रुकुम । रुकुम पूर्व–जिल्ला प्रशासन कार्यालयले रुकुमकोटमा अनिश्चितकानिल कर्फ्यू जारी राखेको छ ।
आइतवार बेलुका ७ बजेबाट प्रशासनले लागू हुने गरी अनिश्चितकालिन कर्फ्यू जारी गरेको हो ।
स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने सरकारको निर्णय कार्यान्वयनको मागसहित स्थानीयले रुकुमकोटमा र्याली तथा सभाको तयारी गरेपछि प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार स्थानीयसँग पटक–पटक सहमति गर्ने प्रयास गर्दा समेत समस्याको समाधान नभएपछि प्रशासनको अर्को आदेश जारी नभएसम्म चार किल्ला तोकेर निषेधाज्ञाा जारी गरेको बताए ।
पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापैरा खोला, पश्चिममा सिस्ने गाउँपालिका–५, रानीकोट उत्तरमा सिस्ने गाउँपालिका–६, को रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने–५, को रुमालबारा हुँदै सहिदपार्कसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।
२०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोट तथा त्यस आसपासका सर्वसाधारण आन्दोलनमा उत्रिएका थिए ।
सरकारको निर्णय खारेजको माग गर्दै २०७४ माघ १७ गते सर्वोच्चमा रिट दायर गरिएको थियो ।
समस्या समाधानका लागि आइतवार र शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया