चौबीस घन्टामा ४ विमानको आपतकालीन अवतरण

नयाँ दिल्ली । भारतका विभिन्न विमानस्थलमा विगत २४ घन्टामा ४ वटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् ।

आइतबार, मुम्बईबाट दुर्बइतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस्याका कारण मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो ।

आइतबार नै नयाँ दिल्लीका लागि उडेको स्पाइसजेटको विमान बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि वनारस विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । यो विमान हङकङबाट १ सय ४० भन्दा बढी यात्रु बोकेर उडिरहेको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् ।

स्पाइसजेटका प्रवक्ताले पाइलटले एक नम्बर इन्जिनमा न्यून परिमाणमा इन्धन आपूर्ति भएको थाहा पाउनासाथ वनारस विमानस्थलमा आपतकालीन अवतरण गराएका बताए ।

शनिबार राति, एयर इन्डियाको विमानबाट इन्धन चुहिन थालेपछि कोलकोता विमानस्थलमा आपतकालीन स्थिति घोषणा गरिएको थियो । बैंककबाट नयाँ दिल्ली उडानमा रहेको एयर इन्डियाको उडान नम्बर एआई–३३५ विमानमा राति १०ः३५ मा प्राविधिक गडबडीको आशंका गरिएको थियो । यो घटनामा कोही यात्रु घाइते भएका छैनन् ।

एयर इन्डियाको वक्तव्यमा पूर्व सावधानीका लागि विमानलाई कोलकाता विमानस्थलमा अवतरण गराउनुपरेको उल्लेख छ । सो विमानका यात्रुलाई अर्को विमानमा राखेर राति साढे दुई बजे नयाँ दिल्ली पुर्याइएको थियो ।

शनिबार, कोलकोता–चेन्नई चल्ने इन्डिगो विमान पनि उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि पुनः चेन्नई फर्किएको थियो । विमानमा सामान्य खराबी देखिएको तर आपतकालीन स्थिति घोषणा नगरिएको इन्डिगोले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?