विप्लवद्वारा राप्ती बन्दको आह्वान, पाँच जिल्लाको जनजिवन प्रभावित

काठमाडौं । विभिन्न माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको राप्ती बन्दले पाँच वटा जिल्लाको जनजिवन प्रभावित भएको छ । 

आफ्नो नेता तथा कार्यकर्तालाई विना कारण प्रहरी प्रशासनले गिरफ्तार गरेको विरोधमा विप्लवको राप्ती ब्यूरोले दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा बन्दको आह्वान गरेको हो । 

बन्दका कारण बिहानै देखि रोल्पाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् भने बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द छ । 

साथै बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन् । सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन् ।

प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ । 

यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ । यी सबै नेता–कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने माग उनीहरुको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?