुर प्रहरीको हिरासतमा रहेको प्रवक्ता सुवेदीले बताए ।

सुवेदीले एसपी विष्ट र अंगुर जिसी भने अदालतमा उपस्थित भएका छैन । 

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?