महरा बाबुछोरा जोगाउन प्रहरीको प्रयास, तस्करसँग जोडिएका राहुलको बयानसम्म लिइएन

‘सुन ल्याउने समूह’मा महराको बाबुछोरासमेत रहेको सिआइबीको किटान

लोकपथ
6.2k
Shares

काठमाडौं । गत असार २७ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल भन्सार कार्यालयबाट सुन चोरी गरी बिक्री गर्ने समूहका ९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्यो । मुद्दा दायर गरिएकामध्ये तीनजना चोरीमा प्रत्यक्ष संलग्न व्यक्ति थिए भने ५ जना अवैध सुनको बिक्री वितरणमा संलग्न थिए । अर्का एकजना व्यक्ति भने अवैध सुन बिक्रीबाट आएको रकमबाट अरुका लागि आफ्नो नाममा जग्गा किनिदिने व्यक्ति थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा चलाइएका व्यक्तिहरु मध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्का, त्यहाँका भन्सार एजेण्ट दिनेश बस्नेत र सेक्युरिटी गार्ड निर्मल विःक चोरीमा प्रत्यक्ष संलग्न व्यक्तिहरु थिए । उनीहरुले भन्सार कार्यालयबाट भेपभित्र रहेको सुन चोरी गरी बिक्री गर्न वा चोरी गर्नमा प्रत्यक्ष संलग्न थिए ।

त्यसैगरी दिनेशले चोरी गरी ल्याएको सुन बिक्री गर्नका लागि दिनेश बस्नेतका भाइ दिपेश बस्नेत र दिनेश तथा दिपेशका भिनाजु गोपाल सुवेदी संलग्न थिए । तस्करी र चोरी गरी ल्याएको सुन बिक्री गर्नका लागि भने सुनसरीका वेद प्रकाश अग्रवाल, भारत महाराष्ट्रका साहेब राव पाण्डुरङ मरगले संलग्न थिए ।

तस्करी गरी आएको सुन चोरी गरी बिक्रीबाट प्राप्त रकमको व्यवस्थापन गर्नमा सहयोग गर्ने दिपेशका साथी अमृत कार्की र दिनेशका ससुरा रामकेशव थापाविरुद्ध पनि प्रहरी अनुसन्धानका आधारमा अदालतमा मुद्दा दायर गरिएको थियो ।

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदामबाट सुन चोरी गर्ने र चोरी गरेको सुन बिक्री गर्नेविरुद्ध मुद्दा चलाएपनि सुनको तस्करी गर्ने समूहमाथि भने न बयान लिएको छ न त मुद्दा नै चलाएको छ । बरु सुन तस्करको गिरोहसँग जोडिएका पूर्व सभामुख कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरालाई जोगाउन तस्करी गरी ल्याउने समूहका सम्बन्धमा कुनै काम र कारबाही नै गरेको छैन ।

पहिले भेपको नाममा कसरी सुन त्रिभुवन विमानस्थलसम्म आइपुग्यो र त्यो कसरी चोरी भयो त्यो बुझौँ ।

दुबईबाट यसरी आइपुग्यो विमानस्थलसम्म सुन

२०७९ साल पुष महिनाको १० गते दुबईबाट काठमाडौं विमानस्थलमा चिनियाँ नागरिक ली जानसोङ उत्रिए । दुबईबाट आएको भनेपनि विमानस्थलमा अलि बढी नै चेकजाँच हुन्छ । त्यसैकारण दुबईबाट आउने यात्रुहरुको लगेज पनि अलि बढी नै चेक हुन्छ । सोही क्रममा चिनियाँ नागरिक ली को दुईवटा ब्यागेज पनि विमानस्थल भन्सारले एक्सरे मेसिनमा राखी स्क्यान गर्यो ।  स्क्यान गर्दा बढी घनत्व भएको धातु डिटेक्ट भयो । त्यसपछि भन्सारका कर्मचारीले उक्त ब्यागेजलाई रेड च्यानलमा स्क्यान गर्ने भन्दै आरसी अर्थात् रेड च्यानलको स्टिकर टाँसिदियो ।

                                           सुन राखिएकाे नक्कली भेप

रेड च्यानल पहिलेको एक्सरेभन्दा अलि एडभान्स मेसिन थियो । त्यहाँ पनि त्यस्तै संकेत गरेपछि उक्त दुवै लगेज खोलेर हेरियो । लगेज खोलेर हेर्दा दुवै लगेजमा ठूलो मात्रामा इलेक्ट्रिक सिगरेट अर्थात् भेप ल्याएको देखियो । किन यति धेरै भेप लिएर आएको भनी ती यात्रुलाई सोधिखोजी गर्दा उनले हाइड्रोपावरमा काम गर्ने चिनियाँ मजदुरका लागि ल्याएको भने । भेप सिल्डप्याक भएको र भेप बनाउँदा फलाम वा स्टील पनि प्रयोग हुने भएकाले भन्सारका कर्मचारीले भेपको थप चेकजाँच गरेनन् । बरु व्यापारिक प्रयोजनका लागि ल्याएको भन्दै जफत हुने निर्णय गरे र जफत गरिएको निस्सा चिनियाँ नागरिकलाई समेत दिए ।

२०७९ पुषको १० गते जफत गरिएको उक्त सामान डेढ महिनाभन्दा बढी समय विमानस्थलभित्रैको भन्सारका अधिकृतको कार्यकक्ष अगाडि त्यसै थन्काएर राखियो । अनि पछि लिलाम वा नष्ट गर्नुपर्ने भएको कारण उक्त सामान २०७९ माघ २९ गते भन्सारकै मुद्दा शाखामा दाखिला गर्न पठाइयो । मुद्दा शाखामा पठाउँदा भन्सारका कर्मचारीले त्यसको मुचुल्का बनाए । मुचुल्कामा त्यहाँ दुईवटा सुटकेशमा ७३ बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) रहेको लेखियो । त्यसपछि विमानस्थल कार्यालयबाट केही तल रहेको भन्सार कार्यालयको गोदाममा ती सामान ल्याइयो । सामान ल्याउँदा बोक्ने र राख्ने क्रममा भन्सार कार्यालयमै सेक्युरिटी गार्डको काम गर्ने बागलुङका निर्मलकुमार विःकको सहयोग लिइयो ।

सामान थन्काउने क्रममा सेक्युरिटी गार्ड विकले एउटा भेप निकाले र आफ्नो खल्तीमा राखे । ड्युटी सकिएपछि घर पुगे र भेप पिउनका लागि ताने । तर, भेपबाट धुवाँ आएन । चार्ज नभएर हो कि भनेर चार्ज गर्न खोजे, तर भेप चार्ज पनि भएन । त्यसपछि उनले सबैतिर हेरे तर धुवाँ नआएपनि उनले भेप फुटाए । फुटाएपछि त्यहाँ पहेँलो धातु रहेको पाए । त्यसपछि सुन हुनसक्छ भनेर विःकले उक्त पहेँलो धातु निकालेर साथीको सहयोगमा सुन पसलमा लगि चेकजाँच गराउँदा सुन नै रहेको पुष्टी भयो । त्यसपछि उक्त सुनबाट विकले सिक्री बनाए ।

भेप भनिएको सामानभित्र सुन रहेको पत्तो पाएपछि निर्मलकुमार विकले गोदाममा रहेको सेक्युरिटी क्यामेराको लाइन काटेर पटकपटक गरी ४० थान सुन रहेको भेप चोरी गरे । प्रत्येक दिन एक वा दुई थान गरी उनले ४० थान ‘भेप’ चोरिसकेका थिए । चोरी गर्न फेरि पनि सिसी क्यामेराको पावर कट गर्न एमसीबीको स्वीच तल झर्दैगर्दा भन्सारकै कर्मचारीले देखेपछि उनीमाथि केरकार भयो । तर किन त्यस्तो गरेको पत्ता लागेन । पछि उनलाई सेक्युरिटी गार्डबाट बर्खास्त गरियो ।

तर जफत र पछि नष्ट गर्ने भनिएको भेपमा सुन रहेको जानकारी पाएका विकको छटपटी रोकिएन । विकले सो कुरा उनका केही साथीलाई भने । यो कुरा बिस्तारै भन्सार एजेण्ट दिनेश बस्नेतका कानमा पनि पुग्यो । त्यसपछि बस्नेतले भेपमा सुन रहेको भन्ने सुनेको छु भन्दै सो कुरा भन्सारकै नासु रेवन्त खड्कालाई भने । रेवन्तसँग कुरा गरेर उक्त सामान खोली हेर्दा सुन नै रहेको देखिएपछि दिनेश र रेवन्त भएर त्यहाँ रहेको बाँकी सबै सुन भएको भेप निकालेर सो स्थानमा सक्कली भेप राखियो ।

                                             साटफेर गरेपछिकाे सक्कली भेप

जब राहुल महरासहितका व्यक्तिहरुले बारम्बार लिलामीका लागि दबाव दिए

चिनियाँ नागरिकले ल्याएको भेप भन्सार कार्यालयले जफत गरेपछि उक्त भेप छुटाउन भन्सार एजेण्ट तथा राजनीतिक व्यक्तित्वहरुले पटकपटक प्रयास गरे । मानव स्वास्थ्यमा असर गर्ने सुर्तीजन्य पदार्थ लिलाम गर्न नमिल्ने भएकाले त्यसलाई नष्ट गरिन्छ, तर धेरै व्यक्तिले उक्त सामान लिलाम गर्न र आफूलाई मिलाइदिन आग्रह गरिरहे । चिनियाँ नागरिक लुइले ल्याएको उक्त सामान छुटाउन नेपालमा बसेर व्यवसायको आवरणमा तस्कर धन्दा चलाइरहेका अर्का चिनियाँ नागरिक दावजिङ्ग वाङले विभिन्न सम्बन्ध सुत्रमार्फत सो सामान छुटाउन प्रयत्न गरिरहे ।

लिलाम गर्ने त भन्ने विषयमा छलफल चलिरहँदा एक व्यक्तिले त्यही सामान छ कि छैन, हो कि होइन पहिले चेक गरौं, त्यसपछि मात्रै लिलाममा जाऔँ भने । ‘त्यही सामान हो कि होइन’ भन्ने शब्द सुनेपछि भन्सारका अधिकृतहरुलाई पनि शंका लाग्यो । त्यसपछि त्यो सामान पहिले खोलेर हेर्ने निर्णय भयो । जब सामान खोलियो, जफत गरिएको सामान नै होइन भन्ने यकिन भयो ।

त्यसपछि पहिले भन्सार कार्यालयले नै आन्तरिक छानबिन गर्यो । छानबिनमा कार्यालयकै नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेण्ट दिनेश बस्नेत र सेक्युरिटी गार्ड निर्मल कुमार विकले चोरी गरेको सिसी क्यामेरामा देखियो । त्यसपछि सुरुमा रेवन्त खड्कासँग बुझ्न खोज्दा उनी कार्यालयमै आएनन् ।

विभिन्न बाहाना बनाएर आलटाल गरेपछि प्रहरीको जिम्मा लगाइदिने भनेपछि उनी कार्यालय आए र भेपभित्र सुन रहेको कारण आफूहरुले साटफेर गरी सक्कली भेप ल्याएर राखिदिई नक्कली भेपभित्र रहेको सुन बिक्री गरिसकेको जानकारी दिए । उक्त भेपभित्रको सुन बेचेर एक करोड रुपैयाँ आएको भन्दै आफू रकम दिन तयार रहेको तर प्रहरीमा नबुझाइदिन आग्रह गरे ।

त्यसपछि विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले आन्तरिक छानबिनको प्रतिवेदनसहित बिस्तृत छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा २०८० वैशाख २६ गते पत्राचार गरे । त्यसपछि सिआइबीले अनुसन्धान गर्दा सुन भएको भेप निकालेर सुन जम्मा गरी दिनेशले आफ्नै भाइ दिपेश बस्नेत र भिनाजु गोपाल सुवेदीको सहयोगमा सबै सुन बेचेको पुष्टी भयो । निकालिएको सुनको परिमाण ९ किलो थियो र उक्त सुन ६ करोडमा बिक्री गरेको उनीहरुले बयान दिए । पहिले तस्करी र त्यसपछि चोरी गरी आएको सुनको खरिद गर्नेमाचाहिँ वेदप्रकाश अग्रवाल र साहेब राव पाण्डुरङ मरगले लगायतका व्यक्तिहरु थिए ।

८ करोड ६८ लाखको सुन ६ करोडमै बिक्री

सिआइबीको अनुसन्धानमा भन्सार एजेण्ट दिनेश बस्नेतले चोरी गरी ल्याएको भेपबाट ९ किलोग्राम सुन निकालेको बयान दिएका छन् । उक्त सुन बिक्रीबाट आफूलाई ६ करोड रुपैयाँ आएको दिनेशको बयानमा उल्लेख छ । साउन २ गतेको सुनको मूल्यलाई आधार मान्ने हो भने प्रति १० ग्राम ९६ हजार ४५० रुपैयाँ रहेको छ । यसलाई आधार मान्दा एक किलोग्राम सुनको मूल्य ९६ लाख ४५ हजार रुपैयाँ पर्छ र ९ किलोग्राम सुनको मूल्य ८ करोड ६८ लाख रुपैयाँ हुन आउँछ । तर तस्करीको सुन भन्दै मारवाडी व्यापारीहरुले प्रति तोला करिब ८० हजार रुपैयाँका दरले मात्रै चोरीको उक्त सुन किनेको दिनेशको बयानमा उल्लेख छ । ६ करोड २१ लाख रुपैयाँ हुने भएपनि धेरै सुन किनेको भन्दै उनीहरुले छुट मागेपछि दिनेशले थप २१ लाख रुपैयाँ छुट दिएको अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा उल्लेख गरेका छन् ।

८ करोड ६८ लाखको सुन बेच्दा भन्सारका सुब्बालाई ६५ लाख मात्रै !

चिनियाँ नागरिकले तस्करी गरी ल्याएको सुन भन्सार कार्यालयको गोदामबाट चोरी गरी बिक्री गरिएको रकममध्ये भन्सारका नायब सुब्बा रेवन्त खड्काले भने ६५ लाख रुपैयाँ मात्रै पाएको देखिएको छ । सुन बिक्री गरी आएको रकममध्ये दिनेशले रेवन्त खड्काले भनेअनुसार रेवन्त खड्काका महिला साथी प्रेरणा थापाको बैंक खातामा ३० लाख रुपैयाँ तथा साथीकी श्रीमती ललिता थापा राजभण्डारीको खातामा ३५ लाख रुपैयाँ जम्मा गरिदिएको पाइएको छ । आफ्नै खातामा यति धेरै रकम राख्दा सम्पत्ति शुद्धिकरण वा अख्तियार लाग्न सक्ने भएकाले खड्काले उक्त रकम साथीहरुको खातामा राखेका थिए । दिनेशले करिब १० लाख रुपैयाँ भने रेवन्तलाई नगद नै दिएको दावी गरेका छन् । तर रेवन्तले भने ६५ लाखभन्दा बढी रकम नपाएको बयान दिएका छन् ।

ससुराको नाममा करिब ३ करोडको घडेरी खरिद

भन्सार कार्यालयबाट चोरी गरी बिक्री गरेको सुनको रकमबाट दिनेश बस्नेतले आफ्ना ससुराको नाममा २ करोड ७५ लाख रुपैयाँमा भक्तपुरमा घडेरी किनेको अनुसन्धानबाट देखिएको छ । त्यसैगरी डेक्सटर ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा रहेको बैंक खातामा ८० लाख रुपैयाँ जम्मा गरेको पाइएको छ ।त्यस्तै भन्सार कार्यालयबाट लिलाम भएको कपडा लगायतका सामान खरिदमा २० लाख, विभिन्न व्यक्तिहरुलाई २५ लाख रुपैयाँ सापटी तथा ऋण दिएको पाइएको छ । त्यस्तै चोरीको सुन बिक्री गर्न सघाउने भाइ दिपेश बस्नेतलाई २० लाख रुपैयाँ दिएको पाइएको छ भने जग्गा खरिद गर्न सहयोग गर्ने दलाललाई ८ लाख रुपैयाँ कमिसन दिएका छन् ।

त्यस्तै चोरीको सुन बिक्रीबाट अथाह आम्दानी गरेपछि दिनेशले सिन्धुपाल्चोकमा रहेको सुकुटे बीचमा पार्टी गरेको पाइएको छ । अनुसन्धान अधिकारीसमक्ष बयान दिने क्रममा दिनेशले सुन बिक्री बाट आएको रकमले सुकुटे बीचमा गएर पार्टी गरेको र उक्त पार्टीमा ४ लाख रुपैयाँ खर्च भएको बताएका छन् । त्यस्तै दिनेशले पाएको भनिएको ६ करोड रुपैयाँमध्ये ८३ लाखको भने अझै हिसाब देखिएको छैन । उनले उक्त रकम कसैलाई राख्न दिएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि अनुसन्धान अझै जारी रहेको कारण त्यो रकमको पनि खोजी हुने सिआइबीले जनाएको छ ।

सुन ‘चोर’हरु जेलमा, तस्कर समूह भने खुलेआम बजारमा !

केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा विमानस्थलको भन्सार कार्यालयबाट सुन चोरी गरी बिक्री वितरण गर्ने समूहका व्यक्तिहरुबारे राम्रो अनुसन्धान गरी तथ्य र प्रमाणसहित पेश गरेको भएपनि सुन ल्याउने गिरोहका सदस्य तस्कर समूहलाई सघाउने नेपालका नेता र उनका पुत्रप्रति भने रहस्यमयी मौनता देखिन्छ ।

सिआइबीले आफ्नो अनुसन्धानमा सुन ल्याउने समूह भनी किटान गरिएका व्यक्तिहरुको सूचीमा पूर्व सभामुख कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरासमेतको नाम र कनेक्सन देखाएको छ । तर, प्रहरीले न कृष्ण बहादुर महरासँग बयान लिएको छ न त उनका पुत्र राहुल महरासँग सामान्य सोधपुछसम्म गरेको छ ।

उनीहरुप्रति नरम रही तस्कर समूहको विषयमा केही बोलेको छैन । यद्यपि सिआइबीले सरकारी वकिललाई बुझाएको गोप्य मिसिलमा भने सुन ल्याउने तस्कर समूहमा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महरा र उनको छोरासमेतको कनेक्सन खुलाएको छ ।

सिआइबीको अनुसन्धानमा सुन ल्याउने तस्कर समूहको लिंक चार्ट हेर्नुभन्दा पहिले कृष्ण बहादुर महराका छोरा राहुल महराले जफत भएको भेप ल्याउने व्यक्तिलाई नै लिलामी सकार्ने गरी दिन भन्सार अधिकृतलाई आग्रह गरेकोबारे भन्सार अधिकृतको बयान पढौँ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठलाई राहुलले मोबाइलमा फोन गरी लिलामी प्रक्रियाबारे चासो राखेका थिए । काठमाडौं जिल्ला अदालत स्रोतबाट लोकपथलाई प्राप्त श्रेष्ठको बयानमा भनिएको छ  :

‘मिति २०७९।०९।१० गते बिहान ०७ः१० बजे देखि अपरान्ह १२ः०० बजे सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको यात्रु शाखाको प्रमुखको हैसियतमा ड्युटीमा खटिएको थिएँ । उक्त मितिमा चिनियाँ यात्रु LI HANSONG ले लिई आएको लगेजमा ठूलो परिमाणमा ईलेक्ट्रिक सिगरेट (भेप) रहेको भनी मलाई ड्यूटीमा खटिएका नासु सुवर्णा प्रभा केसीले जानकारी गराएकी हुन् । अर्थ मन्त्रालयको मिति २०७७।०२।१५ को सूचनाको दफा ७ बमोजिम व्यापारिक प्रयोजनका लागि ल्याएका मालवस्तु यात्रु शाखाबाट जाँचपास गर्न नमिल्ने हुँदा जफत गर्नु पर्ने व्यवस्था रहेको र निज चिनियाँ यात्रुले एकै किसिमको मालवस्तु ठूलो परिमाणमा ल्याएको सम्बन्धमा तत्काल हेर्दा व्यापारिक प्रयोजनका लागि ल्याएको देखिएकोले जफतको निर्णय गरी रजिष्टरमा व्यहोरा चढाई एक प्रति जफतको निस्सा सम्बन्धित यात्रुलाई दिई उक्त ईलेक्ट्रिक सिगरेट (भेप) जफत गरिएको हो ।

उक्त ईलेक्ट्रिक सिगरेट (भेप) जफत गर्ने क्रममा निज यात्रुको सुटकेश खोली परिमाण यकिन गर्ने कामसम्म भएको हो, सो बाहेक उक्त ईलेक्ट्रिक सिगरेट (भेप) खोली, फुटाई अन्य परीक्षण गर्ने काम भएन । यसरी थप परीक्षण नगरिएकाले उक्त ईलेक्ट्रिक सिगरेट (भेप) भित्र केही अवैध मालवस्तु थियो, थिएन तत्काल थाहा हुन सकेन । मिति २०७९।०९।१० गते देखि मिति २०७९।१०।२९ गते सम्म उक्त जफत गरिएको ईलेक्ट्रिक सिगरेट (भेप) प्रमुख भन्सार अधिकृतको कार्यकक्ष अगाडी राखिएको थियो । यसरी उक्त ईलेक्ट्रिक सिगरेट (भेप) जफत गरि प्रमुख भन्सार अधिकृतको कार्यकक्ष अगाडी राखेको २।३ दिनपछि भन्सार एजेन्ट खुवा प्रसाद न्यौपानेले यात्रु शाखामा आई मलाई भेटी उक्त मालवस्तु तोकिएको राजश्व बुझी जाँचपास गरि दिनु पर्यो भनी अनुरोध गरेका थिए । निजलाई मैले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनि पठाएको थिएँ । सो को भोलिपल्ट आफूलाई श्याम सुन्दर साह भनि चिनाउने व्यक्ति समेत यात्रुशाखामा आई मलाइ भेटि उक्त ईलेक्ट्रिक सिगरेट (भेप) जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगको लागि ल्याएको हुँदा राजश्व दाखिला गरी जाँचपास गरि दिनु प¥यो भनि अनुरोध गरेकोमा मैले निजलाई समेत जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनि पठाएको थिएँ ।

तत्पश्चात निज यात्रु शाखाबाट बाहिर निस्की गएकोमा केही समय पश्चात ९८५१००८*** नम्बरबाट मेरो मोबाईलमा समेत फोन गरी सोही कुरा दोहो¥याएकोमा मैले निजलाई जफत भएको मालवस्तु जाँचपास नहुने भनेको थिएँ । सोही विषयमा आफूलाई राहुल महरा भनि चिनाउने व्यक्तिले ९८५११११*** नम्बरबाट मेरो ९८५७०३५*** नम्बरको मोबाईलमा फोन गरी जफत भएको उक्त ईलेक्ट्रिक सिगरेट (भेप) को लिलामी प्रक्रिया के हो ? कसरी हुन्छ भनि सोधपुछ गरेकोमा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाईने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गर्ने गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखा मै बुझ्दा उचित हुन्छ भनि जानकारी गराएको थिएँ ।’

भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठको यो बयानबाट पनि के बुझिन्छ भने भेप लिलामी प्रक्रियामा राहुलले भन्सारका अधिकारीलाई दबाव दिएका थिए । सुन तस्करको लिंक चार्टमा आएका सबै मानिससँग सिआईबीले किन सामान्य सोधपुछसम्म गरेन भनी लोकपथले प्रश्न गर्दा सिआईबी प्रवक्ता संजय सिंह थापा भन्छन् , हामीले अहिले पहिलो चरणको अनुसन्धान सकेर सरकारी वकिल कहाँ पठाएका हौँ, तस्कर समुहको विषयमा पनि अनुसन्धान गछौँ नै ।’

राहुल र तस्कर वाङबीच १९५ पटक कुराकानी

काठमाडौं जिल्ला अदालत स्रोतबाट लोकपथलाई प्राप्त सिडिआर रिपोर्टमा सुन ल्याउने समूहका व्यक्ति चिनियाँ नागरिक वाङ र माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराबीच १९५ पटक कुराकानी भएको प्रमाण मिसिलसाथ बुझाएको छ । सुन तस्करी भई आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन सुरु गर्नेसम्म करिब ३ महिनाको अवधिमा वाङले राहुललाई ६४ पटक र राहुलले वाङलाई १३१ पटक मोबाइलमा फोन गरेका छन् । त्यसबाहेक अन्य माध्यमबाट पनि पटकपटक सम्पर्क भएको देखिएको छ ।

                    सिआइबीले तयार पारेकाे सुन ल्याउने तस्करदेखि चाेरी गर्ने गिराेहसहित किन्ने समूहसम्मकाे लिङ्क चार्ट

सुन तस्करीका मुख्य व्यक्ति लुईले माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरासँग ११ पटक र अर्का तस्कर वाङले पनि महरासँग ११ पटक नै कुराकानी गरेको पाइएको छ । त्यसरी वाङले राजस्व तिरेर वा लिलामी मिलाएर छुटाइदिने भन्दै सम्पर्कमा आएका श्याम साहसँग २५३ पटक कुराकानी गरेका छन् । वाङ र भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेबीच ५४ पटक कुराकानी भएको छ । राहुल महराले वाङका सवारीचालक लोकेन्द्र पौडेलसँग ३६ पटक कुराकानी गरेका छन् भने चिनियाँ नागरिक अशिनसँग ३ पटक र भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठसँग एकपटक कुराकानी गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

महरा र तस्कर वाङबीच करिब १५ वर्ष पुरानो दोस्ती

एक अनलाइन सञ्चारमाध्यमले महरा र सुन तस्करबीच मिलेमतोको समाचार प्रकाशन गरेपछि महराले विज्ञप्ति निकालेर वाङसँग सामान्य चिनजान मात्रै रहेको बताएका थिए । तर तथ्यहरुले महरा र वाङबीच सामान्य चिनजान मात्रै नभएर गहिरो सम्बन्ध रहेको देखाउँछ ।

कृष्ण बहादुर महराको सहयोगमा चिनियाँ नागरिक वाङले सुनसरीमा मासु प्रशोधन उद्योग स्थापना गरेका थिए । तर, मासु प्रशोधनका नाममा जडिबुटीको तस्करी र अवैध बिक्री वितरण गरेपछि सरकारले उक्त प्रशोधन उद्योग बन्द गरिदिएको थियो । त्यसपछि वाङ रेडिमेट कपडाको आयात र बिक्री वितरणमा लागेका थिए । तर वाङको देखिने व्यापार कपडाको भएपनि खासमा उनले यहाँ सुनको तस्करी गर्ने गरेको र त्यसमा महराको संरक्षण खोजेको स्रोतको दावी छ ।

                 तस्कर वाङसँग महरा परिवारकाे दाेस्ती

वाङ र महरा तथा उनको परिवारसँगको दोस्ती करिब १५ वर्ष पुरानो रहेको एक नेताले बताए । वाङ महराको रोल्पास्थित घरमा समेत गएर कैयनपटक बसेको पाइएको छ । पछिल्लो समय भने वाङ कृष्ण बहादुर महराका कान्छा छोरा राहुल महरा तथा उनका बहिनी ज्वाईँ योगेन्द्र बहादुर बुढासँग नजिक थिए ।

हाल कृष्ण बहादुर महराले आफ्नी श्रीमती सीता महराको स्मृतिमा रोल्पामा निर्माण गरिरहेको सीता महरा स्मृति पार्कमा पनि आर्थिक सहयोग गरिरहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?