विद्यार्थीबिनाका त्रिविका विभाग

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको मुख्य द्वारबाट ३ सयमिटर दूरीमा एउटा भवनको भित्तामा ‘त्रिवि इतिहास केन्द्रीय विभाग’ लेखिएको पुरानो बोर्ड छ । न त्यहाँ विद्यार्थी देखिन्छन्, न प्राध्यापक नै ।

कुनैबेला खचाखच हुन्थे इतिहास विभागमा विद्यार्थी । २०३३ सालमा त्रिविमा इतिहास पढ्ने ४० जना विद्यार्थी थिए । २०१६ सालदेखि नै त्रिवि केन्द्रीय विभागमा स्नातकोत्तर तहमा इतिहास विषयको पठनपाठन हुन थालेको हो ।

त्रिवि मानविकी संकायअन्तर्गत स्नातकोत्तरका अन्य विषयगत विभाग पनि विद्यार्थी अभावमा सुनसान छन् । संस्कृति, नेपाल भाषा, नेपाली, जनसंख्या, बौद्ध धर्म, हिन्दी र भूगोल विभागमा समेत विद्यार्थीको संख्या अत्यन्तै न्यून छ । तर, न त्रिविले विद्यार्थीलाई आकर्षित गर्न सकेको छ, न त ती विभाग खारेजीमै परेका छन् । यी विभाग विद्यार्थी अभावमा भएका प्राध्यापकलाई जागिर खुवाउने माध्यम मात्र बनेका छन् ।
विश्वविद्यालयले विद्यार्थी संख्या घटे पनि विस्तारै आगामी वर्षमा विद्यार्थी आउन सक्ने भन्दै तत्काल विषय नै खारेज गर्ने योजना बनाएको छैन । हरेक वर्ष विद्यार्थीको चाप घट्दै गए पनि कुन विषमा कति विद्यार्थी घटबढ भए भन्ने एकीन तथ्यांकसमेत छैन, त्रिविसँग ।
आजको राजधानी दैनिक लेख्छ–२०७३–७४ को तथ्यांकअनुसार ३ लाख ६७ हजार ४२७ जना विद्यार्थी त्रिवि र उसका आंगिक क्याम्पसमा अध्ययन गरिरहेको तथ्यांक छ ।
तर, कहाँ कुन संकाय र विषयमा कति विद्यार्थी छन् भन्ने एकीकृत तथ्यांक त्रिविसँगै छैन । विश्वविद्यालयअन्तर्गत योजना निर्देशनालयका प्रमुख रिदीश पोख्रेलले भन्छन्, ‘कति विद्यार्थीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पढ्दै छन् तथ्यांक संकलन गरिरहेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?