काठमाडौं । तुलसीपुर उपमहानगरपालिकालाई शनिवारबाट हर्न निषेध क्षेत्र घोषणा गरिएको छ ।
उपमहानगरपालिका र प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा ट्राफिक सचेतना सम्वन्धि कार्यक्रम गर्दै हर्न निषेध क्षेत्र घोषणा गरेको हो । लामो समयको तयारी पश्चात उपमहानगरपालिकाले तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेध क्षेत्र घोषणा गर्न सफल भएको हो ।
ध्वनी प्रदुषणले आम जनजीवनमा असहजता ल्याएको भन्दै हर्न निषेध घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । उनले आवश्यकता वाहेक अन्य वेलामा हर्न बजाए ५ सयदेखि १५ सय सम्म जरिवाना गरिने समेत बताए । ‘जनतामा चेतनाको विकास हुन सक्यो भने यो घोषणा कार्यान्वयन हुनेछ’ पाण्डेले भने ।
नगरप्रमुख पाण्डेले सडक कब्जा गरेर निर्माण भएका संरचना तत्काल हटाउने वताउँदै बाटो फराकिलो वनाउनका लागि उपमहानगरले तत्काल काम अगाडि वढाउने समेत बताए । हर्न निषेध घोषणा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले हर्न निषेध घोषणाका लागि यातायात व्यवस्थापन महत्वपूर्ण रहेको बताए ।
उनले हर्न निषेध घोषणा मात्रैले कार्यान्वयन हुन नसक्ने भन्दै बाटोलाई फराकिलो बनाउनका लागि उपमहानगरपालिकाले पहल गर्ने बताए । ‘सडक कब्जा गरिएका सबै संरचना निर्माण गरेर हामीले बाटो फराकिलो पार्नेछौ’ पाण्डेले भने । पैदल यात्रीहरुले पनि बाटो अनुशासन पालना गर्नुपर्ने बताउँदै उनले सबैको पहलबाट मात्रै घोषणा कार्यान्वयन हुने वताए । दाङ्ग नेपालकै प्रदुषित सहरहरुमा परेको बताउँदै पाण्डेले प्रदुषण रोक्नका लागि सवारी साधनमा हरियो स्टिकर टाँस्ने कामको सुरुवात गर्ने बताएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक नरवहादुर केसीले सवैको साँझा सहकार्यबाट मात्रै घोषणा कार्यान्वयन गर्न सकिने बताए । ‘गाडीको गति चाहिदो भयो भने हर्न वजाउन आवश्यक नै पर्दैन’ केसीले बताए ।
कार्यक्रममा वोल्दै राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले सबैले आँट गरेर हर्न निषेध क्षेत्र घोषणाका लागि पहल गर्नुपर्ने बताए । ‘शुरुमा कुनै पनि काम पुरा हुँदैन जस्तो लाग्छ तर, विस्तारै त्यो काम पुरा भएकै हुन्छ’ हमालले भने । वडा नम्वर ५ का वडाध्यक्ष विरेन्द्र शाहले गतसालदेखि नै हर्न निषेधको कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरिए पनि विभिन्न निकायसँग सहकार्य गरेरयसपटक घोषणा गरिएको बताए । ‘साँघुरा सडकका कारण केही समस्या आउने भएपनि चालक र पैदलयात्री सहज हुने हो भने कुनै समस्या पनि हुँदैन’ शाहले भने ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, यातायात मजदुर संगठनका अध्यक्ष केशव भण्डारी, नागरिक समाज दाङ्गका सल्लाहकार टिकाराम रेग्मी, महिला मानव अधिकार रक्षक सञ्जालकी संयोजक सुष्मा गिरी, रासस प्रमुख नारायणी रजौरे लगायतले हर्न निषेध घोषणा कार्यान्वयन गरेर शहरको पहिचान बनाउनका लागि आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया